राजेन्द्र कार्की,
आगामी मंसिर ४ गते संघिय संसद र प्रदेश सभा सदस्य पदका लागि एकै पटक निर्वाचन मिति घोषणा सँगै जाजरकोटमा उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु हुन थालेको छ । सत्ता गठबन्धनका दलहरु आगामी निर्वाचनमा तालमेल गरेरै चुनाव लड्ने सहमति गरिसकेका छन् । संघिय संसदका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र तोकिएको छ । जिल्लाबाट निर्वाचित हुने तीन पदका लागि कुन दलबाट को उम्मेदवार होला र कसले बाजी मार्ला निकै चासोका साथ हेरिएको छ । अझ भनौ सत्ता गठबन्धन विच चुनावी तालमेल हुने निश्चित जस्तै भएपछि कुन सिटमा कुन दलको भाग पर्ला र त्यो दलको पनि कुन उम्मेदवारले टिकट पाउला जनस्तरमा चर्चा शुरु भैसकेको छ ।
सामाजिक सञ्जालहरुमा प्रकट भएका निकटस्थहरुका कुराहरुलाई आधार मान्ने हो भने एमालेबाट संघिय संसदमा निरज आचार्य चुनाव लड्ने निश्चित प्रायः देखिन्छ । प्रदेश क मा डम्बर सिंह र हेरम्बबहादुर शाह मध्य एक जना र प्रदेश ख मा करवीर शाही र खिमबहादुर शाही मध्य एक जनाले टिकट पाउने संभावना बढी छ । स्थानिय तह जस्तै एमालेमा धेरै टिकटका लागि खुराफात हुँदैन । सत्ता गठबन्धनको तालमेलका कारण पनि धेरै उम्मेदवारले आँट नै गदैनन् । त्यही भएर पनि जनाधार भएको उम्मेदवारलाई अघि सार्दा एमालेमा धेरै विवाद आउँदैन र सजिलै उम्मेदवार छनौट हुने देखिन्छ ।
तर सत्ता गठबन्धनमा सिट बाँडफाँडको भागबन्डा मिलाउन भने निकै सकस पर्ने देखिन्छ । जसरी स्थानिय तहमा विभिन्न दल र नेताहरुको टिकडम र जालझेल देखियो त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव यस पटक पनि देखिनेछ । स्थानिय तह भाग बण्डा गर्दा मतभारका आधारमा भन्दा ब्यक्ति केन्द्रित भएर निर्णय गरियो जसका कारण गठबन्धन फरक ढंगले अघि बढ्यो । कतै गठबन्धन नै भएन भने भएकामा पनि घातअन्र्तघात बढी नै देखियो । त्यसको समिक्षा सम्बन्धित दलहरुले अवश्य गरे होलान र आगामी दिनका चुनौतिहरुको बारेमा पनि राम्रै सँग जानकार होलान ।
खास गरि अघिल्लो चुनावमा जुन पार्टीले जितेको छ सोही पार्टीले उक्त स्थानिय तह लिने र बाँकीमा भागबण्डा गर्ने नितिगत निर्णयमा सत्ता गठबन्धनका दलहरु विच सहमति भएको थियो । तर नलगाडमा माओवादी नेतृत्व काँग्रेसले स्वीकार गर्न नसकेको, बारेकोट र कुशेमा माओवादीले काँग्रेस नेतृत्व स्वीकार गर्न नसकेको कुरा सतहमा प्रकट भैरहेका थिए । यद्यपी, प्रदेश स्तरीय संयन्त्रले काँग्रेसले जितेका कुशे र बारेकोट काँग्रेसलाई, नलगाड र जुनीचाँदे माओवादी केन्द्रलाई दिने र एमालेले जितेका भेरी नेकपा समाजवादीलाई, शिवालय माओवादीलाई र छेडागाड काँग्रेसलाई दिने निर्णय गरेको थियो । यो निर्णय हुनमा पनि ब्यक्तिलाई नै प्रधान मानेर गरिएको थियो ।
यद्यपी, कुशे, भेरी र शिवालय गठबन्धनको निर्णय विपरीत चलखेल शुरु भयो केही नेताहरु कम्मर कसेर लागे । कुशेमा काँग्रेस नेतृत्वलाई स्वीकार गर्न नसक्ने बरु समाजवादी सँग गठबन्धन गरेर चुनाव लड्ने कुशेका माओवादीको निर्णयमा नेताहरुले पनि साथ दिएपछि काँग्रेस एक्लै र माओवादी केन्द्र तथा समाजबादीको तालमेल भयो । शिवालयमा माओवादीका उम्मेदवारलाई जिताउन सकिदैन अध्यक्ष पद काँग्रेसलाई नै दिनु पर्छ भन्ने काँग्रेस नेताहरुको एकोहोर रटान र माओवादी नेताहरु पनि काँग्रेसले साथ नदिए जित्न गाह्रो हुन्छ कि भनेर ससंकित भएपछि माओवादी शिवालयबाट ब्याक भयो र भेरी दावी गर्यो । माओवादीलाई पनि जनाधार नभएको शिवालय लिनु भन्दा जनाधार भएको सदरमुकामको पालिका भेरी लिन बढी नै फाइदा मान्यो र समाजवादीलाई लात हान्ने निर्णयमा पुग्यो ।
