टेरेनन् स्थानिय प्रशासन र जनप्रतिनिधिहरुलाई
प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटका ग्रामिण भेगका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यावसायीहरुले लामो समय देखि टावर निर्माणको काम अलपत्र परेका छन् । निर्माण कम्पनीले जाजरकोटका जनप्रतिनिधि र स्थानीय प्रशासनलाइ नटेरेको पाइएको छ ।
दुइ वर्ष अघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुइ पटकका लिखित वाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम अलपत्र पारेका हुन् । जाजरकोटका ग्रामीण भेगमा लामो समय देखिको सन्चार समस्यालाइ हल गर्न सरकारले थालेको काम अलपत्र परेको भन्दै गत कार्तिक १७ गते जिल्ला प्रशासन कार्यालय जाजरकोट र कर्णाली प्रदेशका साँसद गणेशप्रसाद सिंहको समन्वयमा जाजरकोट खलंगामा वसेको सर्वपक्षीय वैठकमा उक्त कम्पनीका प्रतिनिधि र नेपाल टेलिकमका अधिकारीहरुले मंसिर मसान्त सम्म तीन वटा र माघ मसान्तभित्र थप तीनवटा टेलिफोन टावर निर्माण गर्ने वाचा गरेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रदेश साँसदहरु र सात वटा स्थानीय तहका प्रमुखहरु तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा उनीहरुले मंसिर मसान्त भित्र नायकवाडा, शेरीगाउँ तथा मजकोटमा र माघ मसान्त भित्र सक्ला पैंक र डाडागाउँमा टावर निर्माणको काम सक्ने लिखित सम्झौता गरेको भएपनि अहिले सम्म मजकोट वाहेक अन्य कुनै टावर निर्माणको काम पुरा नगरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वताए । उनले मजकोटमा टावर वनाएपनि नायकवाडा र शेरीमा भने टावर निर्माण नभएको वताए । उनले छिटो टावर निर्माण गर्न पुनः ताकेता गर्ने र अटेर गरे कारबाहीको लागी सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी दिए ।
यसै विच निर्माण कम्पनीका प्रतिनिधिहरुले नेपाल टेलिकमका अधिकारीहरुको रोहवरमा कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहसंग पनि छिटै काम सुरु गर्ने भन्दै गत साउन १७ गते लिखित वाचा गरेका थिए । पहिलो चरणको वाचा पुरा नभएपछि पुन जाजरकोट खलंगामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार नागरिक समाज, नेपाल टेलिकमका अधिकारी र अन्य सरोकारवालाहरुको विचमा निर्माण कम्पनीका प्रतिनिधिहरुले दोस्रो पटक कार्तिक १७ गते दास्रो पटक लिखित वाचा गरेका थिए । तर उनीहरुले दुवै पटकको वाचा पुरा गर्न सकेका छैनन् । मंसिर भित्र ३ र माघ भित्र थप ३ वटा टावर निर्माण गरिसक्ने वाचा गरिएको भएपनि अहिले सम्म उक्त वाचा पुरा नहुदा स्थानीयहरु आक्रोसित वनेका छन् ।
वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले आफुले पाएको जिम्मेवारी अनुसार काम गर्न निर्माण कम्पनी र नेपाल टेलिकमका अधिकारीहरुले कुनै चासो र जवाफदेहिता नदेखाएको वताए । उनीहरुको पारा हेर्दा गाउँमा फोनका टावरहरु तत्काल बन्ने जस्तो लाग्दैन,अध्यक्ष शाहले भने–‘खलंगामा भएको सर्वपक्षीय वैठकमा पनि स्थानीय जनता र स्थानीय सरकारलाइ पुरै वेवास्ता गर्ने खालको व्यवहार देखाएको र समयमै काम गर्ने तर्फ उनीहरुले कुनै इच्छाशक्ति देखिदैन ।’
टावर निर्माणका विषयमा निरन्तर ताकेता र मेहनत गर्ने गरेका कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहले पनि फोन टावर निर्माणको जिम्मा लिएका व्यक्तिहरु सामाग्री र काम विचैमा छोडेर भागेको भन्ने खवर आफुले पाएको वताए । उनले आफुले दुइ पटक उनीहरुलाइ लिखित वाचा गराएपनि अहिले सम्म काम हुन नसकेको र अव आफु नेपाल टेलिकमको उच्च नेतृत्वसम्म पुगेर टावर निर्माणको लागि फेरि ताकेता गर्ने तयारीमा रहेको वताए । उनले भने–‘तोकिएको समयमा आफनो जिम्मवारी पुरा नगर्ने निर्माण व्यावसायीलाइ कालोसुचीमा राखेर कारवाही गर्नु पर्छ ।’
जिल्लाका ग्रामीण भेगमा फोनको सुविधा नभएर जनताले धेरै सास्ती पाउने गरेको भएपनि सरोकारवालाहरुले भने आफनो जिम्मेवारीको ख्याल नगर्दा विकासको काम अलपत्र पर्ने गरेको नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले वताए । उनले राज्य र जनतासंग काम गर्छु भनेर सम्झौता गनर्,े कागज गर्ने तर कामै नगर्ने जो कोहि भएपनि कारवाहिमा पर्नु पर्ने वताए । अहिले गाउँमा फोन सेवा अवरुद्ध भएर लामो समय जनतालाइ सास्ती भएको र फोन सेवाका लागि टावर पनि वढी क्षमताका हुनु पर्ने सर्वसाधारणहरुको माग छ ।