राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका २ स्थायी ठेगाना भएका कुशे गाँउपालिकामा कार्यरत वडा सचिव बलबहादुर खड्काले कर्मचारी समायोजनमा संघ रोजे । समायोजन पनि संघमै भए । भेरी नगरपालिकामा कार्यरत भेरी नगरपालिका २ निवासी कृतिबहादुर थापाले पनि संघ नै रोजे उनी पनि संघमै समायोजन भएका छन् । उनीहरु केही दिनमै स्थानिय तह छोडेर संघिय सरकार मातहतका कार्यालयमा समायोजन भएर जाँदैछन् ।
यी दुई जना प्रतिनिधि कर्मचारी हुन् । जाजरकोटमै घर भएका कर्मचारीले समेत स्थानिय तह रोजेनन् । सधै कर्मचारी अभाव भैरहने जाजरकोटमा कर्मचारी समायोजनमा स्थानिय कर्मचारीले स्थानिय तह नरोजेपछि स्थानिय तह कर्मचारी विहिन हुन थालेका छन् । चार गाँउपालिका र तीन नगरपालिका रहेको जाजरकोटमा प्राविधिक बाहेकका तीन सय १९ कर्मचारीको दरबन्दी मध्य ६१ जना मात्र कार्यरत छन् । यी मध्य पनि धेरैजसो समायोजन भएर संघमा जाँदैछन् । दुई सय ५० जना अर्थात ८० प्रतिशत कर्मचारीको पदपुर्ती हुन बाँकी छ । २० प्रतिशत कर्मचारीले जेनतेन पालिका धानिरहेका छन् । सरकारले कर्मचारी ब्यवस्थापन गर्न नसक्दा विकास निर्माण र अन्य सेवा प्रवाहमा पनि गंभिर समस्या देखिन थालेको छ ।
जिल्लाभर ७७ वटा वडा छन् । त्यहाँ त्यत्तिकै संख्यामा वडा सचिव आवश्यक पर्छ तर १५ जना वडा सचिवले ७७ वडाको काम गर्नु पर्ने बाध्यता छ । संघिय र प्रदेश सरकार गंभिर नबन्दा स्थानिय सरकारको कामकाज लथालिङ्ग भएको छ । कर्मचारी अभावले गर्दा सिंहदरवार गाँउ गाँउमा पुग्न सकेको छैन । कर्मचारी अभावकै कारण सम्बन्धित पालिका र वडा कार्यालयबाट कामकाज हुन सकेको छैन । अहिले पनि जिल्लाका कुशे, बारेकोट र जुनीचाँदे गाँउपालिकाले सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन् । ति गाँउपालिकाका सेवाग्राही वडासचिव र अन्य कर्मचारी खोज्दै सदरमुकाम धाउन बाध्य छन् ।
प्राविधिकबाहेक ३७ कर्मचारीको दरबन्दी रहेको बारेकोट गाउँपालिकामा दुई जना मात्र छन । सबै काम प्रमुख प्रशासकीय अधिकृत र एक लेखापालको थाप्लोमा छ । ९ वडामध्ये एउटामा पनि सचिव छैनन । कुशे गाउँपालिकामा प्राविधिकबाहेक ३७ जना कर्मचारीको दरबन्दी छ । ति मध्य प्रमुख प्रशासकीय अधिकृत, दुई नायब सुब्बा र दुई लेखापाल मात्र कार्यरत छन् । ४३ दरबन्दी रहेको जुनीचाँदे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र ३ वडासचिव गरी ४ कर्मचारी छन् । ५५ जनाको दरबन्दी भएको छेडागाड नगरपालिकामा प्राविधिकसमेत १६ कर्मचारी छन् । अधिकांश स्थानीय सरकार दुई, तीन जना वडासचिवका भरमा छन् । गाउँगाउँमा नाम मात्रका वडा कार्यालय राखिएका छन् । कर्मचारी नहुँदा सेवा प्रवाह हुन सकेको छैन । स्थानीयलाई सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
१३ वडा भएको नलगाड नगरपालिकामा ५५ मध्ये ३ वडासचिव र करारसहित १३ कर्मचारी छन् । ५५ दरबन्दी रहेको भेरी नगरपालिका प्राविधिक, करारलगायत २९ कर्मचारीको भरमा चलिरहेको छ । ३७ दरबन्दी रहेको शिवालयमा प्रमुख प्रशासकिय अधिकृत, लेखापाल , नासु ,खरीदार वडा सचिव गरि ७ जना मात्र कर्मचारी छन् । अधिकांश पालिकामा वडासचिवले आलोपालो गरेर काम गर्नुपर्ने बाध्यता छ । कर्मचारी अभावमा योजना तर्जुमा, कार्यान्वयन, ऐन, कानुन बनाउने काम अलपत्र छन् । कर्मचारी अभावमा गाँउपालिकाको कामकाज निकै प्रभावित भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । कर्मचारी अभावकै कारण सेवाप्रवाहमा समस्या आएको बताए । स्थानिय सरकार सँग कर्मचारी भर्ना गर्ने बजेट नभएको र संघिय सरकारले कर्मचारी नपठाउँदा समस्या परेको उनको भनाई छ । वडा सचिव अभावकै कारण कतिपय पालिकाले स्वास्थ्य लगायतका प्राविधिक क्षेत्रका कर्मचारीलाई समेत वडा सचिव बनाएर पठाएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख मनबहादुर रावलले बताए । उनले कर्मचारी अभावमा स्थानिय सरकारलाई काम गर्न निकै गाह्रो भएको बताए । स्थानिय कर्मचारीले समेत स्थानिय तह नरोजेर संघ रोजेका छन् । ‘स्थापना सँगै कर्मचारी अभावको समस्या झेल्दै आएका स्थानिय सरकारले कर्मचारी समायोजन पछि त पुरै खाली जस्तै भएको छ । यहीका स्थानियले समेत स्थानिय तह नरोजेर संघ रोजेका छन् । दुर्गममा आएर कसले कामम गरिदिन्छ’ उनले भने ‘स्थानिय तहमा ८० प्रतिशत कर्मचारीको पदपुर्ती नहुँदा कसरी काम गर्न सक्छन् । वडा कार्यालयमा वडा सचिव नहुँदा जन्म, विवाह, मृत्यु, बसाईसराई लगायतको पञ्जिकरणको काम सवै भन्दा बढी प्रभावित भएको छ ।’ उनले तत्काल कर्मचारीको ब्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको बताए ।
क्याप्सन ः कर्मचारी अभावमा सदरमुकाम खलंगा स्थित सम्पर्क कार्यालयमा काम गदै जुनीचाँदे गाँउपालिकाका कर्मचारीहरु तस्वीर राजेन्द्र कार्की