राजेन्द्र कार्की । जाजरकोट
कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर पहिलो पल्ट बारेकोट गाँउपालिका र भेरी नगरपालिकाले १०—१० शैयाका क्वारेन्टाइन तयार पारेका छन् । सवै भन्दा नजिकको सरकार भनिएका स्थानिय सरकार कोरोना रोकथाम नियन्त्रण र पुर्व तयारीमा अलमलमा पर्दा ढिलाई भएको हो । संघिय सरकारले हरेक स्थानिय तहले कोरोना संक्रमितको उपचारका लागी क्वारेन्टाइन बनाउन निर्देशन दिएपनि अन्य स्थानिय तहले अझै बनाईसकेका छैनन् ।
जिल्ला सदरमुकाम स्थित त्रिभुवन माद्यामिक विद्यालयको भवनमा भेरी नगरपालिकाले १० बेडको क्वारेन्टाइन तयार पारिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनका लागि स्वास्थ्य सेवा कार्यालयले १० वटा बेड, उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि आवश्यक २ सेट व्यक्तिगत सुरक्षा सामाग्री(पीपीई) र केही मास्क समेत उपलब्ध गराएको नगरप्रमुख घर्तीले जानकारी दिए । त्यस्तै क्वारेन्टाइनमा नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाले १० थान ब्लाङ्केट र ४ थान बाल्टी तथा सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले भान्साका लागि आवश्यक सामाग्री उपलब्ध गराएको नगरपालिकाले छ ।
वारेकोट गाउँपालिकाले कोरोनाको संक्रमणको आशंका गरिएका र जिल्ला तथा देश वाहिरवाट आएकाहरुलाइ राख्न लिम्सा स्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा १० वटा बेड सहितका क्वारेन्टाइन वनाइएको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले वताए । क्वारेन्टाइनमा राखिएकाहरुलाई खानाको प्रबन्ध गाँउपालिकाले गर्ने भएको छ । गाउँपालिकामा भारत र अन्य तेस्रो मुलुकवाट आएकाहरुको व्यापक खोजी तथा उनीहरुको निगरानी गर्ने काम भइरहेको वताए ।
गाउँपालिका प्रवेश गर्ने सवै नाकाहरुमा हेल्प डेस्क राखेर स्वास्थ्य जाँच गर्ने काम पनि निरन्तर रुपमा भइरहेको उनको भनाइ छ । गाउँपालिकाका ९ वटै वडाहरुमा व्यापक मात्रामा माइकिङ, घरदैलो तथा अन्य माध्यमवाट कोरोनाको संक्रमणको कारण र वच्ने उपायाहरुवारे स्थानीयहरुलाइ सुझाउने काम पनि तिव्र गतिमा गरिएको अध्यक्ष शाहको भनाइ छ । स्थानीयहरु सेल्फ क्वारेन्टाइनमा वस्न नमान्ने, हेल्प डेस्कमा गएर स्वास्थ्य जाँच गराउन नमान्ने तथा विभिन्न चोर वाटोवाट गाउँपालिकामा आउने र वाहिर जानेहरु पनि रहेकाले यस तर्फ आफुहरुले निकै कडाइ सुरु गरिएको अध्यक्ष शाहले वताए । आधुनिक उपकरण श्रोत साधन र जनशक्ति नभएपनि आफुहरुसंग उपलव्ध भएको पुर्वाधार साधन श्रोतको प्रयोग गरेर कोरोना भाइरसको संक्रमण रोक्ने तयारीमा रहेको उनले वताए । जाजरकोटमा अहिले सम्म एक जनालाई पनि संक्रमणको आशंका गरिएको छैन ।