प्रवाह संवाददाता । जाजरकोट
वन जोगाउन जाजरकोटको एउटा समुदायिक वन उपभोक्ता समूहले स्थानीयलाई एपी ग्याँस वितरण गरेको छ ।दाउराको खपतले वन विनाश बढेको भन्दै शिवालय गाउँपालिका–१ को चुली सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्याँसका सिलिण्डर र चुलो लगायतका सामग्रीहरु वितरण गरेको हो ।
समूहमा आबद्ध एक सय १५ घरधुरीलाई एक–एक सेट एलपी ग्याँसका सिलिण्डर, चुलो, लाइटर, रेगुलेटर र पाइप लगायतका सामग्री वितरण गरेको समूहका अध्यक्ष धनिराम रानाले जानकारी दिए ।
उपभोक्ताको माग अनुसार एक सय १५ घरधुरीलाई नै एक–एक सेट ग्याँस सिलिण्डर लगायतका सामग्रीहरु वितरण गरिएको हो । समूहमा सल्लाको खोटो संकलन र अन्य लगायतका शीर्षकबाट २१ लाख भन्दा बढी रकम संकलन भएको थियो । सोही रकममध्येबाट ८ लाख २६ हजार रुपैयाँमा उक्त सिलिण्डर, ग्याँस चुलो लगायतका सामग्रीहरु खरिद गरिएको अध्यक्ष रानाले जनाए ।
समूहले वार्षिक कार्यक्रममा नै उपभोक्तालाई ग्याँस सिलिण्डर वितरण गर्ने कार्यक्रम तय गरेको थियो । ‘समूहको खातामा २१ लाखभन्दा बढी रकम थियो, सोही रकममध्ये ८ लाख २६ हजार बराबरको रकमले सिलिण्डर लगायतका सामग्रीहरु खरिद गरौँ’ अध्यक्ष रानाले भने, ‘वन जोगाउने सकिन्छ कि भनेर हामीले उपभोक्तालाई ग्याँस वितरण गरेका हौँ ।’
चुलीका अधिकांश नागरिकले खाना पकाउने र न्यानो लिन दाउराको प्रयोग गर्दै आएका छन् । जसले गर्दा दाउराका लागि रुख काट्नुपर्ने र त्यसले वन फँडानी हुने गरेको छ । यही कारण समूहले उपभोक्तालाई ग्याँस प्रयोग गरेर वन जोगाउन यस्तो रणनीति अपनाएको हो ।
ग्याँस चुलो वितरण गरेसँगै वन विनास जोगिने र उपभोक्ताको स्वास्थ्यसमेत फाइदा पुग्ने समूहको अपेक्षा छ । दाउरा प्रयोगबाट निस्कने धुँवाले श्वासप्रश्वास लगायतका समस्या निम्त्याउने जोखिम हुन्छ । ग्याँस प्रयोग गर्दा धुँवा नआउने र दम रोगबाट पीडित नागरिकलाई राहत हुने उपभोक्ता समूहका अध्यक्ष रानाले बताए ।
चुलीका नागरिकले प्रतिघर वार्षिक २० देखि २५ भारीसम्म दाउरा खपत गर्दै आएका छन् । जसले गर्दा ठूलो संख्यामा वन विनास बढेको छ । ग्याँस वितरणसँगै वन विनास रोकिने समूहको अपेक्षा छ ।