April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

औषधी बोकेर प्रदेश सभा सदस्य आफै पुगे अस्पताल

राजेन्द्र कार्की । जाजरकोट

औषधी विहिन जाजरकोट अस्पतालमा दुई महिना पछि औषधी आईपुगेको छ । जाजरकोटका प्रदेश सभा सदस्य ( साँसद ) द्धय गणेशप्रसाद सिंह र कृष्णा शाह आफै औषधी बोकेर शुक्रवार अस्पताल पुगेका हुन । जाजरकोट अस्पतालमा औषधी अभाव, उपचारमा समस्या भन्ने शिर्षकमा २७ भदौमा प्रवाह डटकम अनलाईनमा समाचार प्रकाशित भएपछि साँसदहरुले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट एक गाडी औषधी आफैले बोकेर ल्याएका हुन् । उनीहरुले एक कार्यक्रमका विच अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत र अस्पताल प्रमुख डा. केशर कार्कीलाई औषधी हस्तान्तरण गरेका हुन् ।

सरकारले निशुल्क उपलब्ध गराउने सामान्य खालका औषधी पनि जाजरकोट अस्पतालमा पाईन छोडेको थियो । जिल्ला अस्पतालमा लामो समय देखि औषधी अभाव हुँदा उपचारमा समस्या भएको थियो । दिनहुँ भाईरल ज्वरो, टाईफाईड, मौसमी रुघाखोकी लगायतका विरामीको चाप बढ्दै गएको भएपनि औषधी नहुँदा समस्या थियो । सरकारले जिल्ला अस्पतालबाट ७२ प्रकारका औषधी निशुल्क वितरण गर्ने घोषणा गरेको छ । तर कार्यान्वयन हुन नसकेको स्थानियको गुनासो छ ।

अस्पतालले नयाँ आर्थिक बर्ष शुरु भएको दुई महिना सम्म पनि औषधी खरीद नगर्दा अभाव भएको हो । सिटामोल, आईरन चक्की, ब्रोफिन, रेनीटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टीन, भिटामीन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सीटोसन, जेन्टामाईस, फुस्रामाईट, सिप्रो, एसिलक, पोन्टक्स लगाएतका २४ प्रकारका अत्यावश्यक औषधी र अन्य ९ प्रकारका सामग्री आएको जिल्ला अस्पतालका प्रमुख डा. केशर कार्कीले बताए । जिल्लामा औषधीको अभाव भएको संचारमाध्यामबाट थाह पाए लगत्तै आफुले सम्बन्धित निकायमा औषधी आपुर्तीका लागी पहल गरेको प्रदेश सभा सदस्य शाहले बताईन ।

सिटामोल समेत अस्पतालमा नभएपछि विरामीले निजी मेडिकलमा किन्न बाध्य थिए । अस्पतालको फार्मेसीमै औषधी सकिएको थियो । औषधी खरीदका लागी बजेट निकासा भईसकेको भएपनि लेखापाल नहुँदा औषधी खरीद गर्न नपाएको डा. कार्कीले बताए । अस्पतालमा लेखापालको दरबन्दी भएपनि दुई बर्ष देखि पदपुर्ती हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलब खुवाउन काजमा पठाउने गरेपनि असार देखि लेखापाल आएका छैनन् । लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउन देखि तलबभत्ता समेत खान पाएका छैनन् । प्रदेश साँसद सिंहले तत्काल लेखापालको पदपुर्ती गर्न सम्बन्धित निकायमा कुरा गरिसकेको र केही दिनमै लेखापाल अस्पतालमा आउने बताए । उनले थप औषधीका लागी पहल भैरहेको समेत बताए ।

अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले औषधीका लागी पहल गर्ने साँसदहरुलाई धन्यवाद दिदै अस्पतालमा लामो समय देखि लेखापालको पदपुर्ती हुन नसकेकोले तत्काल पठाउनको लागी पहल गर्न आग्रह गरिन । उनले चिकित्सकलाई काम गर्ने वातावरण बनाई दिन समेत आग्रह गरिन । जिल्लामा औषधी अभाव हुन नदिन र अस्पतालबाट भरपर्दो सेवा पाउने ब्यवस्थाका लागी आफुहरुले पहल गरिरहेको प्रदेस सभा सदस्य शाहको भनाई छ ।

अस्पताल विकास समिति, स्थानिय बासिन्दा र स्वास्थ्यकर्मीहरुले औषधी आपुर्तीका लागी पहल कदमी लिएकोमा प्रदेश सभा सदस्यहरुलाई धन्यवाद दिएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad