गोदाममै थन्कियो नौ करोडको सेतक चिनी , ब्यापारी मर्कामा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
समयमा निकासी पुर्जी नपाँउदा जाजरकोटमा करीव नौ करोडको सेतक चिनी गोदाममै थन्किएको छ । प्रति क्वीन्टल ६० हजारमा विक्रि हुने करीव एक हजार पाँच सय क्वीन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा गोदाममै थन्किएको हो ।
हाल सम्म संकलन तथा छुट पुर्जी पाउने आसमा रहेका ब्यापारीले अव यस आर्थिक बर्षमा नपाउने निश्चित भएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नबनाएको र सामुदायिक बनको कार्य योजना हाल सम्म स्वीकृत नभएका कारण जिल्ला बाहिर निकासीका लागी ब्यापारीले छुट पुर्जी पाउन नसकेको हुन् । छुट पुर्जी नपाउँदा लाखौ लगानी गरेर सेतकचिनी खरीद गरेका ब्यापारी चिन्तामा परेका छन् । बर्षातको समयमा संकलित सेतकचिनी कुहिने डर उनीहरुलाई छ । डिभिजन बन कार्यालयले भदौ अघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि ब्यापारीहरु निराश भएर फर्केका छन् ।
जिल्लाका विभिन्न जंगलमा पाईने सेतकचिनी संकलन तथा निकासी पुर्जीका लागी डिभिजन बन कार्यालय जाजरकोटमा गत कार्तिकमै ब्यापारीले करीव ६ हजार क्वीन्टलको अनुमति मागेका थिए । सेतक चिनी पाईने सामुदायिक तथा राष्ट्रिय बनको कार्ययोजना र बातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नभएपछि डिभिजन बन कार्यालयले संकलन तथा निकासी पुर्जी दिन सकेन ।
तर बारेकोट गाँउपालिकाले बन ऐन विपरीत ६५ जना ब्यापारीबाट दुई लाख रुपैया धरौटी लिएर संकलन पुर्जी दियो । गाँउपालिकाकै अनुमतिका आधारमा ब्यापारीले स्थानिय बासिन्दालाई सेतकचिनी (खिरौलो) संकलन गर्न लगाए । करीव ६ हजार क्वीन्टल सेतकचिनी संकलन भएको ब्यापारीको भनाई छ । उक्त सेतकचिनी निकासीका लागी करीव दुई सय ब्यापारीले डिभिजन बन कार्यालयमा निवेदन दिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन(आईईए) गरेका कारण पाँच सय क्वीन्टल सम्मको संकलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन बन कार्यालयले पायो । पाँच सय भन्दा बढीको अनुमति दिन ईआईए गर्नु पर्ने प्रावधान छ । तर कार्यालयले हाल सम्म ईआईए गर्न सकेको छैन । एक्सन फर इन्जिनियरिङ्ग सोलुसनले जाजरकोटका बनको बातावरणीय प्रभाव मुल्याकंनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो ।
ईआईए नगर्दा ब्यापारीले हाल सम्म संकलन तथा छुट पुर्जी पाउन नसकेका हुन् । यद्यपी, ब्यापारीले अवैध तरीकाले संकलित सेतकचिनी अवैध तरीकाले नै निकासी गरेका छन् । केही ब्यापारीले जाजरकोटबाट छुट पुर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरीकाले नै निकासी गरेको पाईएको छ । संकलित सेतकचिनीले निकासी पुर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ । छुटपुर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतकचिनी अलपत्र अवस्थामा छ ।
ब्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटवाट समयमा संकलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडौको राजश्व घाटा लागेको छ । ब्यापारीले पनि अवैध तरीकाले लुकिचोरी संकलन र निकासी गर्न बाध्य भएका छन् । असोजको अन्तिम साता देखि मंसिरको पहिलो साता सम्म जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न पाटनहरुमा बहुमुल्य सेतक चिनी (खिरौलो) खन्ने गरिन्छ । जमिनमुनी सखर खण्ड जस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनु पर्छ । यसरी तयार पारिएको सयौ क्वीन्टल सेतक चिनी विभिन्न नाकाबाट चिन तर्फ निकास हुने गरेको छ ।
सेतक चिनी संकलन तथा निकासी पुर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महिना वितिसक्दा पनि पाउन नसकेको ब्यापारी गोरखबहादुर शाहीले बताए । कार्यालयले छुट पुर्जी नदिएपछि सेतक चिनी संकलनमा गरेको लाखौ रुपैया लगानी गरिसकेका डुब्न थालेको उनको भनाई छ । सामुदायिक बनको कार्य योजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्याकंन नभएका कारण सेतक चिनी लगायतका जडिवुटीको संकलन तथा निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिए । बिभागवाट कार्ययोजना स्वीकृती नहुदासम्म कुनै प्रकारको पुर्जी दिन नमिल्ने भएकोले ब्यापारीले उक्त पुर्जी पाउन नसकेको उनको भनाई रहेको छ । यतिवेला संकलन पुर्जी दिने समय नभएकाले अव भदौमा मात्र दिन सकिने उनले बताए । ब्यापारीले शुरुमा धेरै सेतकचिनी भएको बताएपनि हाल करीव एक हजार पाँच सय क्वीन्टल जति स्टक रहेको बताए ।
क्याप्सन ः जिल्लाको नलगाड कालीमाटी स्थित एक गोदाममा कुहिने अवस्थामा रहेको सेतकचिनी तस्वीर राजेन्द्र कार्की

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad