राजेन्द्र कार्की । जाजरकोट
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले देशभर सवै तयारी पुरा गरेको बताईरहेका बेला जाजरकोट जिल्लाबाट भने कोरोना संकास्पदको नमुना संकलन र नमुना पठाउने ब्यवस्था हुन नसकेको तथ्य खुलेको छ ।
कोरोनाको लक्ष्यण देखिएका, विदेशबाट आएका र संक्रमितको सम्पर्कमा पुगेकाहरुको नमुना संकलन (स्वाब) गरी राष्ट्रिय प्रयोगशाला वा प्रदेश स्तरीय प्रयोगशालामा पठाउने र त्यहाँ गरिएको परीक्षणबाट मात्र रिपोर्ट पोजेटिभ वा नेगेटिभ थाह पाउन सकिने ब्यवस्था छ । तर जाजरकोट जिल्लामा भने भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) नहुँदा संकलन गर्न र पठाउन सक्ने अवस्थामा नभएको जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. अमिन शाहले बताए ।
‘भिटिएममा संकलन गरिएको नमुना(स्वाब) लाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन (२ देखी ८ डिग्री सेल्सियस) गरी कोरोना परीक्षण प्रयोगशालामा पठाउनु पर्छ तर हामी सँग भिटिएम र तापक्रम मेन्टेन गर्ने साधन नहुँदा जाजरकोटबाट नमुना संकलन गरी पठाउन सक्ने अवस्थामा छैनौ’ डा. शाहले भने—‘संस्कास्पद केस आयो भने स्वास्थ्य सेवा निर्देशनालयमा खवर गर्ने बाहेक अरु केही गर्न सक्ने अवस्था छैन ।’
निर्देशनालयमा खवर गरेपनि विरामी उतै पठाउँदा संक्रमित भए झन् अरुलाई सर्ने खतरा हुने र सुर्खेतबाट नमुना लिन स्वास्थ्यकर्मीको टोली आउने संभावना पनि निकै न्युन देखिन्छ । यस्तो अवस्थामा हामीले कसरी काम गर्ने उनले भने ‘दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा काम गर्न निकै कठिनाई छ । केही करारका स्वास्थ्यकर्मीको भरमा अस्पताल चलिरहेको छ ।’ भारत लगायतका अन्य देश र शहरी क्षेत्रबाट जिल्लामा केही दिन अघि मानिसहरु भित्रिएका छन् । उनीहरुबाटै संक्रमण फैलन सक्छ । संक्रमण फैलिहालेको अवस्थामा जिल्लामा पुर्वतयारी खासै छैन । जनशक्ति, पुर्वाधार र जनचेतनाको अभाव कायमै छ ।
५० शैयाको जिल्ला अस्पतालमा सात जना विशेषज्ञ चिकित्सक सहित ६५ जना स्वास्थ्यकर्मीको दरबन्दीको ब्यवस्था गरिएको छ । तर ठुलो संख्यामा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएको लामो समय हुँदा पनि पदपुर्ती हुन नसकेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । हाल अस्पतालमा १८ जना दरबन्दीका र केही करारका स्वास्थ्यकर्मी कार्यरत छन् । प्रत्याप्त स्वास्थ्यकर्मी नभएको र कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै अस्पतालले अत्यावश्यक बाहेक अस्पताल नआउन सर्वसाधारणलाई विज्ञप्ती निकालेर आग्रह गरेको छ ।
५० शैयाको जिल्ला अस्पतालको त यस्तो अवस्था छ भने ग्रामिण भेगका स्वास्थ्य संस्थाको अवस्था के होला ? । गर्खाकोट र दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि पदपुर्ती नहुँदा ती स्वास्थ्य संस्था डाक्टर विहिन छन् । स्वास्थ्य सहायकको भरमा चलिरहेका छन् । जिल्लामा ३१ स्वास्थ्य चौकी छन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले अहिले सम्म ब्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) पाउन नसकेको गुनासो गरेका छन् । अधिकांश स्वास्थ्य संस्थामा ज्वरो नाप्ने डिजिटल थर्मोमिटर समेत छैन बारेकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले भने ‘पिपिइ नुहँदा हामी आफै जोखिममा छौ । संकास्पद विरामीको नमुना संकलन गरी पठाउने ब्यवस्था जिल्ला अस्पतालमै छैन । स्वास्थ्य चौकीमा झन कसरी हुनु ? ।’