April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

समृद्ध कुशे बनाउने पहिलो चरणका काम पुरा–अध्यक्ष बस्नेत

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरीचन्द्र बस्नेत कमै उमेरमा अध्यक्ष पदमा चयन हुने युवाको रुपमा परीचति हुनुहुन्छ । जनता माझ निरन्तर सम्पर्कमा आइरहने जनप्रतिनिधिको रुपमा उहाँ चिनिनु हुन्छ । उहाँले अध्यक्ष पदमा चुनिएर आएपछि हाल सम्मको अवधिमा निर्वाचनताका जनतासँग गरेका प्रतिबद्धता के कति पूरा गर्नु भयो र गाउँपालिकालाई समृद्ध बनाउन के कस्ता कदम चाल्नु भएको छ यसै सेरोफेरोमा रहेर सहकर्मी सहदेव बस्नेतले अध्यक्ष बस्नेत सँग गरेको कुराकानीको अंश ः

कुशे गाउँपालिकाको अध्यक्षमा निर्वाचन भएपछि निर्वाचनताका जनतासामु गर्नु भएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

झन्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मैले गाउँपालिकाकोे मुहार परिवर्तनका लागि समृद्ध पालिकाकोे नारा लिएर मतदाताको घरदैलोमा पुगेको थिए । मलाई मेरो घोषणा पत्र र मेरो काम गर्न सक्ने क्षमतालाई मूल्यांकन गर्दै पालिकावासीले मतदिएर पठाए । पक्कै पनि संघीयतापछिको पहिलो स्थानीय सरकार भएकै कारण स्थानीय सरकार सञ्चालन ऐन, नियम, नीति तथा कार्य्विधि बनेर आउन ढिला भयो । म अध्यक्षका रूपमा निर्वा्चित भएर जिम्मेवारी सम्हालेपछि स्थानीय तहले निर्माण गर्नु पर्ने त्यस्ता ऐन, नियम तथा नियमावली निर्माण गर्नै समय लाग्यो। यस अर्थमा निर्वाचनका बेला गरेका प्रतिबद्धता सवै पूरा गर्ने कुरा भएन । तर मैले समृद्ध कुशे गाँउपालिका बनाउने पहिलो चरणका काम पुरा गरिसकेको छु । बाँकी प्रतिबद्धता मेरो कार्यकालभित्र पूरा हुने विश्वास दिलाउँछु ।

यस अवधिमा पालिकावासीले महसुस गर्ने काम केही भएका छन् ?

जब म अध्यक्ष भएँ त्यसपछि पालिकामा भएको स्रोत र साधनको उचित सदुपयोग गरी यहाँका जनताको जीवन स्तर उकास्नका लागि बिभिन्न खाले योजनाहरु कार्वान्वयन गरे । जस्तै ः हामीले हाम्रो वडाका सम्पूर्ण क्षेत्रमा सडक सञ्जालले जोडी सकेका छौँ अब ती सम्पूर्ण सडकको स्तरउन्नोती गर्ने योजनाका साथ अघि बढेका छौँ । जाजरकोट जिल्लाकै निकै पिछडीएको पालिका भएतापनि यहाँ बिभिन्न ठाउँमा खानेपानीका धारा, सिचाई कुलो नहर, विद्यालय भवन, विद्यालयमा शिक्षक दरवन्दीको व्यवस्थापन गरेका छौं । हामीले अत्यन्तै यस्तै खाले बिकास निर्माणको कामका लागि आबश्यक बजेट जुटाउनका लागि हामीले केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरी राखेका छौँ ।

पालिकाको विकासका लागि के कस्ता योजना अगाडि सार्नु भएको छ ?

पालिका भित्रको आर्थिक, सामाजिक, शैक्षिक अवस्था सुधारका लागि मैले बिभिन्न योजनाहरु अघि सारेको छु । पालिकाका कुनै पनि वडाको आफ्नो भवन थिएनन, भवन निर्माणको काम सम्पन्न गरिएको छ । वडाको हरेक गाउँमा सडक सन्जालले जोडीएको छ । कुनै पनि वडामा सचिव थिएनन सबै वडामा सचिवको ब्यबस्था गरीएको छ । सबै वडामा बिज्ञान र प्रबिधि र ईन्टरनेटको प्रयोग गरी आधुनीक तरीकाले वालमैत्री पठनपाठनको व्यवस्था गरेका छौं । वडामा हुने बिकासको काम गुणस्तरीय होस भन्ने उदेश्यले पालिकामा पर्याप्त प्राविधिकको व्यवस्थापन गरेका छौं । नगरका सबै वडा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापनलगायत कामलाई गति दिइएको छ ।

पालिका वासीको अपेच्छा र तपाईको काम गराइमा तालमेल मिलेको छ त ?

पक्कै पनि जनताको अपेक्षा र हाम्रो सीमीत स्रोत शाधनले पक्कै पनि सवै कुराको अपेक्षा पुरा गर्न नसकेता पनि हामीले जनताले परीवर्तन र विकासको अनुभुत हुने गरि काम गरीरहेका छौं । सवै वडामा प्राथमीकताका आधारमा विभिन्न विकास का योजनाहरु सन्चालनमा ल्याइरहेका छों ।

स्थानीय सरकारको मुल नारा ‘घर घरमा सिंहदरबार’ तँपाईका जनताले पाएनन भन्ने गुनासो आएको छ नी ?

स्वभावीक रुपमा जनताका अपेक्षा र हाम्रो स्रोत शाधनमा तालमेल नखादा कतिपय गुनासोका लागि मात्रै गुनासो पनि आएका छन् । यद्यपी हामीले यस्लाई अत्यन्तै शुश्म तरीकाले अध्ययन गरी रहेका छौँ । सत्य कुरा के हो भने अहिले अध्यक्ष देखि लिएर सम्पूर्ण जनप्रतिनिधिहरुका टेबलमा पुगेका जनताको काम रोकीएको भन्ने छैन् । म जनताको काम आफु पनि रोक्दीन र अरु कसैले रोक्छ भने उस्लाई छुट हुन्न । तर, काम गर्दा गर्दै पनि हामीले सबै वडामा केन्द्रीय बिद्युत पुराउन सकेका छैनौँ तर तयारीमा छौँ । सबै वडामा ईन्टरनेट र प्रबिधिको पहुँच पराएका छौँ , सबै वडामा कर्मचारी देखि लिएर आबश्यक स्रोत र सामाग्री पनि पु¥याएका छौँ । मलाई लाग्छ बिगतका दिनमा भन्दा जनताले पक्कै पनि सहज र छिटो सेवा सुबिधा पाएको अनुभुती गरेका छन् ।

यहाँ नकारात्मक सोच भएका जनताहरुको कारण यहाँ बिकास र सम्बिृद्धी ल्याउन सकिन्न । बिकासको गति अघि बढाउनका लागि यहाँका जनताको चिन्तन सोच र बिकास प्रतिको सोच परीवर्तन गरी कुशे गाउँपालिकालाई सफल र सम्बृद्ध बनाउ सक्छौँ । सकारात्मक सोच र सकारात्मक चिन्तन ल्याउनका लागि केही समय त पक्कै पनि आउँछ तर हामीले बिभिन्न खाले योजनाहरु अघि बढाउँछौँ ।

पालिका अध्यक्ष भएदेखिको यो अबधिसम्म आउँदा तपाइँका अनुभव अनुसार के बजेट खर्च गर्दैमा बिकास हुँदो रहेछ ?

बजेट रुपी पैसा खर्च गर्दैमा बिकास पक्कै पनि सम्भव छैन् यो असम्भव कुरा हो । तर, बजेट नभएपनि बिकास गर्न सकिँदैन् । तसर्थ बजेट र र सकारात्मक बिचार खर्च गरेमा मात्रै बिकास सम्भव छ । कसरी भने, यदी तँपाईसँग सकारात्मक सोच छ सकारात्मक बिचार छ । भने मात्रै यहाँले बजेटको सदुपयोग सहि ठाउँमा गर्नु हुन्छ । जनताको आबश्यकता र चाहाना अनुसार गर्नु हुन्छ । त्यसैले यदी सकारात्मक सोच र आबश्यक बजेट भएमा पालिकालाई छोटो समयमै बिकसित र सम्बृद्धी बनाउन सकिन्छ ।

गाउँपालिकाकोे बिकासका लागि तँपाईले आफ्नो बाँकी कार्यकाल भित्र के—के गर्नु हुन्छ ?

मैले सबै भन्दा पहिले कुशे गाउँपालिकाकोे समग्र विकासको सम्भाव्यता अध्ययन सुरु गरेको छु । हामीले यहाँको गरीबी न्यूनीकरण गर्न र यहाँका युवायुबत्तीलाई रोजगारीका लागि बिभिन्न उद्योगधन्दाहरु सञ्चालन गर्ने प्रकृयामा छौँ । त्यसको लागी हामीले वडा नम्बर ५ सुन्तला जोको केन्द्र नै रहेको छ । गत बर्ष हामीले कृषीका लागि एक करोेड २० लाख रुपैँया बजेट बिनियोजन गरेका थियौँ यस बर्षदेखि नै यहाँका जनताहरुले तरकारी बाहीरबाट किनेर खानुपर्ने अबस्था हटिसकेको छ । यहाँका उर्वर भुमीमा खेती गराउनका लागि बिभिन्न खाले लगानी गरीरहेका छौँ यसबाट यहाँ अबका दिनमा भोकमरीको समस्या हट्छ । आगामि दिनमा आर्थिक विकासका विभिन्न क्रियाकलापहरु सनचालनमा ल्याउने छों ।
आगामी आर्थिक बर्षका लागि प्रस्तावित कार्यक्रममा मुख्य के कुरामा जोड दिनु भएको छ ?

यो हाम्रो ५ बर्षे कार्यकालको अन्तिम बजेट हो । हामीले विगतमा सुरु गरेर पुरा नभएका र कतिपय जनता सँग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यक्रम र आयोजनालाई निरन्तरता दिएका छौ । सडक सञ्जालमा सवै वडा जोडिएको छ । अव ति सडकको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेका छौ । आगामी बर्ष कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौ । त्यसका साथै शिक्षा, कृषि, पर्यटन, पुर्वाधार विकास लगायतमा विशेष लगानी गरेका छौ ।

पर्यटनको सम्भावना बोकेको तपाइँको पालिकामा के पहल गर्नुभएको छ पर्यटन प्रवद्र्धनका लागि ?

हो बास्तवमा हाम्रो कुशे गाउँपालिकामा कुशे पाटन, वहुमुल्य पत्थर लगायतका पर्यटकीय स्थलहरु रहेका छन। प्रशीद्ध मष्ट देवता, झादेवता यहाँ रहेका छन । ठुला उद्योगका लागि हामीले सम्भाव्यता अभ्ययन गरीहरेका छौँ । यहाँको अर्छानी र टालेगाउँमा रहेका वहुमुल्य पत्थर खानीमा प्रशोधन उद्योग सन्चालनका लागि समन्वय गरिहेका छों । हामीले त्यस्को लागि भुगोल बिद ल्याएर सम्भाव्यता अध्ययन गर्ने प्रकृयामा छौँ ।
हाम्रो पालिकाको सबैभन्दा सम्भावना भएको पर्यटकीय क्षेत्र हो । यहाँको आर्थिक जीवन स्तर उकास्न पर्यटकीय क्षेत्रलाई अघि बढाउनु पर्ने देखिन्छ । हामीले यस्लाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले लागि परेका छौँ । हामीले पर्यटकीय क्षेत्रलाई बिकास गरी प्रत्येक महिनामा हजारौँ पर्यटकहरु निम्ल्याउने छौँ । त्यस्को लागि हामीले मालिका मास्टर प्लान बनाएर अघि बढिरहेका छौँ । यहाँ होम स्टेको पनि ब्यबस्था गरीने छ । कृर्षी, उद्योग र पर्यटन नै हाम्रो पालिकाको सम्बिृद्धीको पाटो हो ।

अन्तमा केहि भन्न बाँकी छ भने ?

प्रवाह अनलाइन डिजिटल पत्रिका र तपाइ मार्फत यस गाउँपालिकाले निर्माण गरेका र गर्न लागेका कार्यक्रमहरु सार्वजनिक गरि सबैका बिचमा प्रसारण दिने जुन अवसर गर्नुभयो । म त्यसका लागि तपाँई र प्रवाह अनलाइनलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनु पर्दछ कुशेगाउँपालिकाको नागरिक पनि हरेक बिकास निर्माणका काममा सचेत हुनुपर्दछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad