January 24 - 2021, Sunday११ माघ २०७७, आईतवार

नेपाल-जापान श्रम सम्झौता निराशाजनक : बिकल्पमा प्रशिक्षार्थी कामदार

काठमाडौं : नेपालले गत वर्ष चैत ११ मा जापानसँग विशिष्टीकृत सीप भएका कामदार आपूर्ति गर्ने सम्झौता गरेयता अहिलेसम्म कुनै पनि नेपालीले जापानमा रोजगारीको अवसर पाएका छैनन्।

केही समयअघि जापान फाउन्डेसनमार्फत लिइएको भाषा र नर्सिङ (केयरगिभर) सम्बन्धी सीप परीक्षामा निराशाजनक प्रतिफलले सरकारको असन्तुष्टिको पारो अझै बढेको छ। केही समयअघि पूर्व श्रममन्त्री गोकर्ण विष्टले असन्तुष्टि जनाएको सम्बन्धमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले अनौपचारिक छलफलका क्रममा बताउने गरेका छन्।

दक्षिण कोरियामा श्रमिक आपूर्ति गरेजस्तै नेपालले पनि द्विपक्षीय सरकारी तहमा जापानसँग श्रमिक आपूर्तिको कोटा खोजेको छ जुन यथार्थमा सम्भव छैन। जापानले सुरुमा ९ देशबाट १४ किसिमका काममा दक्ष कामदार लिने भएको थियो। अहिले बंगलादेश र श्रीलंका पनि त्यसमा थपिएका छन्। थप दुई देशसँग पनि सीपयुक्त कामदार आपूर्ति सम्झौता भइसकेको छ। यसले नेपालजस्ता मुलुकका लागि अझै प्रतिस्पर्धा थपिएको छ।

अप्रिलदेखि सुरु भएको यो स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लू) भीसामा जापानले पाँच वर्षमा ३ लाख ४० हजार कामदार लिने बताएको छ। त्यीमध्ये ५० हजार जति पहिलो वर्ष लिने योजना छ। एसएसडब्लू भीसामा कामदार लैजान थालेदेखि ८ महिनाको अवधिमा कुल एक हजार मानिस मात्र यो भीसामा जापान भित्रिएको जापान अद्यागमनको तथ्यांक छ। अहिलेसम्म एसएसडब्लू भीसामा जापान गएका कामदारको संख्या हेर्दा नेपालका लागि यो स्किम उत्साहजनक देखिँदैन।

जापानमै तीन वर्ष प्रशिक्षार्थी कामदारका रूपमा बिताएका सम्बन्धित देशका नागरिकलाई एसएसडब्लू भिसामा परिवर्तन गर्ने अवसर दिइएको छ। यसका लागि विभिन्न देशबाट जापानमा बसोबास गरिरहेकालाई भाषा र सीप परीक्षाको अवसर जापानभित्रै पनि उपलब्ध गराइएको छ। प्रशिक्षार्थी कामदारको भिसा एसएसडब्लू भिसामा परिवर्तन गरिदिँदा उक्त व्यक्ति कम्पनीप्रति बफादार हुन्छ। सीधै एसएसडब्लू भिसामै काम गर्नका लागि जापान जाने कामदारलाई कम्पनी परिवर्तन गर्ने अधिकार पनि छ। जसले गर्दा कम्पनीको रोजाइ पनि त्यही रहेका सम्बन्धित देशका प्रशिक्षार्थी कामदारको भिसा परिवर्तन गर्नेतर्फ नै छ।

जापानले नेपालीलाई समेत रोजगारीको अवसर खुला गरेपछि गत वैशाखमा जापानका पूर्वसांसद कोमियामा योसिहारू नेपाल आएका थिए। उनले एउटा फाउन्डेसन सञ्चालन गर्छन्। त्यसले बाह्य मुलुकका विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ। उनकाअनुसार छात्रवृत्ति पाउनेमा जापानमा अध्ययनरत दुई सय जति नेपाली विद्यार्थी पनि छन्। कोमियामाले अध्यक्षता गर्ने फाउन्डेसनलाई डोनेसन (अनुदान) दिनेमध्येको एउटा कम्पनी आउट सोर्सिङ इंक पनि हो। आउटसोर्सिङ इंकसँगको सम्बन्धकै कारण कोमिमियाले श्रम र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको भेटमा प्रस्ताव राखे आउट सोर्सिङ इंकको चीन, भियतनाममा काम गरिरहेका शाखा नेपालमा पनि विस्तार गर्ने र तिनैमार्फत जापानी कम्पनीसँग सम्पर्क गरी प्रशिक्षार्थी कामदार आपूर्ति गर्ने।