यस विचमा नेपाली काँग्रेस कर्णाली प्रदेशका उपसभापति तथा काँग्रेसका भेरीका उम्मेदवार सनतकुमार कार्कीले माओवादीलाई उपप्रमुख दिएर आफुले प्रमुख लिन निकै कोशिस गरे तर उनको एक्लो प्रयास निरर्थक सावित भयो । समाजवादीलाई भेरीबाट अलग गराइसकेपछि काँग्रेस र माओवादी विच बैठक बस्यो । दुवै तर्फका शिर्ष नेताहरु बसे । काँग्रेस नेताहरुले एकोहोरो शिवालय दावी गरिरहे तर भेरीको विषयमा मौन बसे । दावी नै गरेनन् । त्यही बेला भागबन्डाकै विषयमा कार्यदलमा रहेका माओवादीका एक शिर्ष नेता सँग यो पंक्तिकारको कुरा भएको थियो । उनले यसो भनेका थिए ‘हामी भेरी र शिवालय दुवै काँग्रेसलाई दिन सक्दैनौ । राजनितिमा गिभ एण्ड टेक हुन्छ । भेरी दिन पनि तयार नै छौ, शिवालय जिताउने ग्यारेन्टी लिए । तर काँग्रेस नेताहरु कोही पनि भेरी माग्दैनन् । समस्या काँग्रेस भित्रकै हो । हामी समस्या होइनौ ।’ आखिर उनले जे भनेका थिए । त्यही भयो । भेरी माओवादीका भागमा पर्यो । आफ्नै पार्टीको अन्र्तघात र गठबन्धन गरेको दल काँग्रेसकै घातका कारण भेरी माओवादीले गुमायो ।
खासगरी सनत कार्कीलाई हुन नदिन र रोक्न पुरै आफ्नै पार्टीका शिर्ष नेता लागेको लुकेको छैन, छिपेको छैन । एउटा ब्यक्तिलाई रोक्न र छेक्नकै लागि भेरीका आम कार्यकर्ताको भावना कुल्चियो नेतृत्वले त्यसको सजाय समयले अवश्य दिनेछ । १३ वडा मध्य ७ वडा जित्ने ठाँउमा पनि हामीलाई नेतृत्व चाहिन्छ भनेर दावी गर्न नसक्ने निर्लज्ज नेतृत्वबाट के आशा र अपेक्षा गर्ने ? स्वार्थपुर्ण र कपट पुर्ण जुन खेल खेलियो स्थानिय तहको निर्वाचनमा भागवण्डामा त्यसको असर यो निर्वाचनमा पनि पर्नेछ । खास गरि काँग्रेसका केही नेतालाई शिवालय कुनै हालतमा लिनु पर्ने थियो लियो जसको मारमा समाजवादी पर्यो । माओवादीले पनि मौकामा चौका हानिहाल्यो शिवालयको सट्टा भेरी लिएर तर सफल हुन सकेन आफ्नै कारणले र नेताहरुका कारणले ।
संघ र प्रदेश सभाको सिट बाँडफाँडमा पनि भोली केन्द्रका नेताले त्यसै नगर्लान भन्न सकिन्न । टिकट पाउला भनेर ठुलो मुुख ब्वाएर बसेका तपाइहरुको भाग अरुले नै खोस्दा कस्तो होला कहिले सोच्नु भएको छ ?
संघिय संसदको साँसद पदमा गठबन्धनबाट माओवादीका शक्तिबहादुर बस्नेत र काँग्रेसका राजिव विक्रम शाह दुवैको दावी छ । चुनाव जित्न सक्ने लोकप्रिय र स्थानिय तहको जनमतका आधारमा राजिवले पाउनु पर्ने काँग्रेसको दावी छ भने नितिगत निर्णयका आधारमा पनि अघिल्लो निर्वाचनमा जितेका आधारमा शक्तिले पाउने माओवादीको विश्वास छ । प्रदेश सभा क मा काँग्रेस र माआवादी दुवै पार्टीमा आकाँक्षी धेरै छन् । काँग्रेसका वेदराज सिंह, सनत कार्की, मुक्तीप्रसाद आचार्य, मैना कार्की लगायतका नेताहरु आकाँक्षी छन् भने माओवादीका गणेशप्रसाद सिंह, रामदीप आचार्य, ढकवीर राना लगायतका नेताहरु आकाँक्षी छन् । त्यस्तै नेकपा समाजवादीका कमान खड्का पनि आकाँक्षी छन् । प्रदेश सभा ख मा काँग्रेसका खडक विसी, इलमबहादुर शाही, दीपकजंग शाह, रामछाया शाही लगायतका नेताहरु आकाँक्षी छन् । माओवादी केन्द्रबाट यज्ञ खत्री लगायतका नेताहरु र समाजवादीबाट कृष्ण विसी आकाँक्षी छन् ।
यति धेरै नेताहरुको नेतृत्वले कसरी ब्यवस्थापन गर्ला ? भागबण्डा कसरी मिलाउला धेरैले चासोका साथ हेरिरहेका छन् । नेताहरुमा पनि गुटको ब्यवस्थापन कसरी होला ? यी तमाम प्रश्नहरुको जवाफ खोज्न केही समय कुर्न पर्ने देखिन्छ । पहिलो कुरा टिकट नै सवै थोक हो भन्ने भ्रम र गठबन्धन गर्ने वित्तिकै चुनाव जितिन्छ भन्ने भ्रमबाट पनि नेताहरु मुक्त हुन जरुरी छ । स्थानिय तहको निर्वाचनले धेरै पाठ सिकाइसकेको छ । अरुलाई थापेको पासो आफैलाई नपरोस । शुभकामना ।।


