राजेन्द्र कार्की । जाजरकोट
संकास्पद मृत्यु भएकी जाजरकोट बारेकोटकी एक महिलाको चौतर्फी दवाव पछि प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्लाको बारेकोट ६ ताँसी निवासी २२ बर्षिया जेनिसा नेपालीको गत २७ बैशाखमा संकास्पद मृत्यु भएको थियो । घटनाको एक साता पछि मात्र मुद्धा दर्ता भएको छ । बुधवार किटानी जाहेरी सहित मुद्धा दर्ता गर्न गएका मृतकका माईतीलाई प्रहरीले मुद्धा दर्ता नगरेर फिर्ता गरिदिएको थियो । प्रवाह डट कम लगायतका मिडियामा प्रहरीले जाहेरी लिन मानेन भन्ने समाचार प्रकाशित भएपछि बल्ल शुक्रवार प्रहरीले मुद्धा दर्ता गरेको हो ।
कुशे ६ नारे माईती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास विक. सँग विवाह भएको थियो । कुनै विरामी समेत नभएकी जेनिसाको एक्कासी मृत्युको खवरले माइती पक्ष त्यो स्वभाविक मृत्यु नभई हत्या भएको भन्दै किटानी जाहेरीका लागी बुधवार जिल्ला प्रहरी कार्यालय पुगे पनि मुद्धा दर्ता हुन सकेको थिएन । पेट दुखेर मृत्यु भयो भनिएकी जेनिसाको शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग थियो सोही कारण घरपरिवारको नाममा किटानी जाहेरी गर्न खोज्दा प्रहरीले लिन मानेको थिएन । मृतकका पति, सासु, ससुरा, नन्द र आमाजु दिदीको नाममा किटानी जाहेरी दिएको नेपालीले बताए । उनले भने ‘ढिलै भएपनि मुद्धा दर्ता भएको छ । न्याय पाउने आश छ ।’ तर प्रहरीले घटनाबारे अनुसन्धान भैरहेकोले मुद्धा दर्तामा ढिलाई भएको जनाएको छ ।