प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी दलु रानाका छोरा भारतीय सेनामा छन्, छोरी नेपाली सेनामा। तैपनि उनी सरकारले दिने राहतको पर्खाइमा छन्।
कात्तिक १७ गतेको भुइँचालोले उनको घर खण्डहर बनिसकेको छ। गाउँमा भएको एउटा मात्र घर भत्किएपछि दलु गाउँलेहरूले मिलेर हालेको पालमुनि शनिबारदेखि रात बिताइरहेकी छन्।
‘जागिरमा भएका छोराछोरी तत्कालै आएर सबै व्यवस्थापन गर्न सक्लान् भन्ने छैन, ओत पनि लाग्न नमिल्ने गरी भत्किएको घरबाट केही पनि निकाल्न मिलेको छैन,’ उनले भनिन्, ‘चिसो रातमा न्यानो बनाउने कपडा र खानेकुरा त सरकारले छिट्टै पुर्याइदिए हुन्थ्यो नि।’
भुइँचालो आउँदा उनको घरमा चार जना थिए। घर भत्किँदै गर्दा कोही भागेर ज्यान बचाए। कसैलाई छिमेकीले उद्धार गरेर निकाले। सबैको ज्यान भने जोगियो।
घरमा भएका पशुवस्तु, कुखुरा सबै पुरिएर। खाद्यान्न जति माटोमा मिसियो। लत्ताकपडा, भाँडाकुँडा केही पनि निकाल्न सकेका छैनन् उनको परिवारले।
रिम्नाकै हरिबहादुर रानाको पनि परिवार त जोगियो। तर घरभित्र भएको खानेकुरादेखि लत्ताकपडा सबै पुरियो।
‘परिवारलाई भाग्यवस बाँच्न सफल भयौं, तर तत्काल कसरी पेट भर्ने र न्यानो ओछ्यानमा सुत्ने भन्ने चिन्ताले पिरोलेको छ,’ हरिबहादुरले भने।
दलु र हरिबहादुरका छिमेकी केशर राना र विष्णु रानाको घर पनि खण्डहर बनेका छन्।
उनीहरू चार जनाको घर पूरै तल्लो छेउमा घर भएका छिमेकी बिरे रानाको भने आधा मात्र भत्कियो। आधा बचेको घरमा भएको खानेकुरा ल्याएर शनिबारको दिन उनीहरूले कटाए।
‘नजिकैका चार घर भत्किएर खानेकुरा जति पुरियो, मेरो घरको भत्किन बाँकी भागमा भएको खानेकुरा बचेको थियो,’ बिरेले भने, ‘बचेको चामल, तरकारी र चिया पकाउने सामान हामी सबैले हिजो शनिबारसम्म मिलेर खायौं।’
सरकारले पूर्ण रूपमा व्यवस्थापन भइसक्दासम्म तत्कालका लागि आफूहरूलाई चिसो र भोकबाट जोगाउनुपर्ने उनले बताए।
नगलगाड नगरपालिका–१ चिउरी गाउँका अगुवा युवा हात्तिराम महरले गाउँका १८६ परिवार तत्कालिन व्यवस्थापनको पर्खाइमा रहेको बताए। बालबालिका र वृद्धवृद्धाका लागि पालमुनि भएपनि न्यानो बसाइ बनाउनुपर्ने बताए।
‘गाउँमा भएका कुनै पनि घर बस्न लायक छैनन्, करिब नौ सय जना पालमुनि बस्नुपर्ने अवस्था आएको छ,’ महरले भने, ‘वृद्धवृद्धा र बालबालिका धेरै छन्, न्यानो बसाइ भएन भने त भुइँचालोबाट बचेकाहरूको पनि ज्यान जान सक्छ।’
चिउरीगाउँमा भुइँचालोबाट एकै परिवारका चार जनासहित १३ जनाको मृत्यु भइसकेको छ। जसमा पाँच जना बालबालिका मात्र छन्।
भेरी नगरपालिका–१ रावतगाउँका बिर्मी खड्काको आठ जनाको परिवार तरकारी खेतीका लागि प्रयोग गरिएको प्लाष्टिक टनेलमुनि बसेका छन्।
उनीहरूसँग छिमेकका अरू पाँच परिवार पनि टनेलमै बस्छन्। वस्तीको कतिपय प्रभावितहरू पराल ओछ्याएर बसेका छन्। उनीहरू सबै राहतको पर्खाइमा छन्।
‘हामी सबैका घरमा भएका कपडा, खानेकुरा, भाँडाकुँडा सबै पुरिएका छन्, तत्कालका लागि चाहिने कुरा पठाइदिए हुन्थ्यो,’ बिर्मीले भनिन्।
रावतगाउँमा पनि एकै परिवारका चार जनासहित ६ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्र २९ जनाको मृत्यु भएको छ।
शुक्रबार बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भुइँचालोका कारण जिल्लाभर ९०५ घरधुरी पूर्णरूपमा क्षति भएका छन्।
दुई हजार ७४५ घरहरूमा आंशिक क्षति भएको प्रहरीसँग तथ्यांक छ। आंशिक क्षति भएका घरहरूको विवरण आउने क्रममै रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जनाएको छ।
जिल्लाभर हालसम्म १०५ जनाको भूकम्पमा परी मृत्यु भएको छ।




