जाजरकोटमा मकै रोप्न शुरु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा मकै रोप्न शुरु गरिएको छ । यसपटक समयमै बर्षात भएपछि किसानहरु मकै रोप्न थालेका हुन् । आकासे पानीको भरमा खेती गदै आएका यहाँका किसान लकडाउनकै समयमा पनि मकै छर्न थालेका छन् ।

जाजरकोटको अधिकांश जमिनमा सिंचाईको सुविधा छैन । सिंचाइको सुविधा नहुँदा जतिवेला आकासे पानी पर्छ त्यही मौका छोपेर बाली लगाउने गरिन्छ । जिल्लाका ग्रामिण भेगका किसान यतिवेला बारीमा गोठे मल बोक्ने र मकै रोप्ने कार्यमा ब्यस्त छन् । गहुँ काटे लगत्तै किसानहरु मकै रोप्न ब्यस्त भएको भेरी नगरपालिका १ का किसान गणेश बटालाले बताए । गहुँ माड्ने कार्यलाई थाती राखेर पनि मकै रोप्न थालिएको उनले बताए ।

बैशाखमै रोपेका मकैको उत्पादन राम्रो हुने किसानको भनाई छ । समयमै पानी परेपछि किसानहरु खुसी भएका छन् । मकै रोप्न किसानलाई भ्याईनभ्याई छ । सवै किसान खेतीपातीमै ब्यस्त भएकाले खेताला पाउन समेत मुस्किल भएको भेरी नगरपालिका ३ का किसान देवबहादुर कार्कीले बताए । उनका अनुसार लामो समयको बन्दाबन्दीमा पनि किसानहरु आफ्नो काममा ब्यस्त रहेका छन् । अध्ययन तथा मजदुरीका लागी जिल्ला बाहिर गएकाहरु घर फर्किएका छन् । खेताला नपाएपनि घर फर्किएकाहरुले खेतीपातीमा सघाईरहेका छन् ।

खाद्य संकट हुन नदिन किसानहरु उत्पादन बृद्धि कसरी गर्ने भन्ने ध्याउन्नमा रहेको भेरी नगरपालिका २ का किसान बिष्णुप्रसाद शर्माले बताए । खेतीपाती भन्दा अन्य मजदुरीको काममा ध्यान दिने स्थानियहरु बन्दाबन्दी पछि भने घरकै खेतीपाती लगाउने कार्यमा ध्यान दिन थालेका छन् । यो सकारात्मक पक्ष हो उनले भने ‘आफ्नो उत्पादनले आफुलाई पुरयाउने गरि मिहिनेत गरेर बर्षेवाली लगाउन सुरु भएको छ ।’ बुढापाकाहरुले बैशाखमा मकै छर्न पाए भोकमरी नपर्ने भनेर भन्ने गरेकोको सुनाए ।

यतिवेला जिल्लाका सवै किसानहरु मकै रोप्न ब्यस्त छन् । कोरोनाको त्रास र लकडाउनको प्रवाह नगरी उनीहरु मकै रोप्ने कार्यमा ब्यस्त भएका हुन् । जाजरकोटमा करीब १६ हजार हेक्टर जमिनमा मकै खेती गर्ने गरिएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाको ८० प्रतिशत जमिनमा सिंचाई सुविधा नभएको र उक्त सबै जमिनमा मकै खेती गर्ने गरिएको कार्यालयले जनाएको छ । यतिवेला मकै रोप्ने उपयुक्त समय भएको कृषि प्राविधिक महेशकुमार विष्टले बताए । जिल्लाका सवै भुभागमा पानी परेकोले किसानहरु मकै रोप्न ब्यस्त भएका छन् । गहुँ भित्र्याउने समय पनि यतिवेलै भएकोले उनीहरुलाई मल बोक्न, मकै रोप्न र गहुँ भित्र्याउन भ्याईनभ्याई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad