राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको जुनीचाँदे गाउँपालिका १ मजकोट स्थित बडकुले स्वास्थ्य चौकीको प्रसुति भवन निर्माणको काम सात बर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन अलपत्र परेको हो ।
समयमा भवन नबन्दा गाँउमै प्रसुति सुरक्षित सुत्केरी सेवा दिने सरकारी योजना पुरा हुन पाएको छैन । सुरक्षित सुत्केरी सेवाको अभावमा महिलाहरु अकालमा ज्यान गुमाउन बाध्य छन् । सरकारी उदासिनताका कारण प्रसुति भवन निर्माणको काम अलपत्र परेको स्थानियको गुनासो छ । काम नगर्ने निर्माण कम्पनी र निर्माण ब्यवसायीको नाम नामेसी मागेको डेढ बर्ष विति सकेपनि गृह मन्त्रालयलले कुनै कारवाही गर्न सकेको छैन । न त काम अघि बढ्यो न निर्माण ब्यवसायीलाई कारवाही नै स्थानिय राजबहादुर शाहीले भने —‘एउटा ब्यक्तिले काम नगर्दा सवै नागरिकले दुःख पाईरहेका छन् । काम नगर्ने कामचोर ठेकेदारलाई सरकारले कारवाही गर्न सक्दैन ? ।’
तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६९÷०७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा. लि काठमाडौंले लिएको थियो । २०६९ बैशाख ७ मा सम्झौता भइ २०७० कार्तिक ६ गते डेढ बर्षमा काम सक्ने गरि सम्झौता भएको थियो । तर सम्झौता भएको सात बर्ष वितिसक्दा पनि भवन निर्माण कार्यले पुर्णता पाउन सकेको छैन ।
एक करोड ५० लाख लागतको उक्त भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्य सेवा प्रवाहमा निकै समस्या भएको स्थानिय नरबहादुर शाहीले बताए । बढी लागतको काम घटेर लिने र समयमा काम पुरा नगर्दा भवन निर्माणको काम अलपत्र परेको शाहीको भनाइ छ । ठेकेदारको चरम लापरवाहीले समयमा काम नगर्दा भवन अलपत्र परेको हो । निर्माणको जिम्मा लिएका ठेकेदारले बिचमै काम छोडेर गएपछि सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ, शाहीले भने ।
भवन नहुदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ । भवन अभावमा महिलाहरुको सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको छ । निर्माण कार्यको सम्पूर्ण जिम्मेवारी लिएको निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भवन निर्माणको काम सात बर्ष देखि अलपत्र परेको भन्दै मजकोटबासीले ठेकेदारलाई कडा कारबाहिको माग गरेका छन् । भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय स्थानिय प्रकाश शाहीले बताए ।
व्यवसायीलाई पटक पटक ताकेता गरीएको, पत्र पत्रिकामा सुचना जारी गरेर सम्पर्कमा आउन भनिएको भएपनि अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । लामो समय देखि काम नगरेर भवन अलपत्र बनाउने कोही पनि निर्माण व्यवसायीलाई सरकारले कुनै कारवाहिको प्रक्रिया अघि नबढाउदा उन्मुक्ति पाउने गरेका छन् । सम्वन्धित निकायले गलत गर्नेहरुलाई कारवाहि गर्न नसकेका कारण कराडौंको वजेट अलपत्र परेको छ । गाउँमा सुरक्षित रुपमा प्रसुती सेवा दिनका लागि सरकारले ठुलो रकममा भवन निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकायले वेवास्ता गर्दा समस्या परेको हो ।