जाजरकोट अस्पताल ५७ लाख ऋणमा !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

चार बर्ष अघि १५ शैयाको जिल्ला अस्पताललाई स्तरोन्नती गरेर ५० शैयाको जाजरकोट अस्पताल घोषणा गर्दा जिल्लावासी निकै खुसी थिए । अस्पतालको स्तरोन्नती सँगै विशेषज्ञ सेवा पाउने आसमा रहेका जाजरकोटवासी घोषणा भएको चार बर्षमा अस्पतालको अवस्था र उपचार सेवा दिनप्रतिदिन खस्किदै गएपछि चिन्तित छन् । अस्पतालको सेवा प्रवाह मात्र खस्किएको छैन । अस्पताल आफै ऋणमा चुर्लम्म डुबेर अस्तब्यस्त भएको छ । अस्पतालले ५७ लाख २९ हजार आठ सय २० रुपैया तिर्न बाँकी छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका लेखापाल प्रयागदत्त धितालका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीले दुई बर्ष अघि अतिरिक्त समयमा काम गरेको १३ लाख रुपैया पाउन सकेका छैनन् । त्यस्तै गतबर्ष विरामीलाई खान खुवाएको राशनका ठेकेदार महिमा एण्ड गरिमा निर्माण सेवाका प्रोपराईटर भीम शाहले पाँच लाख २९ हजार आठ सय २० रुपैया पाउन सकेका छैनन् । गत बर्ष नै अस्पतालको फार्मेसीमा नेपालगञ्जको युनिक मेडिको फर्माबाट औषधी खरीद गरि ल्याएको १९ लाख रुपैया दिन बाँकी छ । यस आवमा औषधी ल्याएको १५ लाख पनि भुक्तानी दिन बाँकी नै छ । सुर्खेत स्थित रारा मेडिसियनलाई औषधीको पाँच लाख गरी जम्मा ५७ लाख २९ हजार आठ सय २० रुपैया तिर्न बाँकी छ । रकम अभावमा भुक्तानी दिन नसकिएको लेखापाल धितालले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयमा अस्पतालको तिर्न बाँकी ऋण बारे जानकारी गराउँदै बजेट माग गरिएको उनको भनाई छ । लेखा श्रेस्ता नहुँदा, फार्मेसीको रकम जम्मा नहुँदा र जम्मा भएको रकम पनि सम्बन्धित निकायले समयमा आवश्यक कागज प्रक्रिया नमिलाउँदा पनि समस्या देखिएको हो उनले भने ‘स्वास्थ्यकर्मीले अतिरिक्त काम गरेको र गत बर्षको औषधीको रकम भुक्तानीमा भने निकै जटिलता देखिएको छ । मन्त्रालयले रकम पठायो भने ऋण तिर्न सकिन्छ नत्र काहाँबाट बजेट ल्याएर तिर्ने ?’ अतिरिक्त समय काम गरेको रकम नपाउने, अस्पतालमा आवश्यक पुर्वाधार र उपकरण नहुँदा आएका चिकित्सक पनि सरुवा भएर गएका छन् । स्वास्थ्यकर्मी रित्तिदै गएका छन् । सात जना विशेषज्ञ चिकित्सक सहित ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल १८ जना मात्र कार्यरत छन् । ४७ दरबन्दी रिक्त छ ।

औषधी खरीद नगर्दा अस्पतालको फार्मेसी रित्तै छ । उपचार नपाएर विरामी जिल्ला बाहिर जान बाध्य छन् । यस्तो हविगत हुँदा पनि सरकारले चासो नदेखाएको स्थानियको गुनासो छ । जाजरकोटमा उपचारका लागी आउने विरामी यतिवेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा विरामीहरु हजारौ खर्चेर जिल्ला बाहिर जान बाध्य भएको भेरी नगरपालिका ४ का शान्तबहादुर नेपालीले बताए ।
अस्पतालमा कार्यरत डा. निशा बुढामगर नहुँदा पाँच महिना देखि दन्तसेवा ठप्प छ । दन्त चिकित्सक बुढा बाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी विदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।

सामान्य खालका अप्रेशन गर्ने, शल्यक्रिया सहितको प्रसुति सेवा दिने भनेर गत बर्ष अस्पताल आएका एमडिजिपी डा. महेश सिलवाल दुई अघि जिल्ला छोडेर गएपछि शल्यक्रियाका सवै सेवा बन्द भएका छन् । स्वास्थ्य मन्त्रालयको छात्रबृत्ति कोटामा दुई बर्षको लागी करारमा नियुक्त भएर आएका डा.सिलवाल एक बर्ष विताएर फर्किएका हुन् । अस्पतालमा आवश्यक पुर्वाधार नभएको, वेहोस बनाउने एन्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफु फर्किएको उनले बताए । छात्रबृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतहरुले दुई बर्ष अघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् । छात्रबृत्ति करार सेवामा ४ जना डाक्टर कार्यरत छन् । अस्पताल विकास समितिबाट पाउनु पर्ने अतिरिक्त समय काम गरेको भत्ता दुई बर्ष देखि नपाएको डा. भुपेन्द्रप्रकाश मल्लले बताए । यसरी विस्तारै धेरै सेवाहरु बन्द हुँदै गएपछि अस्पतालमा विरामी आउन छाडेका छन् । दुई महिना यता भर्ना भएर उपचार गर्नेको संख्या न्युन छ ।
अस्पतालमा कार्यरत अति न्युन संख्याका स्वास्थ्यकर्मीहरु पनि उपकरण पुर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर औषधी दिने र रेफर गर्ने बाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तब्यस्त भएको स्वीकार गरे । उनले बजेट अभावमा स्वास्थ्य सेवा कार्यालयले करीव ५७ लाख रुपैया तिर्न बाँकी छ । हामी ऋणमा छौ । यो भन्न पनि लाज लाग्ने कुरा हो सरकारी अस्पताल ऋणमा उनले भने ‘सम्बन्धित निकायमा बजेट माग गरेका छौ । बजेट आयो भने पुरानो तिर्न बाँकी रकम फछ्यौट गछौ नत्र कसरी तिर्ने ?’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad