प्रवाह संवाददाता । जाजरकोट
जिल्लाको शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाई सोलार सेट वितरण गरिएको छ । गाउँपालिकाको समन्वय र सहास नेपाल पाइला परियोजनाको सहयोगमा वितरण गरिएको हो । निशुल्क सोलार पाएपछि स्थानिय निकै खुसी भएका छन् ।
सहास नेपालले गाउँपालिकाको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी गाँउपालिका भित्रका ६० विपन्न परिवारलाई सोलार सेट हस्तान्तरण गरेको छ । सोलार हस्तान्तरण गर्दै सहास नेपाल पाइला परियोजनाका कार्यक्रम अधिकृत हरिप्रसाद अधिकारीले अध्यारोमा बसेका विपन्न परिवारलाई उज्यालोको अनुभूति गराउन पाउँदा खुशी लागेको बताए । उनले सोलारको उज्यालोले महिला र बालकालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, ‘बत्ती नहुँदा सल्लाको दियालो बालेर बालबालिका पठनपाठन गर्न बाध्य थिए । सोलार बत्तिले उनीहरूको पठनपाठनमा सहजता हुनेछ र महिलालाई घरायसी काममा सहजता हुनेछ ।’
शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले सहास नेपालले गाउँपालिकामा निकै राम्रो काम गरेको बताए । उनले सहास नेपालले स्थानीयवासीको समस्यालाई मध्यनजर गदै निशुल्क सोलार उपलब्ध गराएकोमा धन्यवाद दिए । एक वर्ष भित्रमा शिवालय गाउँपालिका भित्र विद्युतिकरण गरी सक्ने प्रतिबद्धता व्यक्त गरे । विद्युतिकरण नहुँदा गाँउलेहरु अहिले पनि टुकी र दियालोको भरमा पर्न बाध्य छन् ।