राजेन्द्र कार्की । जाजरकोट
र्जीर्ण झोलुङ्गे पुलबाट खसेर जाजरकोटमा एक युवकको ज्यान गएको छ । नलगाड नगरपालिका–५, ऐरारी निवासी २८ वर्षीय राजकुमार शाहीको ज्यान गएको हो । मृतक शाही भलिवल खेलाडी भएकोले नलगाड नगरपालिकाको दल्लीमा भईरहेको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा खेलाडीहरुलाई कोच दिन गएका थिए ।
खेल सकेर घर फर्कने क्रममा नलगाड नगरपालिका ५ सिर्के र वारेकोट ८ लैखम गाउँ जोडने पुलबाट खसेर शाही गंभिर घाइते भएका थिए । पूलवाट खसे पछि उनको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उनलाई नगर अस्पताल दल्लीमा लगिएको थियो । नगर अस्पतालमा उपचार संभव नभएपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएकोमा उनको बाटोमै सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रमुख डिएसपी सन्तोष रोकाले जानकारी दिए ।
द्धन्दकालमा २०५८=५९ सालतिर तत्कालिन विद्रोही माओवादीले सुरक्षाकर्मीलाई आवतजावत रोक्न उक्त पूलका आधा भन्दा वढी डेक झिकेर क्षती पुरयाएका थिए । उक्त पुलमा सर्वसाधारण समेत आवतजावतमा कठिनाई भए पछि स्थानीयले काठका फलैक राखेर आवतजावत गर्न कामचलाउ भए पनि दुई दशक सम्म मर्मत गरिएको थिएन । उक्त काठहरु पनि सडे पछि उक्त पुल तर्न निकै जोखिम थियो ।
दुई दशकमा यो पूलवाट खसेर धेरैजना नागरिक घाईते भएको र विकट वारेकोटमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने १० भन्दा वढी घोडा खच्चडहरु मृत्यु भएको नलगाड नगरपालिका वडानं ४ का अध्यक्ष वद्री पन्तले वताए ।
विगत २ दशक देखि जोखिममा परेको उक्त पुल मर्मत गरिदिन धेरै पटक नलगाड नगरपालिका र वारेकोट गाउपालिका, जिल्ला स्तरिय नेताहरुलाई गुहार्दा पनि मर्मत नभएको स्थानीय शिक्षक रत्नबहादुर सिंह वताउंछन् ।
२५ वर्ष पहिले दुर्गम क्षेत्र विकास समितिले निर्माण गरेको झोलुंगे पुलको सम्बन्धित निकायले समयमै मर्मत नहुँदा युवकको अकालमा ज्यान गएको झोलुङ्गे पुलको क्षेत्रमा लामो समय काम गरिसकेका ईन्जिनियर निरज शाहले बताए । उनले देशभर १० हजार पुलको दिगो मर्मतको दरिलो ब्यबस्थापन नहुँदा सम्म यस्ता दुर्घटना दोहोरिरहने दुखद सम्भावना रहेको बताए ।