राजेन्द्र कार्की । जाजरकोट
बडादशैको अवसरमा शनिवार भएको मैत्रीपुर्ण फुटबल खेलमा भेरी नगरपालिका विजयी भएको छ । जिल्ला अदालत तथा जिल्ला हुलाक कार्यालयको टिमलाई भेरी नगरपालिकाको टिमले ० का विरुद्ध ४ गोलले फुटबलको उपाधी जितेको हो । नगरपालिकाका बरुण बस्नेतले ३ गोल र मनिक बटालाले १ गोल गरेका थिए । बिपक्षी खेलाडीले डिबक्स भित्र फल गरेपछी खेलको १२ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बरुणले पहिलो गोल गरेका थिए । खेलको ३५ औ मिनेटमा बरुणले नै दोस्रो गोल र हाफ टाइम पछि ५९औ मिनेटमा तेस्रो गोल गर्दै ह्यटि्रक गरेका थिए । खेलको ७१ औ मिनेटमा नगरपालिकाका मनिकले अर्को गोल थपेका थिए ।
भेरी नगरपालिका ३ थाप्ले स्थित त्रिभुवन माविको खेल मैदानमा भएको फुटबल खेलमा खसी बाजी राखिएको थियो । कर्मचारीहरु आफैले पैसा संकलन गरेर खसी बाजी राखेका थिए । खसी नगरपालिकाले जिते पनि पिकनिकमा सवै खेलाडीलाई सहभागी गराईएको थियो । ८० मिनेट खेलाइएको खेल निकै रोमाञ्चक रहेको रेफ्री मनोज शाहले बताए । नगरपालिका टिमका खेलाडीले ४ गोल हान्दा पनि अदालत र हुलाक टिमका खेलाडीले एक गोल पनि गर्न सकेनन् । दशै तथा तिहारको अवसरमा कर्मचारी विच रमाइलो गरौ भनेर मैत्रीपुर्ण फुटबल खेलको आयोजना गरिएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।