राजेन्द्र कार्की । जाजरकोट
शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमतिपत्रको परीक्षामा ‘चलखेल’ गर्न एक गिरोह जाजरकोटमा सक्रिय रुपमा लागेको पाईएको छ । गिरोहले परीक्षार्थीलाई उर्तिण गराईदिने भन्दै रकम समेत असुलिरहेको बताईएको छ । विभिन्न होटलमा बसेर गिरोहले परीक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष लगायतका कर्मचारी सँग सेटिङ्ग मिलाउने काम गरिरहेको स्रोतले प्रवाह डट कमलाई बताएको छ । स्रोतका अनुसार एउटै परीक्षार्थी सँग पास गराईदिने भन्दै लाख रुपैया सम्मको बार्गेनिङ्ग भैरहेको छ ।
शिक्षक सेवा आयोगले विहिवार देखि तीन दिन सम्म सन्चालन गर्ने शिक्षकको अध्यापन अनुमति पत्रको परीक्षामा जाजरकोटवाट तिनै तहका लागि सात हजार परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । यसपटक जाजरकोट देशभरमा काठमान्डौ र चितवन पछि धेरै विद्यार्थी हुने जिल्ला हो । पास गर्न सजिलैका लागी जिल्ला बाहिरका परीक्षार्थीले समेत जाजरकोटबाटै फारम भरेपछि विद्यार्थी संख्या धेरै भएको हो । २०७० सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा चिटिङ्ग गरेर शिक्षा कार्यालयकै केही कर्मचारी र अन्यको मिलेमतोमा आफन्तलाई पास गराएको गुनासो बाहिरिएपछि त्यसपछिका आयोगका परीक्षा जिल्ला बाहिर हुने गरेका छन् । तर जिल्ला बाहिरै गएर चलखेल भएपछि आयोगको परीक्षाको विश्वसनियतामा समेत प्रश्न उठाउन थालिएको छ ।
सेटिङ्ग मिलाउन सजिलो हुने र चलखेल गर्न पाईने भएकोले जिल्ला बाहिरका परीक्षार्थीले समेत जाजरकोटबाट फारम लगाएको चर्चा गर्न थालिएको छ । जिल्ला भित्र र बाहिरका परीक्षार्थीले अध्ययनमा भन्दा हिजोआज सेटिङ्ग मिलाउनमै समय खर्चेको पाईन्छ । जाजरकोटमा धेरै विद्यार्थी भएको र गडबढ हुने आशंका गदै अनुगमणका लागी शिक्षक सेवा आयोगले शाखा अधिकृत दिवाकर शर्मालाई खटाएको छ । उनी परीक्षा अवधीभर जिल्लामै रहेर परीक्षाको अनुगमण गर्नेछन् ।
प्राथमिक , निम्नमाध्यमिक र माध्यमिक तहका लागि विभिन्न केन्द्रवाट सात हजार एक सय १६ परीक्षfर्थीले परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका निमित्त प्रमुख खडक केसीले वताए । उनका अनुसार जाजरकोटवाट प्राथमिक तहमा ३ हजार ३ सय ९५, निम्न माध्यमिक तहमा २ हजार ९ सय ३ र माध्यमिक तहमा ८ सय १८ जना परीक्षार्थीहरु रहेका छन् । अध्यापक अनुमति पत्रकोे परीक्षा सन्चालनको लागि प्राथमिक तह १३ वटा परीक्षा केन्द्रमा, निम्न माध्यमिक तह १५ वटा परीक्षा केन्द्रमा र माध्यमिक तह चार वटा परीक्षा केन्द्रमा सन्चालन हुने छ ।
परीक्षा सन्चालनका लागि ३२ जना केन्द्राध्यक्ष, ६४ जना सहायक केन्द्राध्यक्ष, ३ सय ३५ जना निरीक्षक र ६४ जना कार्यालय सहयोगीहरु परिचालन हुने निमित्त प्रमुख केसीले वताए । एउटा परीक्षा केन्द्रमा १० जना सुरक्षाकर्मीहरु परिचालित हुने भएका छन् ।
परीक्षा मर्यादित व्यवस्थित र शान्त वातावरणमा सन्चालन गर्नको लागि परीक्षा समन्वय समितिले विशेष तयारी गरेको परीक्षा समन्वय समितिका सचिव समेत रहेका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख केसीले बताए । धेरै परीक्षार्थीले जाजरकोटबाट फारम भर्नु र चलखेलको सम्भावना बारे समितिको बैठकमा गंभिर छलफल भएको बताए । सवै केन्द्रमा समान ढंगको मर्यादित परीक्षा हुने बतावारण सिर्जना गर्ने गरी ब्यवस्थापन गरिएको उनले बताए ।
यस पटक देखि शिक्षकको अध्यापन अनुमति पत्रको परीक्षामा उत्तिर्ण हुन ५० अंक प्राप्त गर्नु पर्ने र तीन प्रकारका प्रश्नहरुको उत्तर दिनु पर्ने व्यवस्था गरिएको छ । यसै पटक देखि निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा विषयगत वनाइएको छ भने प्राथमिक तहमा नेपाली , अंग्रेजी र गणित विषयको सयुंक्त प्रश्नहरुको उत्तर दिनु पर्ने छ ।