April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

कोरोना महामारी नियन्त्रणका नाममा सकियो साढे ६ करोड

बासुदेव शर्मा । जाजरकोट

कोरोना भाईरस महामारी रोगथाम तथा नियन्त्रणका लागी जाजरकोटका सात ओटा स्थानिय तहले असार मसान्त सम्म साढे ६ करोड रुपैया खर्च गरेको पाईएको छ । चैत्र देखि असार सम्म ( गत आर्थिक बर्ष ) क्वारेन्टाइन ब्यवस्थापन, स्वास्थ्य समाग्री खरीद र राहत वितरणमा जिल्लाका सात ओटा स्थानिय सरकारले ६ करोड ६८ लाख ६६ हजार दुई सय ६६ रुपैया खर्च गरेका हुन् । साउन यताको हिसाब सार्वजनिक हुन बाँकी छ ।

कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले दुई करोड २५ लाख ७२ हजार ४ सय ९५ रुपैया, भेरी नगरपालिकाले एक करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैया र नलगाड नगरपालिकाले ५८ लाख १ सय ७३ रुपैया खर्च गरेका हुन् ।
त्यस्तै, शिवालय गाँउपालिकाले ७० लाख, बारेकोट गाउँपालिकाले ७५ लाख ६० हजार ९ सय, जुनीचाँदे गाउँपालिकाले ५४ लाख ४५ हजार र कुसे गाउँपालिकाले ४० लाख खर्च गरेको पालिकाले जनाएका छन् । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक बर्षको बार्षिक प्रगति समिक्षा कार्यक्रममा पालिकाहरुले उक्त खर्च विवरण पेश गरेका हुन् ।

जाजरकोटका सात वटै पालिकाले अस्तब्यस्त क्वारेन्टाईनमा जथाभावी तरीकाले करोडौ वजेट खर्च गरेको भन्दै स्थानियले खर्च विवरण पारदर्शी तरीकाले सार्वजनिक गर्न माग गरेका छन् । स्थानिय सरकारले कोरोना भाईरसको नाममा नत स्थायी संरचना निर्माण गरे नत अस्थायी क्वारेन्टिन ब्यवस्थित भए तर पनि ठुलो मात्रामा रकम खर्च गरेको पाईएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । ‘कोरोना महामारी नियन्त्रण तथा रोकथामको नाममा फजुल खर्च बढी गरिएको, केही सामाग्रीको मुल्य तथा परिणाम समेत बढी राखेको पाईएको छ’, नागरिक अगुवा शाहले भने ‘जनप्रतिनिधीहरु सँगको मिलेमतोमा केही कर्मचारीका लागि महामारी कमाउने माध्याम भएको छ ।’
पालिकाले महामारी नियन्त्रण तथा रोकथाम लगाएतका शिर्षकमा विपन्न परिवारलाई खाद्यान्न बितरण, प्रचार प्रसार, सावुन, मास्क, आरडिटी परिक्षण, गर्भवती महिलालाई भिडियो एक्सरे, औषधि खरीद क्वारेन्टिनमा रहेका नागरिकहरुका लागी बेड बिस्तरा लत्ता कपडा, खाना नास्ता, विरामीलाई राहत वितरण, गाडी भाँडा लगाएतमा खर्च गरेका छन् ।

सवै भन्दा धेरै छेडागाड र भेरी नगरपालिकाले बजेट खर्च गरेका छन् । भारत लगायतका स्थानबाट नागरिकहरु जिल्लामा भित्रिएकोले क्वारेन्टाइनमा खाना र अन्य ब्यवस्थापनमा ठुलो रकम खर्च भएको जनाएका छन् । जिल्लाका विभिन्न ३७ स्थानमा क्वारेन्टाइन बनाईएको थियो । अन्य सवै ठाँउका क्वारेन्टाइन हटाईएको भएपनि भेरी नगरपालिकाको त्रिभुवन माविमा रहेको क्वारेन्टाइन जिल्ला बाहिरबाट आएकाहरुलाई राख्ने गरिएको छ । २३ जना अहिले पनि क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेलाई खाना, नास्ता र सरसफाई सामग्री, बेड विस्तरा लगायतका कुराको ब्यवस्थापन गर्ने गरिएको छ । तर धेरै क्वारेन्टाइनमा खानेपानी र शौचालयको अभाव, एउटै कोठामा २५ जना भन्दा बढी कोचिएर बस्नु पर्ने, छाना चुहिने, मच्छड र उडुस लाग्ने, खाननास्ता गुणस्तरहिन हुने गरेको गुनासो आउने गरेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad