‘जुनी बस्तीलाई युद्ध पर्यटन स्थलको रुपमा विकास गछौ’ –कृष्णबहादुर केसी अध्यक्ष जुनीचाँदे गाँउपालिका

lagu ausadhi biruddha abhiyan jajarkot

जाजरकोटको जुनीचाँदे गाँउपालिका आर्थिक, सामाजिक र विकासका दृष्ट्रिकोणले निकै पछाडी परेको गाँउपालिका हो । यही गाँउपालिकालाई समृद्ध गाँउपालिकाको रुपमा विकास गर्न अठोट गरेका गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी सँग प्रवाह डट कमले गरेको कुराकानीको सारसंक्षेप ः
१) तपाई निर्वाचित भएको दुई बर्ष पुरा भैसक्यो यस अवधीको तपाईको कामको मूल्याङ्कन आफैले गर्नु पर्दा कसरी गर्नुहुन्छ ?
–विभिन्न २९ ओटा ऐन÷ नियम बनायौ । गाँउपालिकामा सडक सञ्जाल सँग जोडिएको थिएन । हामीले नै सडक सञ्जालमा गाँउपालिकालाई जोड्न सफल भयौ । ११ वटा वडा मध्य ८ वटा वडामा सडक पुरयाएका छौ । दुई तिहाई बहुमतले गाँउपालिकाको प्रशासनिक केन्द्र लुहादह टुङ्गो लगाएका छौ । यसका साथै शिक्षाको विकासका लागी ३५ नयाँ दरबन्दी सिर्जना गरि अनुदान दिने गरेका छौ । कृषि क्षेत्रको विकासका लागी खाली जमिन राख्न नपाईने नितिगत निर्णय गरी ब्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक अनुदानको समेत ब्यवस्था लगायतका थुप्रै जनमुखी काम गरिरहेका छौ ।
२) स्थानिय सरकार प्रमुख भएर काम गर्दा के कस्ता चुनौति सामना गर्नु परयो ?
भौगोलिक विकटता, चेतनाको अभाव र कर्मचारी अभावले विकास निर्माण तथा योजना कार्यान्वयनमा केही समस्या देखिएका छन् । ११ वडामा दुई जना सचिवले काम चलाइरहेका छन् । प्राविधिक बाहेकका ४३ जना कर्मचारी मध्य ४ जना मात्र कार्यरत छन् । जसका कारण काम गर्न निकै समस्या भैरहेको छ । कतिपय अवस्थामा जनप्रतिनिधी र कर्मचारी विच तालमेल नमिल्दा पनि समस्या देखिएको छ । हामीले दुईतिहाई बहुमतले केन्द्र तोक्दा पनि मुद्धा हालियो । काम गर्न दिर्ईएन । अहिले मुद्ध सर्वोच्चमा चलिरहेको छ । गाँउपालिकाको केन्द्र लुहादहबाट काम गर्न पाईरहेका छैनौ । अहिले पनि सदरमुकामबाट कतिपय सेवा प्रवाह गर्नु पर्ने बाध्यता छ । चाहेर पनि कतिपय अवस्थामा सवै कुरा नमिल्दा काम गर्न गाह्रो हुँदोरहेछ ।
३)तपाईले घोषणा पत्रमा उल्लेख गरेका कुराहरु कति पुरा गर्नुभयो ?
–मैले घोषणा पत्रमा सडक यातायातलाई नै मुख्य प्राथमिकतामा राखेको थिएँ । नर्मरा–लुहादह–कोर्ताङ्ग–जुनी–जुम्ला, लामातडा–गर्खाकोट–बुदीडाँडा–जुम्ला र पातीहाल्न–मजकोट–जुनी–जुम्ला सडक निर्माण भैरहेका छन् । जुम्ला जिल्ला सँग सडक सञ्जालले जोड्ने लक्ष्य लिएर काम गरिरहेका छौ । यो बर्ष भित्रै बाँकी वडामा पनि सडक पुरयाउँछौ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि काम भैरहेका छन् । क्रमसः मेरो कार्यकालमा घोषणा पत्रमा उल्लेख गरिएका अधिकांश कुराहरु पुरा हुन्छन् ।
४) जनताका अपेक्षा धेरै छन कसरी सम्बोधन गदै हुनुहन्छ ?
