राजेन्द्र कार्की । मछाईना
चारैतिर हरियाली । उत्तरतिर दन्त लहर जस्तै सेताम्य हिमाल । चराहरुको चिरचिरयाहट । यस्तो शान्त सुन्दर वातावरण मन नपराउने सायदै कोही होलान । यस्तो स्वर्ग जस्तै स्थान हो बडामालिका क्षेत्र । भेरी नगरपालिका वडा नम्वर ६ मछाइनामा अवस्थित बडामालिका मन्दिरमा श्रावण शुक्ल त्रियोदशी देखि पुर्णिमा सम्म भब्य मेला लाग्ने गर्दछ । मेलामा खास गरी आफ्नो मनोकाँक्षा पुरा गर्न वर माग्न र मनोकाँक्षा पुरा भए बडामालिका अर्थात ठुली मालिकालाई सम्झना आफ्नो गक्ष्य अनुसार धजा, भेटी, बलि लिएर आउने गर्दछन् । निसन्तान दम्पतिहरुले सन्तान माग्न र छोरा नहुनेले छोरा बर माग्न आउने गर्दछन् । मन्दिरमा भाकल गरेर वर मागे पुरा हुने विश्वास छ ।
मेलामा नाचगानका सयौ बोकाको बली दिने गरिएको छ । भेरी नगरपालिका २ रिसाङ्गका उपेन्द्र कार्की दुई दशक देखि नियमित मेला आउँदै गरेका छन । मालिकामा मनले चिताएको कुरा मागे पुरा हुने बताउँछन् । स्थानिय महिलाहरु मालिकामा गौजो कटाउन समेत आउने गरेका छन् । गाई गोरु दाम्लोमै मरेभने गैजो कटाउनु पर्ने धार्मिक विश्वास छ । गौजो कटाउँदा महिलाहरु दाम्लामा बाँधिएर घाँस मुखमा च्यापेर बाँ भन्दै मन्दिर परिक्रमा गरेपछि पुजारीले दाम्लो काटिदिने र पाप मोक्ष हुने धार्मिक विश्वास छ । सुशिक्षा, सुस्वास्थ्य, धन र सन्तान प्राप्तिका लागि मालिका मन्दिरमा वर माग्न आउनेको संख्या बढ्ने गरेको मन्दिरका पुजारी गोविन्द घर्तीले बताए । उनले मन्दिरमा दर्शन गर्नका लागि जात्राको बेला १ हजारभन्दा बढी सर्वसाधारण आउने र अन्य समयमा दैनिकरूपमा सर्वसाधारण श्रद्धालु आउने र पूजा–अर्चना गर्ने गरेको बताए । मेरो इच्छा पूरा गरे बोका दिउँला भनेर भाकल गरेका मानिस बोकाको बली चढाउन चतुर्दशीको दिन मन्दिर जाने गर्दछन् भने श्रावण पूर्णिमाको दिन मालिका मन्दिरमा पूजा–अर्चना हुने र मेला लाग्ने पूजारी घर्तीले बताए । यस बर्ष मात्र तीन सय बढी बोकाको बली दिईएको उनले बताए ।
समुद्र सतह देखि २ हजार ४ सय ९० मिटर उचाइमा रहेको मालिका क्षेत्र प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिकोणले निकै उत्कृष्ट र महत्वपुर्ण मानिन्छ । सदरमुकाम खलंगा वजारदेखि १९किलोमिटरको दुरीमा रहेको मालिका क्षेत्र चर्चित ठुलीमालिका देवीको वासस्थान भएको कारण मात्र नभएर प्राकृतिक सुन्दरताको खानी भएकाले पनि उत्कृष्ट पर्यटकीय क्षेत्र वन्दै गएको स्थानीय चन्द्रबहादुर वलीले वताए । सरकार र अन्य सरोकारवालाहरुले गतिलो चासो दिएर यस क्षेत्रको प्रवद्र्धन गर्न सके वर्षेनी लाखौं पर्यटक भित्रयाएर आर्थिक लाभ लिन सकिने प्रचुर सम्भावना रहेको उनले वताए । उनले मालिकाको डाँडामा पुग्ने जो कोहिले पनि धार्मिक हिसावले शुद्ध मन र मानसिक हिसावले फ्रेस दिमाग वनाएर फर्किने गरेको वताए । मालिका पुग्ने सवै मानिसहरुले निकै आनन्द र खुसीको अनुभति गर्ने गरेको उनले वताए ।
जाजरकोटको मालिका पुग्नु र गोरखाको मनकामना पुग्नु एकै भएको वलीको भनाइ छ । सदरमुकाम खलंगावाट चार घन्टाको पैदल दुरी र गाडीको यात्रावाट डेढ घन्टाको दुरीमा रहेको मालिका क्षेत्र गोरखाकी मनकामना देवी मनकामनाको उत्पति स्थल पनि हो । गोरखाको मनकामना मन्दिरमा जस्तै जाजरकोटको मालिका मन्दिरमा पनि मगर जातिका पुजारी रहने व्यवस्था छ । मनकामना र मालिकालाइ दुइ वहिनीको रुपमा पुजिने गरिन्छ । मालिका क्षेत्र पर्यटकीय रुपले निकै उत्कृष्ट रहेको छ । साढे ६ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यका वेला दुइ वहिनी मालिका र मनकामनालाइ त्यति वेलाका राजाहरुले अन्याय पुर्ण व्यवहार गरेको भन्दै जाजरकोटको भुमि त्यागेर मनकामना गोरखा गएको किम्वदन्ती छ । मनकामनाले जाजरकोटको भुमि छोड्दा अव उर्पान्त माईती (शाह ठकुरी) को मुख देख्न नपरोस भनेर श्राप दिएर गएको हुनाले अहिले पनि जाजरकोटी राजाका सन्तानहरु अर्थात शाह ठकुरीहरु मनकामनाको दर्शन गर्न जादैनन् ।

जाजरकोटको मालिका क्षेत्रमा जाने हो भने मनकामनाको उत्पति भएको ठाउ भेरेमा नौवटा मुलहरु जाग्ने गरेको त्यहिको मन्दिरमा मनकामनाको पुजाआजा गर्ने गरिएको छ । माथि अग्लो पहाडमा मालिका देवीको पुजा आजा गर्ने गरिएको छ । मालिका मन्दिर नजिक कालिका देवीको मन्दिर पनि छ । तल्लो छेउ अर्थात भेरेको नौमुलेमा मनकामना देवीको मन्दिर र पानीको दुर्लभ ताल अनि त्यहि माथि डाँडाको भीरमा खस्नै लागेको जस्तो देखिने अजंगको पहाड माथि मालिका देवीको मन्दिर हेर्दै मनमोहक लाग्ने छ । त्यहि पहाड या ठुलो चटटानकोे उचाइवाट टाढा टाढा सम्मको मनोरम दृस्यहरुको वजार देख्न सकिन्छ । स्थानीय सरकारले मालिका क्षेत्रमा आगुन्तुक पाहुनाहरुको लागि अतिथि गृह र वनभोज खानका लागि वस्ने घर पनि वनाइदिएको छ ।
घना जंगल र पर पर सम्म देखिने सेता हिमसृंखलाहरुको मनोरम दृस्य र गहिरो आस्थाकी देवी मालिकाको वर्षाैं पुरानो जीर्ण मन्दिरले सुन्दरता र ऐतिहासिक एवम धार्मिक महत्व वढाएको छ । साउन शुक्ल त्रियोदशीको दिन देखि पुर्णिमाको दिन सम्म पुजा अर्चना गरिने र चर्तुदशीका दिन ठुलो मेला लाग्ने गरेको छ । बडामालिका अजंगको पहाड संगै ठुला घाँसे मैदानहरुले पनि सिंगारिएको छ । मालिका क्षेत्र जाजरकोटका लागि मात्र नभएर मुलुककै राम्रो पर्यटकीय गन्तव्य वन्ने सम्भावना देखिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । पुर्वमा सिस्ने हिमाल, उत्तरमा कुसे र च्याखुरे हिमाल अनि दक्षिणतिर रुकुम सल्यानका हरिया फाँटहरु, आसपासमा छरिएर रहेका साना साना वस्तीहरु र वरीपरीको रमाइलो वाक्लो जंगल क्षेत्रले कोहि पनि पर्यटकको मनले एक छिन नभुलेर सुखै पाउँदैन नगरप्रमुख घर्तीले भने प्रचार प्रचारको अभाव र सरोकारवालाहरुले उचित प्रर्वद्धनको पहल नगरेका कारण ओझेलमा परेको मालिका क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि स्थानीय सरकारले आवश्यक पहल गरिरहेको छ ।
जिल्ला भित्र र वाहिरका सर्वसाधारणहरुका लागि मात्र नभएर विदेशी पर्यटकहरुका लागि समेत खोज र मनोरन्जनको आकर्षक पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना वोकेको मालिका क्षेत्रको विकास र प्रवद्र्धनका लागि भेरी नगरपालिकाले विशेष गुरु योजना तयार गर्न लागेको नगरप्रमुख घर्तीले वताए । उनले मालिका क्षेत्रलाइ जाजरकोटको मात्र नभएर नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउनका लागि आफुहरुले पुर्वाधार निर्माण एवम अन्य संरचना तयार गर्न मालिका पर्यटन क्षेत्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत निर्माण गरिसकेको वताए । सडक, विजुली, सन्चार, सुविधा सम्पन्न मालिका भ्यु टावर, मालिका पहाडको घेरावार, रिसोर्ट , पार्क, पिकनिक स्पट लगाएतका पुर्वाधारहरु निर्माण गरेर मालिकालाइ नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफुहरुले वजेट र योजनाको तर्जुमा गर्ने काम सुरु गरिसकेको खोजी गरिरहेको नगरप्रमुख घर्तीले वताए । मालिका क्षेत्रमा सुविधा सम्पन्न पुर्वाधारहरु निर्माण गर्नुका साथै पर्यटकहरुका लागि होम स्टेको पनि व्यवस्था गर्ने र यसका लागि स्थानीय जनताहरुसंग सहकार्य गरिने प्रमुख घर्तीको भनाइ छ । भेरी नगरपालिकाले मालिका देवीको महिमा र मालिका मेलाको महत्वबारे स्थानिय पाठ्यक्रममा समेत समावेश गरेपछि विद्यार्थीहरु समेत अवलोकन भ्रमणमा जाने गरेका छन् ।



