प्रवाह संवाददाता । कोहलपुर
जाजरकोटी सेवा समाज बाँकेको तेस्रो साधारण सभा शनिवार कोहलपुरमा सम्पन्न भएको छ ।
जाजरकोट घर भई हाल बाँकेमा बस्दै आएका जाजरकोटवासीलाई एकिकृत गरि आपसी सहयोग र भाइचाराको सम्बन्ध विस्तार गर्न स्थापना भएको जाजरकोटी सेवा समाजले एक समारोहका विच कोहलपुर स्थित होटल कृष्णमा साधारण सभा सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष किशोर कृष्ण भण्डारीको अध्यक्षतामा भएको समाजको साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रहरीका पुर्व एसएसपी मानबहादुर शाहीले राजनैतिक आग्रह र पुर्वाग्रह त्यागेर जाजरकोटवासीको हकहित र सहयोगमा यो संस्था सर्मपित हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा निर्माण ब्यवसायी संघका उपाध्यक्ष रत्नबहादुर खड्का, समाजसेवी भरत रेग्मी , काँग्रेस नेता चित्रप्रसाद शर्मा लगायतका बक्ताले साधारण सभाको सफलताको कामना गदै संस्थाले पुख्यौली जाजरकोट भएर बाँकेमा बसोबास गर्ने सबैलाई जोड्न र सहयोग आदनप्रदान गर्न कोशे ढुङ्गा सावित भएको बताएका थिए ।
समाजका कोषाध्यक्ष पशुपति सिंहले आर्थिक बर्ष ०७५÷७६ को दुई लाख १९ हजार एक सय ९५रुपैयाको आयब्यय प्रस्तुत गरेकी थिईन । एक लाख २८ हजार पाँच सय ६९ रुपैया खर्च भई संस्थाको खातामा ९० हजार ६ सय २६ रुपैया मौज्दात रहेको छ । समाजले गत बर्ष जाजरकोट खलंगाको ठाँटीमा पहिरोमा परि ज्यान गुमाएकाहरुका आफन्तलाई २६ हजार रुपैया , मृगौलाको उपचार गराईरहेका ढिमेका केवी मल्ललाई १० हजार रुपैया र गत बर्ष जाजरकोट महोत्सवका लागी १० हजार रुपैया सहयोग गरेको अध्यक्ष भण्डारीले बताए । साधारण सभामा समाजलाई विशेष सहयोग गर्ने चाटर्ड एकाउन्टेन्ट विश्व भण्डारीलाई सम्मान पत्र द्धारा सम्मानित गरिएको थियो ।