यस्ता प्रशिक्षार्थी कामदारको भिसालाई तीन वर्षपछि एसएसडब्लू भिसामा रुपान्तरण गर्न सकिन्थ्यो। ‘सरकारले उनको प्रस्तावलाई सकारात्मक रूपमा लियो तर यसलाई अघि बढाएन’, केही दिनअघि पुनः नेपाल आएका उनले भने, ‘जापानको मापदण्डभित्र पर्ने विशिष्टीकृत सीप भएका लाखौं कामदार पठाउन भियतनाम, चीन, फिलिपिन्सलगायत देश तछाडमछाडमा छन्।’

जापानकै राम्रा कम्पनी पनि भियतनाम, चीनबाट कामदार लिन खोज्छन्। ठूलो संख्यामा आप्रवासी कामदार लिन सक्ने राम्रा कम्पनीको रोजाइमा नेपाल देखिँदैन। जसका कारण अत्यन्त थोरै नेपालीले मात्र रोजगारीको अवसर पाउने उनको बुझाइ छ।

‘पहिले जापानमा धेरै चिनियाँ प्रशिक्षार्थी कामदार थिए। अहिले भियतनामी र चिनियाँ बराबरी जस्तो छन्’, उनले सुनाए, ‘किनकी भियतनामले प्रशिक्षार्थी कामदार पठाउन चीनबाट काम गरिरहेका कम्पनीलाई भियतनाम भित्र्यायो। सुरुमा चिनियाँ कम्पनीले काम गरे। पछि भियतनामी आफैंले सिके र पठाउन थाले।’ अहिले जापानमा तीन लाख जति बाह्य कामदारमध्ये एक/एक लाख त चिनियाँ र भियतनामी छन्, बाँकी एक लाख अन्य मुलुकका। नेपालले प्रारम्भिक चरणमा जापानमा प्रशिक्षार्थी कामदार आपूर्ति गर्न बाह्य कम्पनीको सहायता लिए पनि केही वर्षपछि भियतनामले झै आफैंले उक्त काम गर्न सक्ने उनले बताए।

जापानी कम्पनी आउटसोर्सिङ इंकले ३७ देशमा कार्यालय राखेर आवश्यक दक्ष कामदार आपूर्ति गर्दै आएको छ। ‘नेपाल सरकारले अनुमति दिए उनीहरू काम गर्न तयार छन्’, योसिहारूले भने। जापानमा रोजगारीको अवसर खुलेसँगै सीप र भाषा सिक्ने नेपालीको संख्या बढिरहेको छ। नयाँबानेश्वरस्थित हार्थफोर्ड एजुकेसन कन्सल्टेन्सीका सञ्चालक महेश श्रेष्ठ जापानमा रोजगारीको अवसर पाउने आसमा जापानी भाषा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको भए पनि अघिल्लोपटक सञ्चालित परीक्षाको नतिजा उत्साहजनक नभएको बताउँछन्। ‘प्रशिक्षार्थीको रूपमा कामदार विदेश पठाएर जापानी कम्पनीसँगको सहकार्यमा भिसा रुपान्तरण (एसएसडब्लू भिसा) गर्ने राम्रो विकल्प हुनसक्छ’, उनले भने।

योसिहारूले पनि जापानमा रोजगारीका आकांक्षी नेपालीको आकांक्षा पनि सम्बोधन हुने र सरकारको उद्देश्य पनि पूरा हुने विकल्प प्रशिक्षार्थीको रूपमा कामदार पठाउने नै भएको बताएका छन्।

Prabaha

faujikira-sambandhi-suchana