प्रवाह सम्वाददाता-प्युठानको सामान्य परिवारमा जन्मिएका गोविन्द केसी१५ वर्ष पहिले नेपाल प्रहरीका हवलदार थिए । हवलदारका रुपमा उनी डोल्पा जिल्लाको सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय कार्यरत थिए । घरपरिवार प्यूठान जिल्लाको तुसारा साविक गाविसमै थिए । त्यो समयमा उनको मासिक तलब १७-१८ हजार रुपैयाँ थियो । त्यो पैसाले परिवारको दैनिकी चलाउन धौ–धौ थियो ।
परिवारका सदस्यहरुको संख्या बढ्दै जान थाले । छोराछोरी पढ्ने भइसकेका थिए । घरमा खर्च बढ्दै जान थाल्यो । महिना सकिँदा बुझेको तलव घर खर्चमै नपुग्ने भएपछि जागिर छोडेर विदेश जाने निधो गरे । त्यही अनुसार २०६० सालमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट जागिर छोडिदिए । सशस्त्र द्वन्द्वको समयमा जागिरे जीवन बिताएका केसीले ९ वर्ष आठ महिना नेपाल प्रहरीमा रहेर जनताको सेवामा काम गरेका थिए । पैसा कमाउनका लाग विदेश जाने निधो गरे ।
त्यसपछि उनी पैसा कमाउनका लागि बहराइन पुगे । २०६० सालमा ८० हजार रुपैयाँ तिरेर बहराइन पुगेका केसीको सुरुमा ८० हजार रुपैयाँ मासिक तलव थियो । विस्तारै बढ्दै जान थाल्यो । पछिल्लो समय करिव पाँच वर्ष पहिले एक लाख २० हजार रुपैयाँ मासिक तलब थियो । ‘काम पनि गाह्रो थिएन’–केसी भन्छन्–‘वहराइनमा एउटा प्लाष्ट्रिक कम्पनीमा सेक्युरिटी गार्डका रुपमा काम गर्थे, त्यहीं काम गरेर मासिक १ लाख २० हजार रुपैयाँ तलब आउँथ्यो ।’ काममा कुनै समस्या थिएन । विदेशमा आर्थिक रुपमा राम्रो कमाइ भए पनि घरपरिवारप्रतिको जिम्मेवारीले सताउन थालेको थियो ।
विदेशमा राम्रो पैसा कमाइ भएपछि प्युठानबाट दाङ बसाई गर्ने निर्णय गरे । छोराछोरीलाई राम्रो स्कुलमा पढाउने र सुगम ठाउँमा केही गर्ने सोचले सुरुमा देउखुरीको टिकुलीगढमा जग्गा किनेर घर बनाए । त्यस समयमा केसी बिदामा घर आउने र कमाउनका लागि बहराइन फर्केन गरिरहन्थे । करिव ११ वर्ष विदेश जाने र आउने उनको क्रम चलिरहयो । विदेशमा श्रम गरेर राम्रो कमाइ भए पनि उनको मन पुनः परिवर्तन भयो । अब विदेशमा बसेर होइन स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना मनमा जाग्न थाल्यो । त्यसको कारण थियो घरमा छोराछोरीलाई पनि राम्रो शिक्षादीक्षा दिने । उनलाई घरबाट श्रीमतीले छोराछोरीले भनेको मान्दैनन्–पढाइमा जाँगर गर्दैनन् भनेर सुनाई रहन्थिन् । त्यही भएर पनि उनलाई घरमा आफूसँगै बसे छोराछोरीलाई राम्रोसँग पढाउन सकिएला भन्ने सोचले जित्यो र घर फर्किए । त्यसपछि उनी फेरि विदेशी भूमिमा कमाउन जाने सपना देख्न छोडिदिए । विदेशमा कमाएको पैसाले स्वदेशमै केही गर्ने सोच बनाए ।
सात लाख रुपैयाँमा खोर बनाएर विदेशमा कमाएको पैसालाई पशुपालन व्यवसायमा लगाए ।
‘अहिलेसम्म काम गरिरहेको भए मासिक डेढ लाख बढी कमाइ हुन्थ्यो होला ?’ उनी भन्छन्, ‘त्यसमा मलाइ दुःख छैन, मलाई यही पशुपालन नै मन परेको छ ।’ पाँच वर्ष अघि दुईवटा भैंसी पाल्दै आएका केसीले ६ महिना अघि ६ लाख रुपैयाँमा चार वटा गाई खरिद गरेका छन् । पशुपालनका लागि करिब डेढ विगाह जमिन भाडामा लिएका छन् । त्यहाँ सिजन अनुसारको घाँस लगाउने गरेका छन् । केसीले १५ देखि २० वटासम्म गाई र भैंसी पाल्ने योजनामा रहेको समेत बताए ।
परिश्रम धेरै भए पनि घरमै बसेर काम गर्न पाउँदा उनी सन्तुष्ट छन् । ‘पैसा मात्र कमाउँदा मन सन्तुष्ट हुने रहेनछ, त्यो मैले विदेशमा भोगें’, केसी भन्छन्, ‘बरु थोरै होस, स्वदेशमै घरपरिवारसँग बसेर काम गर्दा मन सन्तुष्ट छ ।’ सानैदेखि पशुपालन गर्ने रहर भएको बताउने केसीले त्यही अनुसार व्यवसाय गर्न पाउँदा परिवार समेत सन्तुष्ट रहेको बताए । केसीले भैंसी र गाईसँगै थोरै भए पनि बाख्रापालन व्यवसायलाई समेत अघि बढाउने योजनामा रहेको बताए ।