राजेन्द्र कार्की । जाजरकोट
वडा समितिका पदाधिकारीले राहत वितरण गर्ने सुचीमा मापदण्ड विपरीत ‘आफ्ना मान्छ’े सिफारिस गरेपछि भेरी नगरपालिकाको राहत वितरण कार्य अलपत्र परेको छ । लकडाउन भएको लामो समय विति सक्दा पनि राहत वितरण हुन नसकेपछि असंगठित श्रमिक र विपन्न नागरिक समस्यामा परेका छन् ।
राहत वितरणका लागी साँचिकै समस्यामा परेका नागरिकको लगत संकलनका लागी वडा समितिलाई जिम्मा दिएको थियो । वडा समितिले विपन्न र ज्याला मजदुरका साथै आफ्ना कार्यकर्ता र नातागोता समेत मिसाएर राहत वितरणको सुची तयार पारेपछि विवाद हुने भन्दै नगरपालिका राहत वितरण गर्न बाट पछि हटेको हो ।
राहत वितरणका लागी नगरभित्रका १३ वटा वडाबाट आठ हजार चार सय ९० परिवारको सिफारिस आएको प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । वडाबाट सिफारिस आएका नाममा नगरकार्यपालिकाको बैठकमा छलफल हुँदा वास्तविक पिडित भन्दा अन्य ब्यक्तिहरुको धेरै सुची आएपछि नगरपालिका तत्काल राहत वितरण नगर्ने निर्णयमा पुगेको प्रमुख प्रशाकिय अधिकृत घर्तीले बताए । उनले वडा समितिलाई पुनः तीन दिन भित्र नेपाल सरकारले जारी गरेको राहत वितरण कार्यविधी २०७६ अनुसार वास्तविक समस्या परेका नागरिकको सुची तयार गरी पेश गर्ने कार्यपालिकाले निर्देशन गरेको बताए ।
कार्यपालिकाले त्यसरी विवरण तयार पार्न दिएको तीन दिनको समायावधी भित्र ५ वटा वडाले मात्र पुनः लगत संकलन गरेर पठाएका छन् । अन्य ८ वडाले वितरण नपठाउँदा राहत वितरण गर्न सकिएको छैन उनले भने ‘केही परिवार साँच्चिकै समस्यामा छन् तर वडा समितिले अनावश्यक मानिसको लगत पठाउँदा राहत वितरण ढिलाई भएको हो । नगरभित्र दुई देखि तीन हजारको हाराहारीमा लकडाउनकै कारण चुल्हो बल्न नसकेको नगरकार्यपालिकाको निश्कर्ष छ तर सुची चार गुणा बढेर आउँदा समस्या भएको हो ।’
राहत वितरणको सुची तयार गर्न जिम्मेवारी दिएका वडा सदस्यहरुको बदमासीले गर्दा अनावश्यक रुपमा संख्या बढाईएको एक वडाध्यक्षले बताए । धेरैजसो वडासदस्यले कार्यकर्ता र आफन्त खुसी पार्न विपन्न तथा मजदुरको सुचीमा उनीहरुलाई घुसाएको नगरपालिकाले जनाएको छ ।
राहत नपाउँदा विपन्न परिवार समस्यामा
भेरी नगरपालिका ४ कि चन्द्रकला नेपालीको घरमा आगो बल्न छोडेको छ । खानेकुरा केही नहुँदा उनी धेरै दिन देखि भोकभोकै छन् । ‘दैनिक ज्यालामजदुरी गरेर आफु र परिवारको पेट पाल्दै आएकी थिए । लामो लकडाउनले निकै समस्या भयो’ उनले भनिन ‘छोराछोरी भोक लाग्यो भन्छन् । के खुवाउँ ? रोगले भन्दा भोकले मरिएला जस्तो भो ।’ उनी जस्तै सोही ठाँउका दिलसरा शाही र रत्नबहादुर खड्काको अवस्था पनि उस्तैै छ । उनीहरुको चुह्रो बल्न छोडेको छ । विहान बेलुका हातमुख जोर्न समस्या भएपनि राहत कसैले नदिएको र आफुहरुको पिडा कसैले नबुझेको उनीहरुको गुनासो छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी भन्दै सरकारले लडकडाउन गरेको तीन साता विति सकेको छ । यस अवधीमा दैनिक ज्यालामजदुरी गरि गुजरा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन् । जसका कारण उनीहरुको चुल्हो समेत बल्न छोडेको छ तर खाद्यन्न ब्यवस्थापनको जिम्मेवारी पाएको स्थानिय सरकारले समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन् ।
भेरी नगरपालिकाका विपन्न तथा ज्यालामजदुर गर्ने परिवारले कुनै पनि ठाँउबाट राहत पाएका छैनन् । उनीहरुले आफुहरु भोकभोकै परिरहेको गुनासो गरिरहेका छन् ।