रोनाल्डोको ९४ गोल

lagu ausadhi biruddha abhiyan jajarkot

लिस्बन : सुपरस्टार क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा पोर्चुगलले लक्जम्बर्गमाथि सानदार जित निकालेको छ। युरो कप छनोटअन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई ३–० गोलले हरायो। घरेलु मैदानमा पोर्चुगललाई जिताउन रोनाल्डो, बर्नाडो सिल्भा र गोन्कालो गुइडेजले गोल गरे। १६औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।

लक्जम्बर्गमाथि लगातार गोल गर्ने अवसर बनाएको पोर्चुगलले ६५ औं मिनेटमा दोस्रो गोल गरेको थियो। रोनाल्डोले पोस्ट् छेउबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। राष्ट्रिय टोलीमा रोनाल्डोको यो ९४औं गोल हो। समग्रमा भने उनले ६ सय ९९औं गोल गरेका छन्। ८९औं मिनेटमा गोन्कालोले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित पारेका थिए। यस जितसँगै समूह ‘बी’ मा रहेको पोर्चुगलले युरो कपमा छनोट सम्भावना बलियो बनाएको छ। पाँच खेलबाट ११ अंक बनाएको पोर्चुगल समूहको दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको युक्रेन १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

शुक्रबार राति नै भएको खेलमा युक्रेनले लिथुनियालाई २–० गोलले पराजित गरेको छ। युक्रेनको जितमा दुवै गोल रुस्लान मालिनोभस्काईले गरे। रुस्लानले २९औं र ५८औं मिनेटमा गोल गरेका थिए। यस समूहमा सात अंक बनाएको सर्बिया तेस्रो र चार अंक बनाएको लक्जम्बर्ग चौथो स्थानमा छ। एक अंकमा सीमित लिथुनिया अन्तिममा छ।

यसैगरी समूह ‘ए’ को खेलमा इङ्ल्यान्डलाई चेक रिपब्लिकको नमीठो झट्का लागेको छ। घरेलु मैदानमा चेकले इङ्ल्यान्डलाई २–१ गोलले हरायो। युरो कप छनोट खेलमा इङ्ल्यान्ड १० वर्षपछि पहिलो पटक पराजित भएको हो।

यस हारसँगै इङ्ल्यान्डको ४३ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। इङ्ल्यान्डले सुरुआती अग्रता लिएर पनि हार खेपेको थियो। पाँचांै मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। तर, इङ्ल्यान्डको अग्रता लामो समय टिकेन। नवौं मिनेटमा चेकमा ज्याकुव ब्राबेकले बराबरी गोल फर्काए। पहिलो हाफ बराबरीमा सकिएको खेलमा चेकले ८५ औं मिनेटमा निर्णायक गोल गरेको थियो। चेकका लागि जेडेनेक ओन्ड्रासेकले निर्णायक गोल गरे।

समूह ‘ए’ कै अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यस समूहमा पहिलो हार खेपे पनि इङ्ल्यान्ड शीर्ष स्थानमा यथावत् छ। इङ्ल्यान्डले पाँच खेलबाट १२ अंक बनाएको छ। एक खेल बढी खेलेको चेक १२ अंकसहित दोस्रो स्थानमा छ। आठ अंक बनाएको कोसोभो तेस्रो, तीन तीन अंक बनाएको मोन्टेनेग्रो र बुल्गेरिया क्रमशः चौथो र पाँचौं स्थानमा छन्।

यसैगरी समूह ‘एच’ को खेलमा विश्वकप विजेता फ्रान्स र टर्कीले कठिन जित निकालेका छन्। फ्रान्सले आइसल्यान्डलाई १–० गोलले हरायो। अर्को खेलमा टर्कीले अल्बानियालाई १–० गोलले नै पराजित गर्‍यो। आइसल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन ओलिभर गिरोडले ६६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। टर्कीको जितमा सेन्क टोसुनले खेलको अन्तिम समयमा निर्णायक गोल गरे। टोसुनले इन्जुरी समयमा गोल गर्दै टर्कीलाई जिताएका थिए।

यही समूहको अर्को खेलमा एन्डोराले मोल्डोभालाई १–० गोलले हरायो। एन्डोराको जितमा मार्क भालेसले ६३औं मिनेटमा गोल गरेका थिए। जितसँगै समूह ‘एच’ बाट फ्रान्स र टर्कीले युरो कपमा छनोट हुने सम्भावना बलियो बनाएका छन्। फ्रान्स र टर्कीले सात खेलबाट समान खेलबाट १८ अंक बनाएका छन्। गोल अन्तरका आधारमा टर्की शीर्ष र फ्रान्स दोस्रो स्थानमा छ। १२ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा छ। नौ अंक बनाएका अल्बानिया चौथो तथा समान तीन तीन अंक बनाएका एन्डोरा र मोल्डोभा क्रमशः चौथो र पाँचौं स्थानमा छन्। annapurnapost

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad