राजेन्द्र कार्की । जाजरकोट
जुनीचाँदे गाँउपालिकामा एउटा पनि बैक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य छन् । विभिन्न आयोजनाको रकम निकासा, कर्मचारी तलब भत्ता, सामाजिक सुरक्षा भत्ता लगायतका रकमको चेक साट्न जिल्ला सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको स्थानियको गुनासो छ ।
सवै सेवा सुविधा गाँउमै उपलब्ध गराउने भनेर संघिय संरचना अन्र्तगत स्थानिय सरकारको अवधारण अघि सारिएपनि जाजरकोट दुर्गम यो गाँउपालिकामा अझै स्थानियले गाँउमै सिंहदरबार आएको अनुभुति गर्न नपाएको जुनीचाँदे १ का विरेन्द्र शाहीले बताए । सामान्य बैकिङ्ग कारोवारका लागि पनि दुई दिन पैदलै हिडेर सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको उनको भनाई छ । ‘भर्खर ट्याक खोलेका सडक बर्षातका कारण बन्द छन् । दुई दिन पैदल हिडेर सदरमुकाम गएर चेक साट्नु पर्ने बाध्यता छ’ उनले भने ‘स्थानिय सरकारको पहिलो कार्यकाल सकिन लाग्दा पनि नागरिकले सास्ती पाउन छोडेका छैनन् । जुनीचाँदेवासीका दुःखका दिन अझै हटेनन् ।’
प्रशासनिक केन्द्रको टुङ्गो नलागेका कारण सदरमुकामबाटै सेवा दिदै आएको गाँउपालिकाले सरकारले अस्थायी केन्द्र तोकेको जुनीचाँदेको मजकोट परालेबाट केन्द्रिकृत सेवा प्रवाह गर्न थालेको ८ महिना वितेको छ तर अहिले सम्म बैक स्थापना नहुँदा जुनीचाँदेवासी चेक सटाउन खलंगा आउन बाध्य छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे तीन बर्षपछि जुनीचाँदेको परालेबाट सेवा दिन थालेका छौं तर बैक नहुँदा बैकिक कारोवारका लागि सदरमुकाम धाउनुको विकल्प छैन । खाता खोल्न र सामान्य भुक्तानीका लागि पनि सदरमुकाम नै जानु पर्छ कार्यबाहक अध्यक्ष शिवा आचार्यले भनिन–‘हालसम्म जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिनुपर्ने हाम्रो कुनै रहर नभएर बाध्यता थियो, प्रशासनिक केन्द्रको बिवाद सर्वोच्व अदालतमा पुगेको छ, तत्काल कार्यसम्पादनका लागि सरकारले राजपत्रमा प्रकाशित गरेको स्थान परालेबाट अस्थायी रुपमा भएपनि सेवा प्रवाह गर्न खोजीरहेका छौं । तर बैक नहुँदा फेरी पनि हामी समस्यामै छौ’
सुरक्षाको कारण दर्साउदै बैक पराले जान मानिरहेको छैन ।अस्थायी रुपमा भएपनि केन्द्रिकृत तरिकाले परालेबाटै सबै सेवाहरु प्रवाह गर्न अस्थायी प्रहरी पोष्ट स्थापनाको प्रकृयालाई अगाडी बढाएपनि सुनुवाइ नभएको कावा अध्यक्ष आचार्यको भनाइ छ । गाँउपालिकाको केन्द्र सानाखोला गर्ने कि लुहादह राख्ने विवाद सर्वोच्च अदालतमा करीब चार बर्ष देखि थाति छ । ६ महिना भित्र केन्द्र तोके सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान छ । जुनीचाँदे गाँउपालिकाको केन्द्र ६ महिना भित्र तोक्न नसक्दा विवाद बल्झिएको थियो । गाँउपालिका अध्यक्ष लगायतले लुहादह केन्द्र बनाउने दुई तिहाई बहुमतले निर्णय गरेको दावी गरिरहँदा सानाखोला केन्द्र हुनु पर्छ भन्नेहरुले किर्ते हस्ताक्षर गरेर बहुमत पुरयाईएको हुँदा निर्णय बदर गर्न माग गदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए । फैसला नहुँदा केन्द्र विवाद कायमै छ । केन्द्र विवादले लामो समय देखि सदरमुकामबाटै गाँउपालिकाको प्रशासनिक कार्य हुँदै आएको थियो ।
तर सरकारले गाँउपालिकाको केन्द्र अस्थायी रुपमा जुनीचाँदे २ पराले तोकेको थियो । परालेमा पनि सेवा संचालन गर्न गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी सहमत थिएनन् । उनी गाँउपालिकाको केन्द्र लुहादह नै बनाएर छाड्ने अडानमा थिए । यद्यपी, स्थानिय सरकारको नेतृत्वकर्ता गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुस सहित गत बर्ष अख्तियारले रंगेहात पक्राउ गरेपछि उनी निलम्बनमा छन् । केन्द्रविवादले सदरमुकाममै अड्किएको सिंहदरबार गाँउपालिका अध्यक्षको घुस काण्डले थप अन्योल र अस्तब्यस्त बनाएपछि गाँउपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यको पहलमा परालेबाट सेवा प्रारम्भ गर्ने गरि काम थालिएको प्रमुख प्रशासकिय अधिकृत दीपककुमार शाहीले बताए । ढिलै भएपनि गाँउपालिकाबाटै सेवारम्भ गरिएपछि स्थानिय खुसी भएका छन् । तर बैक नहुँदा साह्रै समस्या परेको शाहीले बताए ।