प्रवाह संवाददाता । जाजरकोट
हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा भदौ १९ गते जाजरकोट खलंगाको गैरीखालीमा मौलिक तीज गीत गायन तथा नृत्य प्रतियोगिता सन्चालन हुने भएको छ ।जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको मुख्य आयोजना तथा महिला अधिकार मन्च जाजरकोट र सुरक्षा जालोको सहकार्यमा पहिलो पटक खुला मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगिता यस अघि भदौ २१ गते हुने भनिएपनि विशेष कारणले भदौ १९ गते सारिएको आयोजकको भनाइ छ ।
खलंगाको गैरीखालीमा भदौ १९ गते विहान ११ वजेदेखि सुरु हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाइ ८ हजार ५ सय नगद र प्रमाणपत्र, द्धितीय हुनेलाइ ६ हजार ५ सय र प्रमाणपत्र,तृतीय हुनेलाइ ४ हजार ५ सय र प्रमाणपत्र तथा सान्त्वना हुनेलाइ २ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिने जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए ।
केसीले प्रतियोगितमा सहभागि हुन मौलिकता झल्कने पोषाक तथा वाजा र भाकाको प्रयोग अनिवार्य गरिएको वताए । तीज गीतमा मौलिक रुपमा आफै गीत गाउने वजाउने तथा नाँच्ने चलन हराउदै गएपछि स्थानीय मौलिक कला र सँस्कृतिलाइ जगेर्ना गर्न यो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ ।
स्वस्थ मनोरन्जन, मौलिक सँस्कृति र कलालाइ प्रवद्र्धन गर्ने काममा सहयोग गर्न इच्छुक सवैको सक्रिय सहभागिताको लागि आयोजकले आग्रह गरेको छ । मौलिक तीज गीत तथा नाँच प्रतियोगितालाइ व्यवस्थित रुपमा सन्चालन गर्न प्रतिष्ठानले कोषाध्यक्ष शोभा सिंहको संयोजकत्वमा तीन सदस्य उपसमिति समेत वनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चहानेहरुले प्रतिष्ठानका कोषाध्यक्ष शोभा सिंह, सदस्यहरु साधना केसी र शुस्मीता विस्वकर्मासंग सम्पर्क राख्न पनि आयोजकले सुचित गरेको छ । तीज गीत र नाँच प्रतियोगितामा सहभागि हुन चहानेहरुले मौलिक पहिचान, सँस्कृति र कलाको प्रयोगलाइ विशेष ध्यान दिनु पर्ने कार्यक्रम संयोजक शोभा सिंहले वताइन् ।
उनले प्रतियोगितामा सहभागि हुन चहानेहरुले भदौ १८ गने साँझ ५ वजे भित्र नाम दर्ता गराउनुपर्ने वताइन् । संयोजक सिंहले गीत गाउने वजाउने र नाँच्ने गरि वढीमा पाँच जनाको समुह हुनुपर्ने पनि वताइन् ।


