बर्षेनी सताउँछ पहिरोले जाजरकोटवासीलाइ

राजेन्द्र कार्की । जाजरकोट

घटना १

गत असार २५ गते राती जाजरकोटको बारेकोट ४ जिरीगाँउको सार्कीटोलमा गएको पहिरोमा परि पाहुना आएका सहित १२ जनाको मृत्यु भयो । कुशे ९ चौराटाबाट पाहुना आएका चार र दुई घरका आठ सहित १२ जना पहिरोमा पुरिए । चार जना घाईते भए । सोही दिन बारेकोट ६ धुमाखोलामा आएको बाढीले दुई जना बेपत्ता बनायो । बेपत्ता अझै फेला पर्न सकेका छैनन् । सोही दिन गाँउपालिकाका विभिन्न वडामा पहिरोले ५६ घर बगायो । बाढीपहिरोको त्रासका कारण एक हजार ५५ परिवारका ६ हजार पाँच सय सात जना विस्थापित भएका छन् । बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका मानिस विस्थापित भएर स्थानिय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । पिडित परिवार अहिले पनि भोकभोकै छन् ।

bhumi-sanrakshyan

घटना २ ः

दुई बर्ष अघि भेरी नगरपालिका ३ ठाँटी नजिक गएको पहिरोले दुई घर पुर्दा आठ बालबालिका सहित नौ जनाको ज्यान लियो । विहान खसेको पहिरोले घर पुर्दा डेरा गरि बस्ने नौ जनाको ज्यान गयो ।

घटना ३ ः

केही बर्ष अघि जिल्लाको भेरी नगरपालिका ४ बोहरा गाँउमा पहिरोले घर बगाउँदा सात जनाको ज्यान गयो । मध्य रातमा घरका सवै परिवार सुतिरहेको बेला एक्कासी खसेको पहिरोले पाहुना आएका सहित सात जनाले ज्यान गुमाए ।

घटना ४ ः

नलगाड नगरपालिकाको डाँडागाँउ, करुवा, लहँ लगायतका गाँउमा ठाँउ ठाँउमा पहिरो खसेको र सोही पहिरोको कारण झुम्रे खोलामा आएको बाढीले गत बर्ष आठ सय ३२ रोपनी र यस बर्ष दुई सय रोपनी धानखेत बगायो । पाँच ओटा घर, एक ट्रस व्रिज, तीन दर्जन घट्ट र केही मिल बगायो । नलगाड ३ करुवामा पहिरोले गाँउ घेरे पछि बस्ती नै जोखिममा परेको । गाँउमा सडक खन्नका लागि जथाभावी डोजर चलाउँदा गाँउ नै बग्ने खतरा छ । बस्ती निकै जोखिममा छन् । अहिले सम्म पहिरोले कुनै क्षति नपुरयाएका ति गाँउमा डोजरबाट बाटो खन्न थालिएपछि गत बर्ष देखि निरन्तर पहिरो खस्ने र धानखेत कटान गर्ने क्रम तिव्र भएको छ ।

घटना ५ ः

बाटोमा हिड्दा हिड्दै एक्कासी पहिरो खसेपछि सोमवार बारेकोट गाँउपालिका ९ निवासी खिमबहादुर विसीकी २२ बर्षिय छोरी टीका विसी गंभिर घाईते भएकी छन् । घरबाट सदरमुकाम खलंगा आउँदै गर्दा नलगाड ५ स्थित गेरेनी भिर नजिक सुख्खा पहिरो खस्दा उनको टाउकोमा गंभिर चोट लागेको छ । घाईते टीकाको अवस्था गंभिर भएपछि उनलाई उपचारका लागि गाँउपालिकाको पहलमा हेलिकोप्टरबाट सुर्खेत पठाईएको छ ।

यी केही प्रतिनिधिमुलक पहिरोका घटना हुन । यस बर्ष मात्र जाजरकोटमा पहिरोले १३ जनाको ज्यान लिईसकेको छ भने पाँच जना बेपत्ता छन् । पहिरोले सदरमुकाम स्थित जाजरकोट–डोल्पा सडकको ठाँटी नजिक र बाहुनवाडा नजिक ठुलो पहिरो गएको छ । तत्काल उक्त पहिरो नियन्त्रण नगरिए सडक नै अवरुद्ध हुन सक्ने अवस्था छ । पहिरोकै कारण जिल्लाका दर्जनौ ग्रामिण सडक बन्द भएका छन् । डोजर चालक नै ईन्जिनियर भएर खनेका सडकले बाढी पहिरोको जोखिम बढाइरहेको स्थानियको भनाई छ । बर्षातको समयमा धेरै परिवार पहिरो खस्ने त्रासले रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले सुनाए ।

बर्षेनी पहिरो जान्छ । धन, जनको ठुलो क्षति हुन्छ । पहिरो गए लगत्तै केही समय जिल्लाका सरोकारवाला निकाय सक्रिय हुन्छन् । जोखिममा रहेका बस्ती नै सुरक्षित स्थानमा सार्ने सम्मका निर्णय गरिन्छन् तर बर्षायाम सकिने वित्तिकै ति सवै कागजमै सिमितत हुन्छ । पुनः त्यही नियति दोहरिन्छ नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने ‘पहिरोको उच्च जोखिमा रहेका सिल्पाचौर, चिउरी, औलगुर्ता, करुवा लगायतका गाँउको बस्ती नै स्थान्तरणका लागि विगतका बर्षहरुमा सरकार सँग माग गरेर पठाएपनि कुनै सुनुवाई हुन सकेन । मानिसहरु जोखिम मोलेरै त्यही बस्तीमा बस्न बाध्य छन् ।’ यस बर्ष पनि बारेकोटका धेरै गाँउ पहिरोले छियाछिया पारेकोले धेरै परिवार विस्थापित भएका छन् । बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली झिकाएर अनुसन्धान गर्ने जिल्ला विपद ब्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

गरीबीकै कारण धेरै परिवारले भिरालो जोखिमयुक्त जमिनमा घर बनाउने गरेका र त्यस्तै ठाँउमा पहिरोको जोखिम धेरै हुने गरेको छ । पहिरोको जोखिमा अति विपन्न र दलित समुदायका मानिसहरु पर्ने गरेका छन् । दुई बर्ष अघि सदरमुकाममा गएको पहिरोमा ज्यान गुमाउने नौ जना मध्य ८ जना दलित थिए । यस बर्ष बारेकोटमा ज्यान गुमाउने १२ जना नै दलित समुदायका हुन् । डोजरे विकासले पनि पहिरोको जोखिम बढाईरहेको छ । डिजाईन स्टमेट विना अन्धाधुन्ध रुपमा डोजरले पहाडमा खनेका सडकले पहिरोको जोखिम बढाइरहेका छन् । स्थानिय सरकार डोजरले बाटो खन्न ठिक्क छन् । त्यसबाट निम्तिन सक्ने जोखिम रोकथामका कुनै योजना छैनन् नागरिक अगुवा शाहले भने ।

जथाभावी सडक निर्माण , घर निर्माणका वेला पहिरोको जोखिमलाइ ख्याल नगरिनु, तिव्र वनविनास, सडक निर्माण गर्दा जथाभावी डोजरको प्रयोग, जोखिम युक्त भिरोलो जमिनमा घर बनाउनु आदि कारणले पहिरोको जोखिम बर्षेनी बढिरहेको जिल्ला समन्वय समितिका संयोेजक मनबहादुर रावलले बताए ।

 

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya