तीन दिनमा १५ बोकाको बली चढाईयो
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोट गाँउपालिकामा कोरोना भाइरसबाट बचाईदिन भन्दै आफ्ना कुल देवतालाई बली चढाउन थालिएको छ । आ आफ्ना कुल देवतालाई महामारीबाट आफु र परिवारका सदस्यलाई जोगाईदिन भन्दै बली चढाईएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसको महाविपत्तिबाट बच्न देवतालाई बली चढाउने र भाकल गर्न थालिएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । उनले भने ‘तीन दिन यता गाँउपालिका भित्रका विभिन्न गाँउमा १५ बढी बोका जीवन रक्षाको माग गदै बली चढाईएको छ । कतिपय गाँउलेहरु मिलेर बली चढाएका छन् भने कतिपयले ब्यक्तिगत रुपमा पनि बली चढाएको पाईको छ ।’ देवी देवता प्रति र भगवान प्रतिको विश्वासले गर्दा नै यसो गरिएको हो । यसले सवैको आत्मविश्वास र मनोबल बढाउने अध्यक्ष शाहको भनाई छ ।
सरकारी अस्पताल नाम मात्रका छन् । जहाँ न स्वास्थ्यकर्मी छन् न त आवश्यक उपकरण र औषधी नै छ । संक्रमण फैलिहाले सवै भगबान भरोसामा छन् । स्वास्थ्यकर्मी सँग ब्यक्तिगत सुरक्षाका सामग्री समेत नहुँदा चेकजाँच समेत गर्न समस्या भैरहेको उनीहरुको भनाई छ । स्वास्थ्यकर्मीका लागी ब्यक्तिगत सुरक्षा सामग्री नहुँदा स्वास्थ्य सेवा कार्यालयले एक सुचना निकाली अत्यावश्यक बाहेक अस्पताल नआउनु भनेको छ । जाजरकोटमा अझै पनि देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठुलो जमात भएकोले कोरोना महामारी गाँउमा आउन नदिन बली चढाएको बारेकोट गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष द्धारीका बुढाले बताए । अझै आफ्ना जहान केटाकेटी बचाईदिन माग गदै देउतालाई पछि बली दिने भन्दै धेरैले भाकल गरेको उनले बताए ।
भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागी गएकाहरु धमाधम घर फर्किएका छन् । कतिपय चेकजाँच नगरेर चोरबाटोबाट घर पुगेका छन् । तर उनीहरु आफुलाइ केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाई सँग घुलमिल गरिरहेका छन् । संक्रमण भएपनि तत्काल लक्ष्यण नदेखिदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाई छ । अहिले सम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्यांक राखेका छैनन् । ठुलो संख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सिमित संख्या बाहेक क्वारेन्टाइनमा राखिएको छैन ।