April 28 - 2024, Sunday१५ बैशाख २०८१, शनिबार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः छेडागाड नगरपालिकालाई

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको कार्कीगाँउमा भएको अन्तरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः छेडागाड नगरपालिकाले जितेको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि उचालेको हो ।

छेडागाड नगरपालिका कार्कीगाँउ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य गरि जम्मा ३१ पदक सहित छेडागाड नगरपालिका प्रथम भएको हो ।
प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य सहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण २ रजत र ६ कास्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । नलगाड नगरपालिकाले १ स्वर्ण, ५ रजत र ६ कास्य जितेको छ भने बारेकोट गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य जितेको छ । त्यसैगरी कुशे गाउँपालिकाले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ ।

जिल्लाका ७ वटा पालिकामध्य ६ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । बजेट अभाव रहेको भन्दै जुनिचादे गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएन । प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा अन्तरपालिका बिच प्रतिस्पर्धा गराइएको थियो ।
जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार जिल्ला स्तरमा उत्कृष्ट खेल प्रतिभा प्रस्तुत गर्ने खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेछन । गत माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जयप्रसाद आचार्यले बताए । उनले खेल संचलनका लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad