राजेन्द्र कार्की । जाजरकोट
हेम एण्ड माया फाउन्डेसन नेपालले जाजरकोटको बारेकोटमा गत साता गएको पहिरोमा पिडित परिवारका लागि ५० हजार सहयोग गरेको छ । आइतवार गाँउपालिकाको खातामा उक्त रकम सहयोग रकम जम्मा भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिएका छन् । हेम एण्ड माया फाउन्डेसनका संचालक हेम थापा र माया थापालाई सहयोगको लागी गाँउपालिका अध्यक्ष शाहले धन्यवाद दिएका छन् ।
तेहथुम जिल्ला घर भई हाल अमेरीकाको न्युयोर्क बस्दै आएका थापा दम्पतिले विपत्तिको बेला मानवीय भावनाले सहयोग गरिएको बताएका छन् । राहत रकम जुटाउनका लागि फाउन्डेसनका कोषाध्यक्ष समेत रहेकी जमुना राईले विशेष पहल गरेकी थिईन । समाजसेवी थापा दम्पतिले स्थापना गरेको यो परोपकारी संस्थाले मानविय विपत्ति, कोरोेना महामारी लगायतका बेला संकटमा परेका नागरिक तथा समुदायलाई सहयोग गदै आएको छ ।
बारेकोटमा गत २५ असारमा गएको पहिरोमा परि बारेकोट ४ सार्कीटोलका ११ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । बारेकोट गाँउपालिकाका विभिन्न वडाका एक हजार ५५ परिवार विस्थापित भएर स्थानिय विद्यालयमा आश्रय लिएर बसेका छन् । उनीहरुलाई खानेकुराको अभाव भएको गाँउपालिका अध्यक्ष शाहले बताए ।