राजेन्द्र कार्की । जाजरकोट
जिल्ला अस्पताल जाजरकोटमा नवौ तहको स्वास्थ्य सेवा ब्यवस्थापकको दरबन्दी सिर्जना गरिएको पाँच बर्ष विति सक्यो । सोही तहको कन्सल्टेन्ट पेडियाट्रीसियन, कल्सल्टेन्ट अब्स्टे«टिक्स एण्ड गाइनोकोलोजिष्ट, कन्सल्टेण्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सल्टेन्ट जनरल फिजिसियन पदको दरबन्दी सिर्जना भएको पनि पाँच बर्ष विति सक्यो तर उक्त पदका विशेषज्ञ चिकित्सकको पदपुर्ती हुन सकेको छैन ।
त्यति मात्र होइन आयुर्वेद चिकित्सक, नबौ तहका पाँच जना मेडिकल अधिकृत, डेण्टल सर्जन, फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिष्ट, तीन जना स्वास्थ्य सहायक, सात जना स्टाफ नर्स, एक जना पब्लिक नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, ल्याव असिष्टेन्ट, तीन जना अहेव लगायतका ५० पद स्थापना कालदेखि नै रिक्त छन् । जम्मा ६५ दरबन्दी रहेको अस्पतालमा १५ पद मात्र पदपुर्ती भएको छ । त्यस मध्यका मेडिकल अधिकृत डाक्टर कृष्णजंग शाह, मेडिकल अधिकृत डाक्टर धर्मराज रेग्मी र स्टाफ नर्स विष्णु शाह तलबी अध्ययन विदामा बसेका छन् । स्वास्थ्य सहायक दीपबहादुर वली वेतलबी अध्ययन विदामा छन् ।
धेरै पदहरु पदपुर्ती नै नभएको र भएका पनि काज तथा विदामा बसेपछि करार सेवामा नियुक्त स्वास्थ्यकर्मीको भरमा लामो समय देखि ५० शैयाको जिल्ला अस्पताल जेनतेन चलिरहेको छ । कार्यालय सहयोगी सहित ४३ जना स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गरिएका छन् । अस्पताल विकास समिति, कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र संघिय सरकारको स्वास्थ्य मन्त्रालयले करारमा नियुक्त गरि पठाएका स्वास्थ्यकर्मीले अस्पताल धानिरहेका छन् ।
१५ शैयाको जिल्ला अस्पताललाई २०७२ सालमा स्तरोन्नती गरि ५० शैयाको बनाउने निर्णय सँग विशेषज्ञ सेवाका लागी ति पदका चिकित्सकको दरबन्दी सिर्जना गरिएको हो । तर उक्त निर्णय र स्तरोन्नती कागजमै सिमित हुन पुगेको छ । हामीले अस्पतालको पुर्वाधार विकास गरि दरबन्दी अनुसारका चिकित्सकको पदपुर्ती गर्न वारम्बार माग गरयौ तर सुनुवाई हुँदैन अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भनिन ‘पुर्वाधार अभाव, आवश्यक उपकरण र स्वास्थ्यकर्मी अभावले आएका चिकित्सक पनि बस्नै मान्दैनन् । पुर्वाधार विकासका लागी पहल भैरहेको भएपनि खासै काम हुन सकेको छैन ।’
अस्पतालमा उपचार हुँदैन । यो अस्पताल रेफर सेन्टर र शवको पोष्र्टमार्टम गर्ने ठाँउ मात्र भएको भेरी नगरपालिका ४ का बलबहादुर विकले बताए । सामान्य रोगको पनि उपचार हुँदैन । जटिल खालको प्रसुति सेवा र सामान्य सर्जरी समेत हुँदैन उनले भने ‘अस्पताल नाम मात्रको छ । बषौं देखि यसरी नै चलिरहेको छ । सामान्य रोगको उपचारका लागी पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता छ ।’
