शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन माग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
मासिक रुपमा तलब भत्ता उपलब्ध गराउन भेरी नगरपालिकाका शिक्षकहरुले माग गरेका छन् । शनिवार खलंगामा भएको नेपाल शिक्षक संघ भेरी नगर स्तरीय ८ औ प्रतिनिधी सभाले भेरी नगरपालिकालाई शिक्षकहरुको तलबभत्ता महिनावारी रुपमा निकासा गर्न माग गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार नै मासिक रुपमा शिक्षकहरुलाई तलब खुवाउन भेरी नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको शिक्षक संघ भेरी नगर समितिका अध्यक्ष दीपक बटालाले बताए ।

त्यसैगरी भेरी नगरपालिकाले केही बर्ष देखि विद्यालय ब्यवस्थापन समितिको अधिकार खोसेर राहत, संघिय अनुदान र नगर अनुदानका शिक्षक छनौटका परीक्षा नगरपालिकामा गदै आएको भन्दै शिक्षकहरुले विरोध गरेका छन् । परीक्षा प्रणालीमा ब्यापक अनियमितता हुने गरेको, परीक्षा संचालनका नाममा अवैध तरीकाले अनावश्यक भत्ता लिने गरेको, छनौट समितिका पदाधिकारी बाहेकका नगरपालिकाका धेरै ब्यक्तिलाई भत्ता खुवाउने र त्यसको भार विद्यालय र शिक्षकलाई पार्ने गरिएको, परीक्षाको मर्यादा विपरीत सेटिङ्गमा परीक्षा संचालन हुने गरिएको, आफ्नो अनुकुल नहुँदा महिनौ सम्म परीक्षा संचालन नहुने र पटक पटक परीक्षा स्थगित गरी पठनपाठनमा समस्या हुने गरेको हुँदा शिक्षा नियमावली अनुसार शिक्षक छनौटको सवै जिम्मा विद्यालय ब्यवस्थापन समितिलाई दिनुपर्ने भेलाले निर्णय गरेको छ ।

त्यसैगरी भेरी नगरपालिकाले विद्यालयको भौतिक संरचना निर्माण, मर्मतका लागि विद्यालय छनौट र शिक्षकहरुलाई तालिम, गोष्ठीमा समेत पुर्वाग्रही भएर शिक्षक संघ आवद्धलाई उपेक्षा गर्ने गरिएको प्रति समेत भेरी नगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष बटालाले बताए । त्यस्तै भेलाले सरकारले हालै २०७५ चैत्र ४ पछि नियुक्त शिक्षकलाई पेन्सनबाट बन्चित हुने गरी जारी गरेको अध्यादेशको पनि विरोध गरेको छ । शिक्षक महासंघ संग पटक पटक भएका संझौता विपरीत योगदानमा आधारित पेन्सन प्रणालीमा लिने गरी अध्यादेश जारी गरेको भन्दै भेलाले विरोध गरेको हो । प्रस्तावित विद्यालय शिक्षा विद्येयक ल्याउनुका सट्टा अध्यादेश ल्याएर शिक्षकलाई पेल्न खोजेको भन्दै प्रतिवादमा उत्रने चेतावनी भेलाले दिएको छ । नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले अध्यादेशको विरोध गरे । उनले यसै हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन आफुहरु लागि परेको बताए । कार्यक्रममा शिक्षक संघ कर्णाली प्रदेशका उपाध्यक्ष दिनेशकुमार सिंह, जिल्ला अध्यक्ष गणेशकुमार बस्नेत लगायतले आफ्नो पेशागत अधिकारका लागि शिक्षकहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad