प्रवाह संवाददाता । जाजरकोट
भेरी नगरपालिकाले नयाँ पाठ्यक्रमबारे जानकारी दिने र पाठ्यक्रम अनुसार शिक्षण सिकाई र मूल्यांकन प्रणाली संचालन गर्न नगरभित्रका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि पाठ्यक्रम प्रवोधीकरण कार्यशाला गरेको छ । पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारीले सहजीकरण गरेको कार्यशालामा शिक्षण विधि तथा मुल्यांकन सम्बन्धि आवश्यक जानकारी दिईएको थियो । पाठ्यक्रम अनुसार शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने र पाठ्यक्रमले निर्धारण गरेको मापदण्ड अनुसार मूल्याकंन प्रणाली संचालन गर्नु पर्ने पाठ्यक्रम अधिकृत अधिकारीले बताउनुभयो । सवै शिक्षकले अनिवार्य रुपमा पाठ्क्रमको अध्ययन गरेर अध्यापन प्रक्रिया अघि बढाउनु पर्ने उहाँले बताउनुभयो ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ शैक्षिक बर्ष २०७७ मा कक्षा १, ६ र ११ मा लागु गरिएको थियो । २०८० मा कक्षा ५, ८ र १० मा लागु गरेपछि विद्यालय तह १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु हुनेछ । लेटर ग्रेडिङ्ग पद्धति अनुसार मूल्यांकन गर्ने गरिएको छ । आगामी शैक्षिक सत्र देखि नयाँ पाठ्यक्रम अनुसार मूल्यांकन प्रद्धति अबलम्बन गर्न भेरी नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत अमृत पुनले निर्देशन दिए । हाल सम्म नयाँ पाठ्यक्रमबारे प्रवोधिकरण कार्यक्रम नगरेको नगरपालिकाले आगामी दिनमा नियमित रुपमा शिक्षकहरुलाई आवश्यक पर्ने ज्ञान, सीप प्रदान गर्न सक्रिय रहने शिक्षा अधिकृत पुनको भनाई छ ।
भेरी नगरपालिकाको स्थानीय पाठ्यक्रम (कक्षा १–८) निर्माणको विषयवस्तु तथा आवश्यकता पहिचान र विद्यालय तहको नयाँ पाठ्यक्रम, स्थानीय विषयबस्तु, पहिचान, आधारभुत तहको पाठ्यक्रमको मस्यौदा लेखन कार्यको लागि सरोकारवाल सँग अन्र्तक्रिया गरेको छ । पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारी स्थानिय पाठ्यक्रम निर्माणका लागि सहजीकरण गर्नुहुनेछ ।