दिवाकर शर्मा खनाल
चाँदीको उपर्नामा सजिएको
सिस्ने हिमालको शीरबाट झुल्केका सूर्यका किरणहरुले
मौराखाराको लेकबाट चियाउँदा
मेरो थुम्काको शहरका घर आँगनीमा छिरेको उज्यालोले
मेरो शुन्दर टाकुराको बस्ती सुन्दरता भित्रै रमाउँछ ।
मेरी आमाले बिहान उठेर
मेरो झुपडीको दैलौ लिप्दा
निश्चल, निर्मल र शुशान्त बहेकी भेरी नदी
ढपक्क बाक्लो कुहीरो भित्र हराई दिदाँ
भेरी नदीका छालहरुको सुसेलीले
तरङ्गित मेरो बस्ती अनि म र मेरी आमा
आफै सुन्दरता भित्र हराए झै लाग्छ ।
बिहानी हावाको झोक्काले मेरी आमाको कालो केश हल्लाउँदा
लाग्छ मेरी आमा र मेरो बस्ती
सुन्दरताका बरदान हुन् ।
मेरा सम्पदाका आँचल
मेरो बैभवताका खानी
जस्ले सूर्यको किरण सँगै लालित्य छर्थे
जस्ले सूर्यास्तको किरण सँगै मनमोहकता छर्थे
जस्ले मलाई माधुर्यताको चुलिमा उभ्याउँथे ।
मेरा सम्पदाका धरोहर
माछापुच्छ्रे, धौलागिरी, अन्नपुर्ण र सगरमाथाहरु
सेतो उपर्नामा सजिदाँ
मेरा बस्तीका लेकहरु
कचाली च्याखुरे र हानीसल्ला
सेतो पहिरनमा सजिन्थे ।
रामीडाँडा र लिम्सा पैंक र ढिमेको सुन्दर बस्ती
आल्हादीत हुन्थे सुन्दरतामा सजिँदा
कतै यी बस्तीले खोजेको उज्यालो
कतै यी दृश्यले मागेका आवश्यक्ता नपाउँदा मेरी आमाका नयन त रसाएका छैनन्
दल्ली र कुदुका रमणीय फाँटहरुले पानी नपाउँदा
कतै मेरी आमालाई प्यास लागेको त छैन
हो मेरी आमाले चाहेकी छन्
मेरो बस्ती रेडपान्डाको पहिचान बनोस् ।
मेरो बस्तीमा सदैव डाँफे र मुनाल नाचिरहुन्
मेरो बस्तीलाई फलामखानी दिएकी छन् ती आमाले
स्लेट खानी दिएकी छन् ।
मेरो बस्तीमा बज्ने पन्चेबाजाको
संरक्षण खोजेकी छन् आमाले
मेरो बस्तीमा नाचिने सिङ्गारु र पैसेरी नाच हेर्न खोजेकी छन् आमाले
मेरा वन पाखाँमा गाइने ठाडी भाकाको लोक सस्कृतीको जगेर्ना चाहेकी छन् आमाले
आफ्नै खेत बारीमा फल्ने कोदो फापर र गहुँ
मिठो लाग्छ मेरी आमालाई
ऐतिहासिक विर गाथा बोकेको मेरो बस्तीमा रोपेका
वाँझ, गुँरास र सल्लाका रुखहरुको संरक्षण खोजेकी छन् मेरी आमाले
मेरा वस्तीमा पाइने पाँचऔँले र जटामसीको संरक्षण चाहेकी छन् ती आमाले
मेरा मठ, मन्दिर, चैत्य र गुम्बाको संरक्षण खोजेकी छन् मेरी आमाले
त्यसैले मेरो बस्ती सुन्दरता भित्र रमाएको छ
सुन्दरता भित्र हराउँछ सुन्दरताकै खोजी गर्छ
सदैव यसरी नै सुन्दरता भित्र रमाइ रहोस्
अस्तु ॥
(त्रिभुवन मावि खलंगाको बार्षिक मुखपत्र मालिकामा प्रकाशित यस कविताका लेखक भेरी न। पा। ४ खलंगा, जाजरकोट निवासी उहाँ अवकाश प्राप्त कानुन अधिकृत र हाल ः कानुन व्यवसायी हुनुहुन्छ ।)