जनताका अपेक्षालाई प्राथमिकरण गरि योजना निर्माण तथा छनौट गर्ने गरिएको छ । आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ । आयआर्जनमा बृद्धी भई उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी योजना बनाईरहेका छौ । सवै अपेक्षा पुरा गर्न नसकेपनि क्रमशः पुरा गदै जाने हाम्रो योजना छ ।
५) गाँउपालिकाले अघि सारेका लोकप्रिय कार्यक्रम के के हुन ?
खास गरी गाँउपालिकाको प्रशासनिक केन्द्र, जिल्ला सदरमुकाम, प्रदेश राजधानी र संघिय राजधानी सँग सडक सञ्जालले जोड्ने गरी काम गरिरहेका छौ । पुर्वाधार विकासका साथै जेष्ठ नागरिक सँग अध्यक्ष, सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम, भैसी लोप हुन थालेपछि भैसीले पाडा, पाडी जन्माए एक हजार छ सय भत्ता, भ्रुण हत्या रोक्न र लैगिक समानताका लागी छोरी जन्मिए १० हजार दिने निर्णय गरेका छौ । यसका साथै विभिन्न ब्यवसायमा संलग्न किसानहरुलाई प्रोत्साहन अनुदान दिने गरेका छौ ।
६) अव तपाईहरुले काम गर्ने अढाई बर्ष मात्र बाँकी छ, यस अवधीमा गाँउपालिकाका भावी योजना के छन् ?
सडक सञ्जालमा ११ वटै वडा जोडेर कालोपत्रे गर्ने, गाँउपालिकालाई टिमुर जोन क्षेत्र बनाउने जसका लागी यसै आर्थिक बर्ष देखि सवैले अनिवार्य टिमुर खेती गर्नु पर्ने र कम्तिमा प्रति घरधुरी एक सय टिमुरका विरुवा लगाउनु पर्ने छ । विरुवा नगरले निशुल्क उपलब्ध गराउने छ । म आफैले पनि एक हजार टिमुरका विरुवा लगाउने योजना बनाएको छु । टिमुरबाटै गाँउपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउन सकिने संभावना देखेरै यस्तो निर्णय गरेका हौ । त्यसका साथै गाँउपालिका भित्र प्रसस्त मात्रमा पाईने रत्नपत्थर, टुर्मालिन, क्वार्जको उत्खनन् , प्रशोधन र ब्यवस्थापन गर्ने , जडिबुटीको प्रसस्त संभावना भएको यस गाँउपालिकामा जडिबुटीलाई ब्यवसायीकरण तर्फ लगी आयआर्जन बढाउने गरी काम गर्ने योजना छ ।
७) गाँउपालिकामा पर्यटन विकासको सम्भावना र भावी योजना के छ ?
गाँउपालिकामा पर्यटन विकासको संभावना प्रचुर छ । यहाँ प्राकृतिक रुपमा रहेका खोला, झरना, छहरा, बनजंगल, डाँडाकाँडा अत्यान्तै रमणीय छन् । साथै यस गाँउपालिकाका जंगलमा कस्तुरी, रेडपाण्डा, भालु, रतुवा लगायतका जंगली जनावर पाईन्छन् । त्यसका साथै जुर्के गाँउ र निपाने गाँउ मिलाएर माओवादी शसस्त्र युद्ध कालमै जुनी कम्युनको अभ्यास गरिएको जुनी बस्तीलाई युद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ । मगरहरु मात्र बसोवास गर्ने त्यस बस्तीमा होमस्टे संचालन गरेर त्यहाँको संस्कृति र रितिरिवाज बारे प्रचार गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने प्रसस्त संभावना छ । जुनीमा बाटो पुग्ने वित्तिकै युद्ध पर्यटनको विकास गर्ने गरी काम थाल्छौ । साथै जुम्ला सम्म यही बाटो भएर पर्यटक लान पनि विशेष पहल गर्ने योजना छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad