भारतको रुपैडिहा हुँदै चीनको मरिम ला सम्मको नियात्रा

lagu ausadhi biruddha abhiyan jajarkot

अब्दुल्लाह मिँया ।

दुई दिन कुर्दा पनि नेपालगन्जबाट जुफाल जहाज उडेन  । तेस्रो दिन, दुनैसम्म सडकमार्ग हुँदै जाने निधो गरियो  । अन्तिम गन्तव्य माथिल्लो डोल्पाको धो तराप । नेपालको सबभन्दा उच्च स्थानको उक्त बस्ती (४३०० मिटर) मा पहिलोपटक हुन लागेको महोत्सवमा सहभागी हुने हाम्रो उद्देश्य । धो तराप मेरो दोस्रो यात्रा, २०७१ पछि ।

सदरमुकाम दुनै गत वर्षको मंसिर पहिलो सातादेखि सडक सञ्जालले जोडिएको छ । जहाज नउडेपछि स्थानीय र कर्मचारी त्यही सडक भएर दुनै–सुर्खेत–नेपालगन्ज आउजाउ गर्दा रहेछन् । राँझा एअरपोर्टमै से–फोक्सुण्डो निकुञ्जका तत्कालीन निमित्त प्रमुख (वार्डेन) प्रमोद यादवले सुनाए, ‘दुनैसम्म पुग्न १०– १२ वटा गाडी फेर्नुपर्छ, कहीं एक–डेढ किलोमिटरसम्म हिँड्नु पनि पर्छ ।’ सडक यात्रा गर्दा धेरै कुरा अध्ययन गर्न पाइने आशाले गाडी नै रोजियो ।

स्कर्पियोमा कोहलपुर चौराहाबाट रत्न राजमार्गको छिन्चु–जाजरकोट हुँदै अघि बढ्यो टोली । मनसुन अवधि बाँकी नै थियो । जसै जाजरकोट सदरमुकाम खलंगाको कालेगाउँ सकियो, कच्ची बाटो सुरु । दिउँसै पानी पर्न थालिहाल्यो । गडगडाउँदै बगेको धमिलो भेरी नदी तीरैतीर जाजरकोटको रिम्नाबजार पुग्दा झ्याउँकिरी कराउन थाले ।

रिम्ना पुल तरेपछि पश्चिम रुकुमले स्वागत गरिहाल्यो । जाजरकोट–खलंगा–दुनै बाटो कच्ची भए पनि नजिकै फराकिलो मध्यपहाडी लोकमार्ग चौरजहारी–जाजरकोट हुँदै पश्चिमतिर बन्नेक्रम जारी छ । त्यसले ठूलो आशा जगाएको छ । खलंगा–दुनै सडक भने दक्षिणबाट उत्तरतिर गइरहेको छ ।

पहाडको कच्ची बाटोमा मुसलधारे पानी परेपछि स्करपियोको स्पिड घट्ने नै भयो । अनकन्टारमै झिसमिसे भइहाल्यो । गाडीको लाइटले मात्र बाटो ठम्याउन गाह्रो । उकालो ओरालो बाटो । माथि भीमकाय पहिरो । ढुंगा झर्ने उत्तिकै त्रास । न मोबाइल नेटवर्क न मानव बस्ती । केवल सलल…बगिरहेको भेरी । कहिले धकेल्दै त कहिले यात्रु झार्दै चालकले बल्लतल्ल पुर्‍याए, आठबिसकोट नगरपालिकाको राडीबजार ।

भेरी नदीको बगरमै बजार भए पनि अबेरसम्म होटल, पसल खुलेका । मान्छेको चहलपहल पनि उत्तिकै । नगरपालिकाको केन्द्र । सदरमुकाम मुसिकोट आउजाउ गर्ने र राडीबजारबाट सुर्खेत, नेपालगन्ज, काठमाडौंसम्मै रात्रि र दिवा बससमेत चल्ने भएकाले मान्छेको बाक्लै उपस्थिति । सामान पनि लगभग सबै पाइने ।

बजारका चलेका सबै होटल भरिभराउ । स्थानीय भन्दै थिए, ‘नगरपालिका आयापछि धेरै तालिम, कार्यक्रम हुन थाले, त्यही भएर सबै होटल प्याक भइगए ।’ जाजरकोटे दाइको सानो होटलमा जसोतसो गरी रात बिताइयो । मिर्मिरेमै ब्युँझिएका कान्तिपुर टीभीका डीपी सुताइबारे बेलिबिस्तार लाउँदै थिए, ‘उडुसको ओछ्यान, उपियाँको सिरक भयो है साथी हो ।’

प्रमोद यादवले राँझामा भनेजस्तै अब गाडी बदल्दै अघि बढ्ने यात्रा सुरु हुने भयो । जाजरकोट र पश्चिम रुकुमलाई कहिले दायाँ कहिले बायाँ पार्दै, भीरपाखा छिचोल्दै भेरी नदीको तीरैतीर उकालो, ओरालो गर्दै यात्रा अघि बढ्यो । थोरैबेर गाडी चढ्यो, झर्‍यो, झोलुंगे पुल तर्‍यो, फेरि गाडी चढ्यो, ओर्लियो, झोलुंगे पुल तर्‍यो…एवं रीतले ।

नेपाली सेनाको करिब दशक लामो प्रयासले दुनै जोड्ने ट्र्याक खुलेको हो । जाजरकोटको पासागाढबाट डोल्पा सदरमुकाम दुनैसम्म १ सय १८ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । त्यही ट्र्याकमा झन्डै सयवटा बोलेरो, केही जिप र ट्याक्टर दैनिक अनवरत गुडिरन्छन् । पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १ सय ३ किलोमिटर सेनाले तथा सुपानीदेखि दुनैसम्मको १४ किमि स्थानीय तह र सांसद विकास कोषमार्फत् निर्माण गरिएको हो ।

जाजरकोट–दुनै सडक (११८ किमि) को ४७.५ किमि जाजरकोटमा, ३०.५ किमि रुकुममा र ४०.५ किमि डोल्पामा पर्छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये अब हुम्लामा मात्र सडक सञ्जालले छुन बाँकी छ । त्यहाँ पनि जुम्ला, बाजुराबाट सडक निर्माण जारी छ । उत्तरी नाका हिल्सातिरबाट पनि सडक बनिरहेको छ ।

२०६४ सालमा छिन्चु–जाजरकोट सडक निर्माण भएसँगै डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न ट्र्याक खोल्ने काम सुरु भएको थियो । मुलुककै ठूलो जिल्ला डोल्पामा सडक सञ्जालले छुनु स्वागतयोग्य भए पनि भेरी, सहायक नदी र खोलाहरूमा मोटरेबल पुल बनेका छैनन् । त्यसैले दर्जन गाडी फेरेर मात्र दुनै–खलंगा–सुर्खेत–नेपालगन्ज–दुनै यात्रा सम्भव छ । सहज यातायातका लागि कम्तीमा पनि १४ वटा पुल बनाउनुपर्ने हुन्छ । हिउँदमा पानीको बहाब घट्ने र खोला सुक्ने भएकाले केही सहज भए पनि वर्षाको यात्रा कष्टकर मात्र होइन उत्तिकै जोखिमपूर्ण छ ।

वर्षामा पानी बढेकाले साना खोला पनि गडगडाएका छन् । ठूला र अग्ला पहाडलाई छिचोलेर सानो ट्र्याक खनिएकाले दुर्घटनाको पनि त्यत्तिकै त्रास । पहिरोले कैयौं ठाउँमा सडक बगाएको छ । कैयौं ठाउँमा ट्र्याक पुरिएको छ । सडकको नाम निसान छैन । ठूला गाडीको यात्रा कल्पनै गर्न सकिन्न । एक्लै पनि सम्भव छैन ।

धन्न हरेक खोला र नदीमाथि झोलुंगे पुल भने छन् । तिनै झोलुंगे पुलबाट माल सामान बोकेर पारी तर्ने्बित्तिकै अर्को बोलेरो गाडी तयार हुन्छ । बोलेरोको निश्चित भाडा छैन । मान्छे हेरेर भाडा तय गरिन्छ । ड्राइभर सबै लोकल । ओठ निचोर्दा दुध झर्ने उमेरका । केही दिन सहचालक बनेपछि स्वतः ड्राभइरमा बढुवा ।

राडीबजारदेखि दुनैसम्म चल्ने रुटका अधिकांश बोलेरोका ड्राइभरसँग लाइसेन्स छैन । न त लाइसेन्स लिने उमेर नै उनीहरूको पुगेको छ । तिनले भन्न छुटाउँदैनन्, ‘दाइ पीर नगर्नुस् है गाडी चला’को एक वर्ष भयो, यो वर्ष सुर्खेतबाट लाइसेन्स बनार ल्याउँछु ।’ विश्वास नलागे पनि चढ्नुको विकल्प छैन । भरोसा, अल्लाह (ईश्वर) को भन्दै अघि बढियो ।

राडीबजारबाट डिल्ली, मैदे, तात्राघाट, चौखा, तल्लु, रिजगाड, दामाचौर, कडापहाड, हरियापानी, खदाङ, चौगाड, छलगाड, गलीगाड र त्रिपुरासुन्दरी बगर हुँदै सडक दुनैसम्म पुग्छ । यी सबै ठाउँमा पोका पन्तुरासहित झोलुंगे पुल तरेर अर्को गाडी चढ्नु अनिवार्य छ । पुल तार्ने भरिया त भेटिन्छन्, साह्रै महँगा ।

जाजरकोट खण्डको तल्लु, रातोपहरा, रग्दा भगवती, रुकुमको ढाडछाला, मन्का तथा डोल्पाको करवाड, खदाङ, सिरबिन्डे, सिउरेनी, तपतपे, धाउन्ने, बतासेलगायतका स्थानमा भीर काटेर खोलिएका ट्र्याक । यस्तै कहालिलाग्दो भीरमा बेपत्ता कुद्ने बोलेरो कतिबेला जमिन छोडेर भेरी नदीमा पुग्छ पत्तो हुँदैन ।

भीरबाट ढुंगा झरिरहुन् वा गाडी फसेर उकालो चढ्न नसकोस् । ड्राइभरले न स्टेरिङ छाड्छन्, न त यात्रु नै झार्छन् । उज्यालो होस् वा अँध्यारो, गन्तव्यमा नपुगेसम्म गाडी रोकिने वाला छैन । उनीहरूको एउटै मन्त्र छ, ‘गाडी पुग्ने ठाउँसम्म जसरी पनि पुर्‍याएरै छाड्ने ।’ यात्रुलाई कहाली लागे पनि ड्राइभरले हाई–वे ठानेर मस्तले गाडी गुडाउँछन् । सँगै चर्को स्वरमा म्युजिक ।

नेपाली सेनाले खनेको बाटो भए पनि वातावरणीय पक्षमा फिटिक्कै ध्यान दिइएको छैन । कर्णालीको भूगोल, अग्ला पहाड हुने नै भए । घरभन्दा ठूला ढुंगा । पत्थरिलो माटो । त्यस्तो भू–बनोटमा जथाभावी खनिएको सडकले विकराल अवस्था निम्त्याउने देखिन्छ । मुख्यतः जहींतहीं पहिरोको जोखिम । न त पहिरो रोक्ने कुनै विधि नै अपनाइएको छ । भूगोलविद् नरेन्द्र खनालका अनुसार बढी चट्टान भएको क्षेत्रमा चट्टानी पहिरो (रक फल) को सम्भावना अत्यधिक हुन्छ । उनी भन्छन्, ‘बढी स्लोप भएको क्षेत्रमा सडक दुर्घटनाको संभावना बढी हुने भएकाले पहिले नै ध्यान दिनुपर्ने हुन्छ’ ।

यो सडकलाई भेरी करिडोरमा समेटेर छिमेकी मुलुक भारत र चीनसँग जोड्ने केन्द्र सरकारको योजना छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मरिम ला नाकाबाट तिन्जे, धो तराप हुँदै दुनै र दुनैबाट त्रिपुराकोट, त्रिवेणी, जाजरकोट, छिन्चु हुँदै नेपालगन्जबाट भारतको रुपैडिहा जोड्ने योजना छ । दुनैसम्म सडक पुगे पनि त्योभन्दा माथि पदयात्राका लागि खनिएको बाटो मात्र छ ।

दुनै बजारबाट माथिल्लो डोल्पा पुग्न तीन दिनको पैदल यात्रा गर्नुपर्छ । दुनै–धो तराप–शे गुम्बा–साल्दाङ–फोक्सुण्डो–दुनै पदयात्रा विख्यात छ । माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्– बुद्ध डोल्पो, शे–फोक्सुण्डो र छर्का ताङ्सोक । डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेसँग तिब्बतको मरिम ला जोडिन्छ भने शे–फोक्सुण्डोको साल्दाङसँग क्याटो जोडिन्छ । यी दुई नाका माथिल्लो डोल्पाका करिब चार हजार जनसंख्याको ‘लाइफलाइन’ हुन् । यी नाका औपचारिक रूपमै खोलिए र उत्तर–दक्षिण सडक सञ्जाल जोड्न सकिए जनजीवन सहज हुने देखिन्छ ।

