राजेन्द्र कार्की । जाजरकोट
विहिवार देखि लगातार परेको हिमपात र पानीले चिसो बढेपछि विद्यालय बन्द भएका छन् । जिल्लाका ग्रामिण भेगको यातायात सेवा ठप्प भएको छ । चिसो वढेपछि सर्वसाधारणको जनजीवन कष्टकर भएको छ । चिसो अत्याधिक बढेको छ । कठ्याङ्गरिने चिसोले विद्यार्थी विद्यालयमा आउन नसकेपछि विद्यालय खुल्न नसकेको स्थानियले बताएका छन् ।
जिल्लाका अधिकांश विद्यालय विहिवार र शुक्रवार खुल्न सकेनन् । बर्षात र हिमपातकै कारण खलंगा–पाँचकाटिया–ढिमे– पैक, थलह–जुनीचाँदे, कुशे, बारेकोट लगायतका सडकमा यातायात सेवा संचालन हुन सकेको छैन । बाटोमा हिउँ जमेको छ । यातायात सेवा ठप्प छ कुशे ५ का अशोक मल्लले बताए । हिमपातका कारण किसान, मजदुर, वालवालिका र जेष्ठ नागरिकहरुको दैनिकी कष्टकर भएको बारेकोट गाँउपालिका वडा नम्बर ९ का वडाध्यक्ष लालभक्त सिंहले बताए । उनले लेखतिर वाक्लो हिमपात भएका कारण अत्यधिक चिसोको र सर्वसाधारणको दैनिकी कष्टकर वनेको वताए ।
चिसो वढेपछि गाउँवस्तीमा किसानहरुलाइ घाँस दाउरा गर्न, गाइवस्तु चराउन, र मेलापातका काममा जान समेत कठिन भएको छ । हिउँदमा हिमपात हुँदा खुसी हुने किसान यसपाली भने दिक्क भएका छन् । एक पटक हिमपात हुँदा बाली सप्रिन्थ्यो पटक पटक हुँदा बालीनालीमा समेत असर गर्छ कुशे ५ का कर्णबहादुर थापाले भने ।
शनिवार बेलुकाबाट मौसममा सुुधार आउने भएको छ ।


