December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

एक दिनका लागि कर्णालीको मन्त्री बनिन् कालिकोटकी १७ बर्षिया मोनिका

राजेन्द्र कार्की । जाजरकोट

नरहरीनाथ ३ कालिकोटकी १७ वर्षिया मोनिका कुमारी बुढा एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेकी छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले एक दिनका लागि मोनिकालाई आफ्नो पदभार हस्तान्तरण गरेका हुन ।

किशोरीहरुको नेतृत्व क्षमता विकास र शसक्तिकरणका लागि अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा मोनिकालाई प्रतिनिधीमुलक रुपमा एक दिने मन्त्रीको जिम्मेवारी दिईएको हो । बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ ।

पदभार ग्रहण गर्दै मोनिकाले मन्त्रालयले गर्ने कार्य तथा जिम्मेवारीहरुबारे जानकारी लिईन । उक्त अवसरमा उनले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामबारे जानकारी लिइन् । मोनिकाले हाल मन्त्रालय मार्फत भईरहेका कार्यहरु सम्बन्धित महाशाखाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन । उक्त निर्देशनलाई सम्बन्धित अधिकारीहरुले कार्यान्वयनमा अगाडी बढाउने प्रतिबद्धता गरेका थिए ।

सोही अवसरमा मोनिकाले कालिकोटमा अझै सम्म पनि यस वर्षको कक्षा ११ को पढाई शुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी सम्बन्धित महाशाखालाई प्रश्न गर्नुभयो । सो प्रश्नको जवाफ दिदै शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेशहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्री ज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गरे ।

परिवर्तनका लागि संवाहक समुहको सदस्य रहेकी मन्त्री मोनिकाले विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह उच्च रहेको र यसले व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने वातावरण सिर्जना गर्न निर्देशन दिईन । उनले कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने बाध्यता हटाउन निर्देशन दिइन ।

प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुली भन्नुहुन्छ, ‘गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हो ।’

सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदाहरणिय बनिरहनका लागि अनुरोध गरे ।

सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले मोनिकालाई साँच्चिकै मन्त्री बनेको देख्न पाईयोस भनेर शुभकामना दिए । यस बर्ष एसईई उर्तिण गरेकी मोनिकाले मन्त्रीको अनुभव र कर्णालीका बालिका एवं किशोरीहरुका सवालहरुलाई यहांहरु समक्ष राख्नका लागि जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा आयोजकलाई धन्यबाद दिईन । यसले मलाई र म जस्ता बालिकाहरुलाई आफ्नोे लक्ष्यमा अझ लगनशिल भएर लाग्नमा प्रेरित गर्ने छ । यस्तो सहज एवं आत्मविश्वासपूर्ण वातावरणमा सहजीकरण गरिदिनुभएकोमा संलग्न सबैप्रति आभार प्रकट गर्दछु उनले भनिन ।
गल्र्स टेक ओभर देशभरका ७ जिल्लामा ५० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा ५० पदको नेतृत्व लिनुहुनेछ । पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२३ देखि सुरु हुनेछ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल हुनेछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad