राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा स्थानिय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनि लिएको नागरिकता रद्ध गरिएको छ । नलगाड – २ का चंखे पुनलाई नक्कली बाबु बनाई नेपाली नागरिकताको प्रमाणपत्र लिने कमलको नागरिकता रद्ध गरिएको हो । नागरिकता ऐन र नियमावलीको दफा १२ बमोजिम झुटो विवरण पेश गरि कमलले लिएको नागरिकता मंगलवार रद्ध गरि थप कारवाहीको लागी प्रहरीलाई निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
नक्कली बाबु छोरा बनि नागरिकता लिएको कुरा सार्वजनिक भएपछि सोमवार प्रशासनले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । दाङ्गबाट आफन्त खोज्दै जाजरकोट आएका कमलले आफ्नो थर समेत के हो थाह नभएको बताएका छन् । सानै उमेरमा बुवाको मृत्यु भएको र आमाले समेत दोस्रो विवाह गरेपछि उनी बेवारिसे अवस्थामा जाजरकोट आईपुगेको बयानको क्रममा उल्लेख गरेका छन् । नलगाडका चंखेको घरमा केही बर्ष बसेका उनले नागरिकता भए केही ब्यवसाय गर्न सजिलो हुने भन्दै नक्कली बाबुछोरा भएर नागरिकता बनाएको स्वीकार गरेका छन् । नलगाड २, चंखे पुन र कौशिला पुनका एक मात्र सन्तान छोरीको विहे भैसकेको छ । कमलले धर्मपुत्रको रुपमा बसेर बुढेसकालको साहारा बन्ने भन्दै चंखेलाई नक्कली बाबु बन्न लगाएका थिए ।
नलगाड २ का वडाअध्यक्ष राकुमार जैसीले नलगाड – २ का चंखे पुनलाई बाबु बनाई कमललाई नागरिक दिलाउन सिफारिस गरेका थिए । कमलले मिति २०७५ असोज २६ गते झुट्टो विवरण पेश गरी बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकता लिएका थिए । कमल पुनको नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता प्रमाण पत्र नं.०६२–०१७५–०२१३३ मंगलवार रद्ध गरिएको हो ।
जसले नेपाली नागरिकताको प्रमाण पत्र दिए उनैले गरे रद्ध
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले १० महिना अघि २०७५ असोज २६ गते कमललाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका थिए । वडाध्यक्ष रामकुमार जैसीको सिफारिसमा नलगाड २ का चंखे पुनलाई नक्कली बाबु बनाएर कमलले नागरिकता बनाउन सफल भएका थिए । पाप धुरीबाट कराउँछ भने झै नक्कली काम एक बर्षपनि टिक्न सकेन । अन्ततः उनले लिएको नागरिकता रद्ध गरिएको छ । नागरिकता दिने प्रजिअ बस्नेत आफैले मंगलवार उक्त नागरिकता रद्ध गरेका हुन् । नक्कली बाबछोरा बनि नागरिकता लिएको कुरा सार्वजनिक भएपछि उनीहरु भाग्न सक्ने भन्दै स्थानिय प्रशासनले तत्काल उनीहरुलाई नियन्त्रणमा लिएर छानवीन थालेको प्रजिअ बस्नेतले बताए । उनीहरुले वडाध्यक्ष सँगको मिलेमतोमा झुटो विवरण पेश गरी प्रशासनलाई झुक्याएर नागरिकता लिएको ठहर भएपछि रद्ध गरिएको हो । प्रहरीले संलग्नलाई किर्ते, नक्कली जालसाँझी लगायतका थप मुद्धा लगाउने तयारी गरेको छ । कमललाई प्रहरी हिरासतमै राखेर केही दिन अनुसन्धान गरिने र अन्य संलग्नलाई भने आवश्यकताको आधारमा बयानका लागी बोलाईने प्रहरीले जनाएको छ ।