दक्षिणतिर सडक नजोडिएकाले दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गर्न र यार्चागुन्बुलगायतका जडिबुटी बिक्री गर्न स्थानीयहरू तिब्बती नाका मरिम ला र क्याटो ओहोरदोहोर गर्न बाध्य छन् । मरिम ला–रुपैडिहा उत्तर–दक्षिण सडक जोडिए डोल्पो क्षेत्रको पर्यटन प्रवर्द्धन मात्र हुने छैन, उत्तरी क्षेत्रका यार्चागुन्बुजस्ता बहुमूल्य जडिबुटी, गेडागुडी र तल्लो क्षेत्रका अर्ग्यानिक स्याउ र ओखरलगायत उत्पादनले बजार पाउनेछ । त्यसले उनीहरूको जीवनस्तर सुधार्न सहयोग पुर्‍याउनेछ । सडक अभावले माथिल्लो डोल्पाका स्थानीय आपत्कालीन अवस्थाबाहेक तलतिर झर्दैनन् भने तल्लो क्षेत्रका बासिन्दा माथि जाँदैनन् ।

हजारौं वर्ष पुराना गुम्बाहरू शे, साम्लिङ बोन, याङ्जेर, झ्याम्बा पर्यटकीय आकर्षण हुन् । अलग्गै तिब्बती भेषभूषा, भाषा, कला, संस्कृति, जीवनशैली र डोल्पो जाति अर्को आकर्षण हो । यहाँको ‘ल्यान्डिस्केप’ मान्छेलाई लोभ्याउने किसिमको छ ।

३६ वर्षअघि निकुञ्ज स्थापना भए पनि स्थानीयबासीलाई लाभ हुने किसिमका कार्यक्रममा ध्यान दिएको देखिन्न । उपयुक्त अवसर नपाएकाले स्थानीयले आफ्नै ठाउँलाई प्रचार गर्न सकेका छैनन् । छिमेकी मुस्ताङमा आन्तरिक–बाह्य पर्यटक ओइरिरहेका बेला उस्तै परिदृश्य बोकेको माथिल्लो डोल्पा आउनेहरू नगण्य मात्र छन् । डोल्पोबुद्ध गाउँपालिका–३ का वडाअध्यक्ष क्याल्पो थापा भोटे केही वर्षयता विदेशी पर्यटक भने आकर्षित भइरहेको सुनाउँछन् । उनले पर्यटन प्रवर्द्धनमा भौतिक पूर्वाधार नै मुख्य अभाव भएको तर्क गरे ।

डोल्पाका सांसद पर्यटन राज्यमन्त्री धनबहादुर बूढा दुनैसम्म सडक पुर्‍याउने आफ्नो एक मात्र सपना भएको स्थानीयलाई भन्दै थिए । ‘तिन्जेबाट धो–दुनै हुँदै जाजरकोटसम्म सडक जोड्न सकियो भने आमूल परिवर्तन आउने विश्वास छ,’ उनले भने । नाकाबाट दुनैसम्मको लम्बाइ १ सय १० किलोमिटर छ । दुनैबाट रुपैडिहासम्म करिब ३ सय ९ किलोमिटर छ । धोबाट दुनै सडक पुर्‍याउन सकिए चीन–भारत नाका उत्तर–दक्षिण नाका जोडिनेछ । ढिलै भए पनि धो तरापबाट दुनैसम्मको पदमार्गलाई स्तरोन्नति गर्ने काम चलिरहेको छ । स्तरोन्नतिपछि मोटरसाइकल चलाउन सहज हुनेछ । दुईवटा डोजरले तिन्जेबाट ताक्सी, धो, कलाङ, सिस्योल, नाउरपानी, लहिनी, लासिक्याप हुँदै दुनैतिर सडक खनिरहेका छन् ।

नेपाल सरकारले पनि यो सडकलाई प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र सडक विभागका अधिकारीले स्थलगत अध्ययन गरेका छन् । कर्णाली प्रदेशको योजना आयोगले पनि ‘दुनै–धो हुँदै मरिम ला, सुर्खेत–हुम्ला हुँदै हिल्सा र दैलेख–कालीकोट–जुम्ला–मुगु हुँदै नाक्चे’ गरी तीनवटा नाकाबाट उत्तर–दक्षिण करिडोर जोड्ने योजना बनाएको छ । खोलिएका ट्र्याकलाई स्तरोन्नति गर्ने र खन्न बाँकी सडकलाई उच्च प्राथमिकता दिने हो भने ढिलोचाँडो माथिल्लो डोल्पाको हीरा बेच्न सम्भव छ । र सम्भव छ, मरिम ला–रुपैडिहा ओहोरदोहोर ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad