राजेन्द्र कार्की । जाजरकोट
भारतबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा जाजरकोटमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेको छ ।
भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागी गएकाहरु धमाधम घर फर्किएका छन् । कतिपय चेकजाँच नगरेर चोरबाटोबाट घर पुगेका छन् । तर उनीहरु आफुलाइ केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाई सँग घुलमिल गरिरहेका छन् । संक्रमण भएपनि तत्काल लक्ष्यण नदेखिदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाई छ ।
अहिले सम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्यांक राखेका छैनन् । प्रहरीका अनुसार भेरी नगरपालिकाको वडा नम्बर १० र ११ मा १८ जनालाई होम क्वारेन्टाइमा राखिएको छ । त्यस्तै शिवालयको वडा नम्बर १ र २ मा १४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । बारेकोट गाँउपालिका वडा नम्बर ९ मा तीन जना र छेडागाड नगरपालिकाको वडा नम्बर ३, ६ र १० मा ८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । घरभित्रै क्वारेन्टाइनमा राखिएको प्रचार गरिएपनि उनीहरु घरपरिवारको सम्पर्क र घुलमिलमै रहेको स्थानियको भनाई छ । लकडाउन र होम क्वारेन्टाइन पुर्ण रुपमा पालन भएको देखिदैन भेरी नगरपालिका १३ कुदुका बासुदेव शर्माले भने ‘मानिसहरुले गंभिर रुपमा लिएका छैनन् जसका कारण जोखिम बढ्ने देखिन्छ ।’
ठुलो संख्यामा भारतबाट मजदुरहरु फर्के पनि आवश्यक पहल र सचेतना नअपनाउँदा उनीहरु क्वारेन्टाइनमा राखिएको छैन । स्थानिय सरकार सँगको समन्वयमा भारतबाट जिल्ला भित्रिएका सवैलाई केही दिन होम क्वारेन्टाइनमा राख्न पहल भैरहेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताए । उनले भारतबाट लुकीछिपी आउने मानिसहरुको सुचना संकलन गर्ने र जनप्रतिनिधी मार्फत होम क्वारेन्टाइनमा राख्न पहल गरिरहेको बताए । भेरी नगरपालिकाले भारतबाट हालै आएकाहरुको तथ्यांक संकलन गरिरहेको जनाएको छ । वडाध्यक्ष र वडा सचिव मार्फत वडा भित्र हालै भारतबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेका छौ नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने ‘तथ्यांक संकलन सँगै होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छौ । लक्ष्यण देखिए आइसोलेसनमा राखेर उपचार गर्ने योजना बनाएका छौ । विभिन्न ठाँउमा हेल्प डेस्क राखिएको छ । हामी सवैलाई लकडाउनको पालन गरि सुरक्षित हुन आग्रह गर्दछौ ।’
कुनै लक्ष्यण नदेखिएको भन्दै घरपरिवार छिमेकको सम्पर्कमा जाँदा १४ दिन भित्र जतिवेला पनि कोरोनाको संक्रमण हुन सक्ने भएकोले सचेतता अपनाउनु पर्ने जिल्ला अस्पतालका डा. अमिन शाहले बताए । जाजरकोटमा भारतबाट आएकाहरुबाट जोखि हुन सक्छ । एक जनामा मात्र संक्रमण भए पनि तिव्र गतिमा भाइरस फैलने भएकोले पनि खतरा निकै छ उनले भने ‘केही दिन सवै होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नु पर्छ ।’