राजेन्द्र कार्की । जाजरकोट
विभिन्न स्वास्थ्यजन्य महामारीको दृष्ट्रिकोणले संवेदनशील जिल्लाको रुपमा रहेको जाजरकोटमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना ( कोभिड २०१९ ) सम्बन्धी कुनै पनि सचेतनाका कार्यक्रम गरिएको छैन । सम्बन्धित निकायको उदासिनताले गर्दा हाल सम्म सचेतनाका लागी कुनै पनि पुर्वतयारी तथा प्रचारप्रसार गरिएको छैन ।
स्वास्थ्य सम्बन्धी पहुँच र सेवा प्रवाहको दृष्ट्रिकोणले कमजोर मानिएको जाजरकोटमा कोरोनाबाट बच्न अपनाउनु पर्ने उपायबारे स्थानियलाई जानकारी दिनु पर्ने, सचेतताका उपायहरु बारे प्रचारप्रसार गर्नु पर्ने, विभिन्न स्थानमा हेल्प डेस्क राख्नु पर्ने, जिल्ला भित्रिने नाकाहरुमा चेकपोष्ट राख्नु पर्नेमा कुनै कार्य नगरिएको नागरिक समाजका अगुवा केशवजंग शाहले बताए । उनले भने ‘महामारीको रुपमा विश्वभर फैलिएको कोरोना बारे स्थानिय सरकार, प्रहरीप्रशासन र स्वास्थ्य संबद्ध कार्यालय तथा संघसंस्था सवै कानमा तेल हालेर बसेका छन् । अहिले सम्म एउटा अन्र्तक्रिया, छलफल कार्यक्रम सम्म राखेका छैनन् ।’
२०६६ सालमा जाजरकोटमा महामारीको रुपमा फैलिएको झाडापखालाले तीन सय बढीको ज्यान लिएको थियो । त्यस्तै २०७२ सालमा फैलिएको स्वाईनफलुले २७ जना र २०७४ सालमा फैलिएको भाईरल रुघाखोकीले १४ जनाको ज्यान गएको थियो । पटक पटक जिल्लामा फैलिएको सरुवा रोगको प्रकोपले थलिएका जिल्लाबासी कोरोनाको प्रकोप जिल्लामा आउने हो कि भन्ने त्रासमा छन् । जाजरकोट जुनीचाँदे ८ का दलवीर घर्ती भन्छन् ‘हामीलाई चिन्ता लाग्छ ति दिन फेरी फर्केर नआउन । कतै यो कारोना भाइरसले जिल्लामा प्रवेश नगरोस समयमै सवै सचेत बनौ ।’
जाजरकोटमा खास गरी कालापार(भारत) गएकाहरु फर्केर आउने र चिनबाट उत्तरी नाका डोल्पा हुँदै आउने भएकोले पनि जोखिम हुन सक्छ । तर सचेतना बारे हाल सम्म कुनै निकायले चासो दिएको छैन । सचेतना सम्बन्धी स्थानिय संचार माध्यममा समेत प्रचार प्रसारको लागी सम्बन्धित निकायले पहल नगरेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भीमबहादुर सिंहले बताए । उनले भने ‘हाल सम्म जाजरकोटमा सुचना प्रशारण, पोस्टर पम्पलेट उत्पादन र वितरण, अन्र्तक्रिया कुनै पनि गरिएको छैन ।’
गृहमन्त्रालयको सर्कुलर अनुसार सभा सम्मेलन नगर्न, भिडभाडमा नजान तथा जिल्लामा हुने सबै कार्यक्रम स्थगित गर्न सार्वजनिक अपील गरेको तर अन्य सचेतनाका कार्यक्रम स्वास्थ्य सेवा कार्यालयले गर्नुपर्नेमा हाल सम्म नगरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । उनले सचेतनाका कार्यक्रम गर्न सम्बन्धित निकायलाई निर्देशन दिईन बताए ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले सचेतनाका कार्यक्रम गर्ने तयारी भैरहेको बताए । हामी छिटै सवै स्वास्थ्य संस्था मार्फत सचेतनाका कार्यक्रम गर्ने तयारीमा छौ उनले भने ‘आमसञ्चारका माध्यामबाट र स्वास्थ्यकर्मी मार्फत जनचेतनाका कार्यक्रम तत्काल सुरु हुन्छ ।’