राजेन्द्र कार्की । जाजरकोट
सरकारले गरीवहरुलाई जनता आवास कार्यक्रम मार्फत घर बनाउन लगाएर पैसा नदिएपछि उनीहरु थप ऋणको भारी बोक्न बाध्य छन् । घर बनाएको एक बर्ष विति सक्दा पनि रकम भुक्तानी नदिएपछि जनता आवास कार्यक्रममा छनौटमा परेका विपन्न परिवार समस्यामा परेका हुन् ।
साहु ऋण गरेर जेनतेन घर बनायौ तर सरकारले दिने भनेको रकम दिएन । ऋणको ब्याज बढेको बढ्यौ छ भेरी नगरपालिका १३ कुदुकि विमला विकले भनिन–‘साहु काढेर घर बनाएँ तर रकम भुक्तानीका लागि कार्यालय धाउँदा धाउँदा बर्ष दिन वित्यो अझै पाईएको छैन । साहुले पैसा मागेको माग्यै छन् । आफु सँग पैसा छैन कसरी तिरुँ ?’ उनले पहिलो र दोस्रो किस्ता गरि एक लाख ८४ हजार आठ सय रुपैया भुक्तानी पाएकी छन् । उनले तेस्रो र अन्तिम किस्ता बापत पाउनु पर्ने एक लाख ५१ हजार दुई सय रुपैया पाउन सकेकी छैनन् ।
भेरी नगरपालिका ४ बोहराकी सरस्वती मल्लले पनि जनता आवस कार्यक्रमले दिने भनेको तेस्रो र अन्तिम किस्ताको रकम नपाएको गुनासो गरिन । घर थिएन । सरकारले घर बनाइदिने भयो भनेर हामी निकै खुसी भएका थियौ तर सवै रकम भुक्तानी नदिदा आफुहरु समस्यामा परेको उनले गुनासो गदै भनिन–‘कार्यालयले दिला र तिरौला भनेर छिमेकी सँग ब्याज तिर्ने गरि लिएको ऋण अहिले सम्म तिर्न सकिएको छैन । ब्याज बढेको बढ्यै छ । अहिले सम्म रकम भुक्तानी पाएका छैनौ ।’
उनीहरु जस्तै गत आर्थिक बर्षमा जनता आवास कार्यक्रम मार्फत घर बनाएका जाजरकोटका सवै एक सय ७३ परिवारको हालत र अवस्था उस्तै छ । शुरुमा संघिय सरकारले शहरी विकास मन्त्रालय मार्फत शुरु गरेको यो कार्यक्रम पछि प्रदेश मातहतको भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मा लगाएपछि कार्यक्रम अलपत्र परेको हो । प्रदेश सरकारले बजेट विनियोजन नगर्दा विपन्न बर्गले रकम भुक्तानी पाउन नसकेका हुन् । आर्थिक बर्ष ०६६÷६७ मा पुर्वाधार विकास कार्यालय मार्फत घरबार विहिन विपन्न दुई सय परिवारका घर बनाउने भनेर जनता आवास कार्यक्रम शुरु गरिएको हो ।
कार्यालयका अनुसार त्यस मध्य २७ परिवार सम्झौता गर्न नआएपछि एक सय ७३ परिवारले घर बनाउन सम्झौता गरेका थिए । सम्झौता गरेका सवै परिवारले घर निर्माण सम्पन्न गरिसकेको कार्यालय प्रमुख इन्जिनियर प्रविण कार्कीले बताए । उनका अनुसार १० परिवारले अहिले सम्म कुनै रकम भुक्तानी लिएका छैनन् । एक सय ६३ परिवारले पहिलो र ६५ परिवारले दोस्रो किस्ता वापतको रकम भुक्तानी लिईसकेका छन् । उनले सवैलाई भुक्तानी दिन करीव साढे तीन करोड रुपैया आवश्यक पर्ने बताए ।
पहिलो किस्ता बापत ८४ हजार, दोस्रो किस्ता एक लाख ८ सय, तेस्रो किस्ता एक लाख १७ हजार ६ सय र अन्तिम किस्ता ३३ हजार ६ सय गरेर जम्मा तीन लाख ३६ हजार भुक्तानी दिने गरि सम्झौता भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ । जनता आवास कार्यक्रमको नाममा जनतालाई थप ऋणको भारी बोकाउने काम भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । रकम भुक्तानीका लागि सम्बन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।