स्थानिय विषयको अध्यापन विनै सकिन थाल्यो शैक्षिक सत्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
सरकारले चालु शैक्षिक बर्ष २०७८ देखि कक्षा ६ मा नयाँ पाठ्यक्रम लागु गरेको छ । नयाँ पाठ्यक्रम अनुसार सात ओटा विषय समावेश गरिएको छ । नेपाली, गणित, अंग्रेजी, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र मातृ भाषा वा स्थानिय विषय अध्ययन गराउनु पर्ने पाठक्रममा उल्लेख गरिएको छ । तर जाजरकोटका कुनै पनि विद्यालयले मातृ भाषा वा स्थानिय विषय अध्यापन गराउने गरेका छैनन् ।

अन्य विषयको अध्यापन भएपनि उक्त विषयको पाठ्यक्रम र पाठ्पुस्तक तयार हुन नसक्दा पठनपाठन नभएको हो । कक्षा ६ मा ६ ओटा मात्र विषय अध्यापन गरेर शैक्षिक सत्र सकिन थालेको विद्यार्थीको भनाइ छ । ६ ओटा विषय मात्र पढाई हुने गरेको त्रिभुवन मावि खलंगामा कक्षा ६ मा अध्ययनरत छात्रा आकृति शाहीले बताईन । उनले सात विषय हुने बारे आफुलाई कुनै जानकारी नभएको बताइन । सरहरुले जे पढाउनु हुन्छ त्यही पढ्छौ । परीक्षा पनि ६ वटा विषयको मात्र हुन्छ अर्को विषय पनि भएको बारे हाम्रो कक्षाका कसैलाई थाह छैन उनले भनिन ।

मातृ भाषा वा स्थानिय विषयको पाठ्यक्रम तयार गरि लागु गर्ने काम स्थानिय सरकारको हो । आफ्नो पालिका भित्र एकै खालको पाठ्यक्रम लागु गर्नु पर्नेमा स्थानिय सरकारले त्यस तर्फ ध्यान दिन सकेका छैनन् । स्थानिय विषय अन्र्तगत मातृभाषा, स्थानिय कला, संस्कृति, ज्ञान, सीप, प्रविधि, पेशा र ब्यवसाय अभिमुखिकरण सम्बन्धि विषयबस्तु समेट्न सकिने उल्लेख गरिएको छ । शिक्षक गणेश अधिकारीले स्थानिय विषयको पाठ्यक्रम तथा पाठयपुस्तक नै तयार नहुँदा पठनपाठन हुन नसकेको बताउँछन् ।

पाठ्क्रम र पाठ्यपुस्तक निर्माण सम्बन्धि आवश्यक दक्षता नहुँदा समस्या भएको हो । भेरी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख अमृतबहादुर पुनले स्थानिय विषयको पाठ्यक्रम तयार पार्न स्थानिय सरकारले आवश्यक बजेट विनियोजन नगर्दा गोष्ठी समेत गर्न नसकिएको बताए । त्यस्तै शिवालय गाँउपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख मनबहादुर बस्नेतले पनि आवश्यक बजेटको अभावमा स्थानिय विषयको पाठयक्रम तयार हुन नसक्दा पढाइ हुन नसकेको बताए । शिक्षाविद्, शिक्षक, प्रधानाध्यापक, जनप्रतिनिधी लगायतका सरोकारवाला सवै मिलेर स्थानिय विषयको पाठ्यक्रम बनाउनु पर्नेमा बनाउन नसकिएको उनले बताए । उनले उक्त विषयको पाठयक्रम तथा पाठ्यपुस्तक तयार नहुँदा सम्म अन्य ऐच्छिक विषय अध्यापन गराउन सुझाए । प्रति हप्ता पाठ्यभार ४ र एक सय पुर्णांक तोकिएको स्थानिय विषय पढाइ नहुँदा पाठयक्रमले निर्धारण गरेको उद्देश्य समेत पुरा नहुने देखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेश मल्लले पनि जिल्लाभर स्थानिय विषयको पाठयक्रम तयार हुन नसकेको स्वीकार गरे । उनले सवै स्थानिय सरकारले आवश्यक बजेट सहितको जिम्मा दिए पाठ्यक्रम तथा पाठयपुस्तक निर्माणमा सहजीकरण गर्न सकिने बताए । स्थानिय सरकार र पाठ्क्रम विकास केन्द्रको लापरवाहीले गर्दा नयाँ पाठ्यक्रमको एउटा विषयको अध्ययन हुन नसकेको भेरी नगरपालिका ३ का अभिभावक जनक केसीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad