May 21 - 2024, Tuesday७ जेष्ठ २०८१, सोमबार

‘देशलाई अफ्ठयारो अवस्थाबाट पार लगाउने जिम्मा काँग्रेसको काँधमा’–उपप्रधानमन्त्री खड्का

राजेन्द्र कार्की । जाजरकोट
नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले देशको संकट समाधानको जिम्मा नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस जाजरकोटको शुक्रवार जिल्ला सम्मलेनको उद्घाटन गदै काँग्रेसका उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले मुलुकको बिग्रेको अर्थतन्त्रलाई सुधार्ने र सम्हाल्ने जिम्मा काँग्रेसकै भएको बताएका हुन् ।
मुलुकको अर्थतन्त्र चुनौतिपुर्ण छ । कोरोनाका कारण विग्रेको अर्थतन्त्र उकास्ने चुनौति रहेकोले अर्थतन्त्रलाई चलायमान बनाई सुदृढ अर्थतन्त्र बनाउने जिम्मा पनि काँग्रेसकै रहेको खड्काले बताए । अस्थिरता तर्फ धकेल्न र सामाजिक सद्भाव खल्बल्याउन केही तत्व सक्रिय रहेको बताउँदै मुलुकको हरेक अफ्ठयारो परिस्थितिको सामना नेपाली काँग्रेसले गदै आएको उनको भनाई छ । मुलुकका हरेक परिवर्तनको नेतृत्व गर्ने काँग्रेसले अब आर्थिक समृद्धिको नेतृत्व पनि गर्छ । सवै दल र पार्टीलाई विश्वासमा लिएर काँग्रेस अघि बढ्नु पर्छ उनले भने ‘नेपाली जनतालाई विश्वास दिलाउनका लागि काँग्रेस एक हुनुपर्छ । काँग्रेस एकढिक्का भयो भने मात्र देश र जनताका पक्षमा काम गर्न सकिन्छ । त्यसका लागि लोभ र मोह त्याग्नु पर्छ ।’
हामी सवै सच्चियौ भने मात्र देश बन्छ । अरुलाई दोष दिनु भन्दा आफु सच्चिन तयार हुनुपर्छ । हामीले गरेका गल्ती सच्चयायौ भने मात्र जनताले हामीलाई गरेको विश्वास र भरोसा टुटाउँदैनन् उप्रधानमन्त्री खड्काले भने ‘मुलुकको बर्तमान परिस्थिति सम्हाल्ने अवसर काँग्रेसकै काधमा छ ।’ कार्यकर्तालाई विचलित नहुन र जनताको पक्षमा आ आफ्नो ठाँउबाट काम गर्न निर्देशन दिदै उपसभापति खड्काले काम गर्ने कार्यकर्ता तथा नेताको उचित मुल्यांकन हुने बताए । उनले कसैलाई पनि काखा र पाखा नगर्ने दावी समेत गरे ।
नेपाली काँग्रेस जाजरकोटका सभापति तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभाका सदस्य राजिव विक्रम शाहले पार्टीले आफुलाई अन्याय गरेको बताए । उनले आफु जनताको सेवा गर्ने भनेर सुखसयल हुँदाहुँदै पनि राजनितिमा लागेर पसिना बगाएको जाजरकोट काँग्रेस उकास्न योगदान गरेका तर आफु पेलानमा परेको बताए । कर्णाली प्रदेश सरकारको मन्त्री हुन नदिएको भन्दै कार्यक्रममा गुनासो पोखे । म के जाँगरले काम गरु । मलाई चुनाव जिति सकेपछि केही भएर जनताको सेवा गर्छु भन्ने हुटहुटी थियो तर ब्रेक लगाईयो । पुर्ण दाई हाम्रो नेता हो । तपाईलाई ठुला नेताले संरक्षण गरेर प्रमोट गरेर यहाँ सम्म आईपुग्नु भयो हामीलाई कसले ओथारो दिने भन्दै साँसद शाहले कार्यक्रममै गुनासो पोखेका थिए । शाहले जाजरकोट काँग्रेस एक रहेको र एकजुट भएर अघि बढ्ने बताए ।

नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका उपसभापति सनतकुमार कार्कीले काँग्रेसले आफ्नो आदर्श विर्सदै गएको बताए । आफुले जाजरकोट काँग्रेस बनाउन धेरै पसिना बगाएको तर आफ्नो मुल्यांकन हुन नसकेको गुनासो गरे । पुराना कार्यकर्तालाई वेवास्ता गरिएको बताउँदै काँग्रेसमा सुकिलामुकिला हावी हुदै गएकोमा चिन्ता ब्यत्तः गदै विपी कोईरालाको भनाई स्मरण गरे । सहमहामन्त्री रामछाया शाहीले पुराना कार्यकर्तालाई पार्टीले विर्सदै गएको र नयाँको हावी हुँदै जाँदा पुराना कार्यकर्तामा निराशा बढ्दै गएको बताईन । सहसचिव छवि पन्तले संचालन गरेको कार्यक्रममा काँग्रेस नेताहरु खडक विसी, महेन्द्र शाह, रत्न खड्का, हरिचन्द्र बस्नेत, तेज विक्रम शाह, जनकराज शर्मा, लिलाबहादुर शाह, खडक बुढा, पुष्प बस्नेत लगायत जिल्ला स्थित काँग्रेसका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले एकता र संगठन सुदृढिकरणका लागि सवै कार्यकर्ता सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा एमाले र माओवादी केन्द्र छोडेर दर्जन बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । बन्द सत्रमा महत्वपुर्ण प्रस्ताव पारित गदै जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका अगुवा कार्यकर्ता भेला भएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad