प्रवाह संवाददाता
भन्सार छली चोरी ल्याएको बोलेरो जीपलाई आबश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, जाजरकोटले राजश्व कार्यालयमा पठाएको छ । गत १८ माघमा नियन्त्रणमा लिएको बोलेरो जीपलाई कारबाहीको सिफारिस सहित जिल्ला प्रहरी कार्यालय, जाजरकोटले आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँकेमा पठाएको हो ।
नलगाड नगरपालिका–७ काललागेमा चेकिङ्ग गर्ने क्रममा नेपाल प्रहरीले रा.१ च. ३८२ नम्बरको सेतो रङ्गको बोलेरो जीपलाई गत माघ १८ गते नियन्त्रणमा लिएको थियो । उक्त जीपको च्यासिस नम्बर र ईन्जिन नम्बर शंकास्पद भएको ठहर गर्दै अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाखा सामाखुशी काठमाडौंबाट आएका प्राविधिक विशेषज्ञहरुले गरेको परिक्षणबाट सक्कल ईन्जिन नम्बर र च्यासिस नम्बर हटाएर नक्कली ईन्जिन र च्यासिस नम्बर प्रयोग गरेको पत्ता लागेको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।
प्राविधिक विशेषज्ञ टोलीको परिक्षण प्रतिवेदन अनुसार आबश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, जाजरकोटले उक्त बोलेरो जीप आन्तरिक राजश्व कार्यालय, कोहलपुर बाँकेमा पठाएको जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिएका छन् । उक्त बोलेरो जीप कहाँबाट कसरी चोरी भएको हो ? भन्ने बिषयमा प्रहरी अनुसन्धान भईरहेको डिएसपी थापाले बताएका छन् ।