- रामदीप आचार्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेको छ । छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । स्थायी कमिटी बैठकमा सैद्धान्तिक पक्षमा भन्दा व्यवहारिक पक्षमा बढी बहस भएको विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले आत्मसात गर्नुपर्ने मुख्य सात विषयमा यो लेखमा चर्चा गरिएको छ ।
१. नेपाली क्रान्ति आफ्नो मौलिकतामा अगाडी बढीरहेको छ कि यथास्थितिवादको भद्दा नक्कल गरिरहेको छ ? हामीले मूल प्रश्नमा आफ्नो ध्यान केन्द्रित गर्नु पर्दछ ।
समस्याको सही पहिचान समाधानको प्रस्थान विन्दू हो भनिन्छ । क्रान्ति सही बाटोमा छ कि छैन भन्ने सवालको जवाफ क्रान्तिको राज्यसत्ता सम्बन्धी दृष्टिकोण र व्यवहार के छ भन्ने कुराले निर्धारण गर्दछ । मानिलिऔं कि नेपाली क्रान्ति आफ्नै मौलिकतामा सम्पन्न भयो रे त्यसपछि कुन प्रणाली स्थापित भयो ?
एकात्मक र केन्द्रीकृत राजतन्त्रको ठाँउमा संघात्मक लोकतान्त्रीक गणतन्त्र । अहिले हामीले भोगिरहेको व्यवस्था हो संघीय संसदीय गणतन्त्र । भनिरहनु नपर्ला कि कम्युनिष्ट गणतन्त्र र संसदीय गणतन्त्रमा आकास जमिनको फरक छ । कुनै पनि कम्युनिष्टको उद्देश्य संसदीय गणतन्त्र स्थापना गर्नु होइन ।
संसदीय गणतन्त्र त माध्यम मात्र हो हाम्रो गन्तव्य समाजवादी गणतन्त्र हो । अनि कसरी राजनीतिक क्रान्तिको काम सकियो अब आर्थिक क्रान्तिको कार्यभार मात्र बाँकी छ भन्न सकिन्छ ? के समाजवादी गणतन्त्र स्थापना गर्नु राजनीतिक काम होइन ? यो राज्यसत्ता सम्बन्धी गोलमटोल धारणा सामान्य होइन भयानक ठूलो विचलन हो ।
राज्यसत्ताको सवालभन्दा बाहिर क्रान्तिको बहश गर्नु क्रान्तिबाट भाग्नु, क्रान्तिप्रति भ्रम पैदा गर्नु र प्रतिक्रान्तिको आधार तयार गर्नु हो । अतः आजको हाम्रो बहशको केन्द्रमा राज्यसत्ता, यसको चरित्र र यसलाई बदल्ने विषय हुनु पर्दछ ।
२. के पुँजीवादलाई सम्झाइ बुझाइ समाजवादमा रुपान्तरण गर्न सकिन्छ ? हाम्रो क्रान्ति कसका पक्षमा र कसका विपक्षमा हो ? कि सबैका पक्षमा हो ? यदी पुँजीवाद, साम्राज्यवादका विपक्षमा हो भने तिनीहरुको क्रान्तिप्रतिको रवैया के होला ? तिनीहरु मुकदर्शक बन्लान् वा भयानक षड्यन्त्र गर्लान् । षड्यन्त्रका विरुद्धको हाम्रो तयारी के हो ?
साम्राज्यवादको सहयोगमा गरिने क्रान्ति कुर्दिस क्रान्ति जस्तै मात्र हुन्छ त्यो भन्दा बढ्ता होइन । आज पनि साम्राज्यवादको चरित्र बदलिएको छैन, केवल साम्राज्यवादलाई हेर्ने हाम्रो चश्मा मात्र बदलिएको हो । साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद हो, वित्तिय एकाधिकार पुँजीवाद हो ।
साम्राज्यवाद युद्ध र उत्पीडनको श्रोत हो । यसको मूल चरित्र हिजो पनि र आज पनि उस्तै रहेको छ । नेपाली क्रान्तिको मूल बाधक साम्राज्यवाद र उसको संरक्षित वर्ग नै हाेऽ त्यो भनेको दलाल पुँजीवाद हो । दलाल पुँजीवादको अन्त्य र स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको विकासबिना नेपाली क्रान्ति समाजवादी दिशामा अगाडी बढ्नै सक्दैन ।
यही अबस्थामा हाम्रो देश शक्ति राष्ट्रको खेल मैदान र बहुराष्ट्रिय कम्पनीको प्रयोग स्थल मात्रै हुनेछ । अमूर्त रुपमा क्रान्तिको कुरा गर्नु भनेको क्रान्तिको कुरा नगर्नु हो ।
३. सिद्धान्त र व्यवहारबीचमा घनिष्ठ सम्बन्ध हुन्छ । व्यवहार सिद्धान्तद्धारा निर्देशित हुन्छ भने सिद्धान्त व्यवहारको क्रममा परिष्कृत, समृद्ध र विकसित हुन्छ ।
अहिले हाम्रो पार्टीभित्रको व्यवहार हेर्दा जो कोहीले पनि निष्कर्ष निकाल्न सक्छ कि माथिदेखि तलसम्म खासगरी दुईवटा सवालमा नेता कार्यकर्ताहरुको ध्यान केन्द्रित छ, शक्ति र सम्पति हत्याउने दाउ । यस्तो छ हाम्रो क्रान्तिकारी व्यवहार ।
अहिलेको सिद्धान्त छ पहिला म र मेरो हित, त्यसपछि अरु । चाकडी, धम्की र गुटबन्दीको श्रोत पनि त्यहीँ हो । नेताहरु नव सामन्त जस्ता र कार्यकर्ताहरु विचौलिया जस्ता, यस्तो छ हाम्रो कमरेडली सम्बन्ध ।
माथिदेखि तलसम्म एउटै प्रवृत्ति हावी छ, चरम आत्मकेन्द्रित व्यक्तिवाद । आफुबाहेक यो धर्तिमा कसैलाई पनि योग्य नदेख्ने प्रवृत्ति । आज पार्टीभित्रको मुख्य समस्या यही हो ।
यसले सामूहिकतावादलाई धुजा धुजा पारेको छ । वर्गहित, समाजको हित र पार्टीको हितलाई तिलाञ्जली दिएको छ ।
४. कार्यकर्ताको निम्ती क्रान्ति, जनताको निम्ती समृद्धि र राष्ट्रको निम्ती स्वाधिनता खपतको विषय बनेको छ ।
क्रान्ति, समृद्धि र समाजवाद माथिबाट तल पठाइदिने र उपभोग गर्ने सवाल होइन । यो सबैको साझा र एकताबद्ध पहल, अभियान र आन्दोलनबाट प्राप्त गर्ने र विकसित गर्ने सवाल हो ।
आम जनता र वर्गको प्रतिनिधिको रुपमा माथिबाट कसैले समृद्धिको ठेक्का लिने र तल पठाइदिने विषय होइन । जसमा प्रत्येक पार्टी सदस्य, जनवर्गिय संगठनको सदस्य र आम जनताको पनि सक्रिय सहभागिता सुनिश्चित हुन्छ ।
पुरानो जनवाद अर्थात् पुँजीवादी जनवाद अल्पतन्त्रको लागि जनवाद र बहुसंख्याको लागि शासनको माध्यम थियो । आवधिक निर्वाचन मार्फत् पाँच वर्षको लागि चुनिने र जसले चुने उनैमाथि शासन गर्ने काम पुरानो जनवादले गर्दथ्यो । हाम्रो जनवाद र पुरानो जनवादमा फरक यो हो कि र हुनु पर्दछ पनि यो देखावटी मात्रै होइन कि साँच्चिकै रुपमा बहुसंख्याको लागि जनवाद हुनै पर्दछ ।
विगतको समाजवादको अभ्यासको क्रममा त्रुटी यो भयो कि वर्गको नाममा, पार्टीको नाममा, जनताको नाममा केही माथि बस्ने नेताहरुको एउटा टीमले, समूहले जम्मै ठेक्का लिने र तलको बहुसंख्यक नेता , कार्यकर्ता र जनता निस्क्रिय रहने अवस्था बन्यो ।
विस्तारै माथि नोकरशाही संयन्त्र बन्यो तल उदासिनता । जब समाजवादको स्थान पुँजीवादले लियो तब क्रान्तिको स्थान पनि प्रतिक्रान्तिले लियो तर जनताले प्रतिवाद गरेन । किनकी त्यो पार्टी क्रान्तिको साधन थिएन, नोकरशाहीको साधनमा फेरिएको थियो, मुट्ठीभर सभ्रान्तहरुको सेवा गर्ने साधनमा फेरिएको थियो ।
जुन पार्टी क्रान्तिको जगमा खडा भएको थियो त्यही पार्टी प्रतिक्रान्तिको साधन बन्यो । र, अन्ततः पुँजीवादीको पुनस्र्थापन भयो । केन्द्रीय समितिलाई निस्क्रिय बनाएर, पोलिटव्यूरो गठन नै नगरेर, तीन तीन महिनामा बस्नु पर्ने स्थायी समितिलाई एक वर्ष पर धकेलेर हामी जे अभ्यास गर्दैछौं विगतको पुनरावृत्ति मात्रै ।
असफलताबाट शिक्षा लिएनौं । पार्टीभित्रको अत्यन्तै अल्पतन्त्रभित्र हामी नै वर्गका एक्ला प्रतिनिधि हौं हामीले जे बोल्छौं र गर्छौं त्यो नै वर्गहित र राष्ट्रहित हो भन्ने मानसिकता र व्यवहार छ यो नै घातक छ । प्रतिक्रान्तिको बीउ यसैभित्र अंकुराईरहेको छ ।
५. गुटबन्दी एक डरलाग्दो समस्याको रुपमा रहको छ । गुटबन्दीले पार्टी प्रणालीलाई तहश नहश पारेको छ । सही र खराबको वर्गीकरणलाई मेटाइदिएको छ ।
आफ्नो गुटमा भए पञ्चखत पनि माफ हुने तर विरोधि समूहमा भए अपराधको कुण्डमा डुबुल्की मारेको देख्ने चश्माको आविष्कारक पनि गुटबन्दी नै हो । परिस्थिति यस्तो बन्दै छ कि गुट बिना कोही पनि सुरक्षित महसुस नगर्ने हुँदैछ । माथि भनियो कि गुटबन्दीको श्रोत नीजि स्वार्थ हो । जब सम्म सामूहिक स्वार्थ, वर्गको स्वार्थ हावी हुँदैन तबसम्म गुटबन्दी रहिरहने छ ।
जबसम्म गुटबन्दी रहने छ साँचो अर्थमा पार्टी प्रणाली रहने छैन । गुटबन्दी एकताबद्ध पार्टी प्रणालीसँग मेल नखाने प्रवृत्ति हो । अतः आजको पार्टी निर्माणको एक नंवर कार्यसूचिमा गुटबन्दी, यसको श्रोत र यसका सबैखाले रुपहरुको अन्त्य गर्ने हुनु पर्दछ ।
६. मानव जातिको सर्वोत्तम हितहरुको प्रतिनिधित्व गर्ने पार्टी आफ्ना योग्यतम् नेता कार्यकर्ताहरुको लामबन्दी बिना अगाडी बढ्न सक्दैन । योग्यतम् नेता कार्यकर्ताहरु सर्वोत्कृष्ट सिद्धान्तद्वारा निर्देशित हुनु पर्दछ ।
दु:खको कुरा, पार्टीभित्र सिद्धान्तको मामिलामा अध्ययनको संस्कार नै छैन । अध्ययन विना अनुमानको भरमा ठिक बेठिक भन्न सकिदैन । व्यवहारलाई ताजगी बनाउन, सही दिशामा डोर्याउन सही सिद्धान्त हुनै पर्दछ । त्यो सिद्धान्त गतिशिल हुनुपर्दछ ।
संसारमा कुनै पनि वस्तु गतिहिन छैन । सिंगो समाजको अगुवाई गर्ने हाम्रो सिद्धान्त, विचार गतिशिल नभइकन आजका समस्याहरुको समाधान गर्न सकिदैन । हामी भित्र हिजोका संष्लेषणद्धारा आजका समस्याहरुको समाधान खोज्ने रुढीवाद देखा पर्दैछ । रुढीवादले, सूत्रले कही पनि क्रान्तिको सेवा गरेको छैन र नेपालमा पनि गर्ने छैन ।
७.आज घुसखोरी, भ्रष्टाचार र ढिलासुस्ती हाम्रो जीवनका अभिन्न अंग जस्तै बनेका छन् । यी प्रवृत्तिहरु स्वभाविक बानी, आदत र नियमित काम जस्ता भएका छन् ।
हिजो भन्दा आज राम्रो भन्ने अनुभूति हामीले गराउन सकेका छैनौं । लाखौं र करोडौं होइन संस्थागत रुपमा अरबौं भ्रष्टाचार हुने गरेका तथ्यहरु सार्वजनिक हुने गरेका छन् । राजनैतिक नेतृत्वको सहभागिताबिना कर्मचारीतन्त्र एक्लैले त्यो जोखिम उठायो होला भन्न सकिदैन ।
पचासौं लाख युवाहरु विदेशि भूमिमा आधुनिक दासको जस्तो नारकिय जीवन बाँच्न विबस हुने तर हाम्रो वैठकको प्राथिमिकतामा त्यो एजेण्डा नपर्ने, किसानहरु कहालीलाग्दो कष्टकर जीवन बाँच्ने हाम्रो विधान संशोधन नेताहरुको भागबण्डामै अड्कने, लाखौं बेरोजगार युवाहरुको चौपट भविष्यबारे विषय प्रवेश नै नहुने अवस्था छ ।
नौ जना बसे नौ जनाको हितमा, पैतालिस जना बसे पैतालिस जनाको हितमा कुरा हुने परिपाटीको पार्टी बनेको छ । पार्टीलाई जीवन्त पार्टी बनाउने हो भने मजदूरकोबारे, किसानकोबारे, युवाहरुकोबारे बहश गरौं ।
एकताबद्ध र शक्तिशाली पार्टी निर्माण गरौं जहाँ प्रतिक्रान्तिका षड्यन्त्रलाई धुजा धुजा पार्न सकियोस् । बाँचे पनि गर्वका साथ बाँच्न पाइयोस् परे पनि सगर्व मर्न पाइयोस् । मर्न नसकिने र बाँच्दा पनि मरे जस्तो जीवन जीउन नपरोस् ।