राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट भेरी नगरपालिकाको कुदु स्थित जंगलमा बेवारिसे अवस्थामा फालिएको एक शिशुको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । भेरी नगरपालिका १३ कुदुको दानीमारे जंगल हेरालुको रुपमा कार्यरत स्थानिय लालसरी विकले गत सोमवार सोही जंगलमा बेवारिसे अवस्थामा फालिएको शिशु फेला परेकी थिईन ।
भर्खर जन्मिएको बच्चालाई प्लाष्टिकले बेरेर जंगलमा फालिएको फेला परेपछि उनले प्रहरी चौकी कुदुमा खवर गरेकी थिईन । प्रहरीले बच्चालाई तत्काल जीवितै उद्धार गरेर जाजरकोट अस्पताल ल्याएको थियो । अस्पतालमा बच्चाको अवस्था सामान्य छ । त्यो बच्चा कस्को हो र किन जंगलमा फालियो भन्ने अझै पत्ता लाग्न सकेको छैन प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले भने –‘बच्चालाई वेवारिसे अवस्थामा कस्ले र किन फाल्यो हामीले अनुसन्धान गरिरहेका छौ । सत्य तथ्य छिटै पत्ता लगाउँछौ ।’ अवैध रुपमा गर्भ रहेको बच्चा फालिएको हुन सक्ने प्रहरीको आशंका छ ।
छोराको रुपमा जन्म लिएका ति बच्चालाई अस्पतालमा हुर्काउन समस्या भएको छ । एक जना कृष्ण भट्टराईले आफुले उक्त बच्चा धर्म सन्तानको रुपमा पाल्न पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । यसरी बेवारिसे अवस्थामा रहेका बच्चा हस्तान्तरण गर्ने अधिकार स्थानिय तहलाई भएकोले सक्कलै निवेदन भेरी नगरपालिकामा पठाईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । नवजात शिशुलाई बेवारिसे अवस्थामा फाल्ने ब्यक्तिको पहिचान गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिईएको उनले बताए ।