अस्पतालमा छात्रबृत्ति करारमा नियुक्त भएका केही मेडिकल अधिकृत कार्यरत छन् तर आवश्यक उपकरण र पुर्वाधार अभावमा काम गर्न सकिरहेका छैनन् । भिडियो एक्सरे मेसिन विग्रिएको लामो समय भैसक्यो अझै मर्मत हुन सकेको छैन । एक्सरे मेसिन विग्रिएको हप्ता दिन भैसक्यो । बन्न सकेको छैन । एक्सरे नहुँदा विरामी रुकुमको चौरजहारी जान बाध्य छन् । खुट्टामा चोट लागेर एक्सरेको लागी जिल्ला अस्पताल पुगेकी भेरी नगरपालिका २ कि कमला वली एक्सरे मेसिन विग्रएको जानकारी पाएपछि चौरजहारी जानु परेको बताईन । अस्पताल आफै विरामी जस्तो छ खास विरामीको उपचार कसरी गरोस उनले भनिन ।
६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा चिकित्सकले पोष्टमार्टम रिपोर्टमा झालझेल गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानिय र पिडित परिवारले गत असार १ मा गरेको तोडफोडबाट एक्सरे मेसिन विग्रएपछि यतिवेला सेवाग्राही मर्कामा परेका छन् । आक्रमणको त्रासले डाक्टरहरु सुरक्षा घेरामा बसिरहेका छन् । अस्पताल लाई सुरक्षा पहरा दिईएको छ । डाक्टरहरु उपचार गर्ने मुडमा पनि छैनन् एक स्वास्थ्यकर्मीले भने ‘न आवश्यक पुर्वाधार र उपकरण छन् न विशेषज्ञ चिकित्सक नै । न काम गर्ने वाताबरण छ यस्तो अवस्थामा प्रभावकारी उपचार कसरी संभव होला ?’ भेन्टिलेटर, आइसियु वार्डको कुरा त परको भयो । सामान्य खालका पुर्वाधारको पनि अभाव छ । ब्लड बैक छैन । गत बर्ष सिधै विरामीलाई ब्लड दिनका लागी रेडक्रसको समन्वयमा भेरी नगरपालिकाले एक जना प्राविधिकको ब्यवस्था गरेको थियो तर अहिले नगरले बजेट दिन बन्द गरेपछि सिधै विरामीलाई रगत दिने ब्यवस्था पनि बन्द भएको छ ।
पुर्वाधार, आवश्यक उपकरण र जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर सुनिल पुनले बताए ।
विशेषज्ञ सेवा कहिले ?
जाजरकोट जिल्ला अस्पताल पाँच बर्ष अघि ५० शैयामा स्तरोन्नती हुँदा जिल्लावासी निकै खुसी भएका थिए । जिल्लामै विशेषज्ञ सेवा पाईने जिल्लावासीको आशा थियो तर पाँच बर्ष विति सक्दा पनि अस्पतालको अवस्था जस्ताको तस्तै भएपछि यतिवेला स्थानिय निराश छन् । सामान्य उपचारका लागी पनि पश्चिम रुकुमको चौरजहारी अस्पताल जानुपर्ने बाध्यता हट्ला भन्ने जाजरकोटवासीको अपेक्षा थियो तर अहिले पनि सामान्य उपचारका लागी पनि चौरजहारी अस्पताल जानु पर्ने बाध्यता छ । स्तरोन्नती कागजमा मात्र सिमित रह्यो काम केही हुन सकेन स्थानिय प्रमोद जंग शाहले भने ‘नेता गतिला नहुँदा उपचारमा सधै सास्ती खेप्नु पर्ने भो ।’ हचुवाको भरमा सात जना विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना त गरियो तर सोही अनुसारका पुर्वाधार बनाउने तर्फ कसैले ध्यान दिएन । पुर्वाधार विना विशेषज्ञ डाक्टर आउन सम्भब नभएको एक चिकित्सकले बताए ।