April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

नलगाडमा एउटै आयोजनामा दोहोरो भुक्तानी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक निर्माण गरि एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको पाईएको छ । गत आर्थिक बर्ष २०७९÷०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको हो ।

गत असारमा नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकुल हुनेगरी एउटै उपभोक्ताहरु रहेको समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ ।

नेकपा माओवादी केन्द्रका नलगाड नगर इन्चार्ज गणेश सिंहले उपभोक्ता समितिबाट पेटी ठेक्कामा लिएर काम गरी दुवैतिरबाट भुक्तानी लिएको पाइएको छ । कर्णाली प्रदेश सरकारबाट स्थानीय तह मार्फत उपलब्ध गराएको रकम र पुर्वाधार विकास कार्यालय जाजरकोटबाट समेत सोही सडकमा डुप्लिकेशन गरेर रकम भुक्तानी लिएको खुलासा भएको हो । उपभोक्ता समिति र कामदारले रकम नपाएपछि पेटी ठेकेदार र उपभोक्ता समितिको बद्मासी बाहिरिएको हो । नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्बाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको छ । नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसंग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेम बहादुर सिंह, सचिव प्रेम बहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् । यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै ३२ लाख बढी रकम भुक्तानी भैसकेको छ ।

एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन स्थलगत अध्ययनका लागि कार्यालयका ईन्जिनियर शंकर कुँवरलाई पठाईएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए । हाम्रो कार्यालयको कुनै पनि संलग्नता छैन । हामीले प्रक्रिया अनुसार नै सडक निर्माण गरेर भुक्तानी दिएका हौ । नगरपालिकाले कसरी डुप्लिकेशन गर्यो हामीलाई थाह छैन उनले भने यदि हाम्रा प्राविधिक संलग्न भएको पाईए कारवाही हुन्छ । भुक्तानी दिँदा पनि इन्जिनियर कुँवरले नै विल भरपाई उठाएका थिए । जसले भुक्तानीमा वील उठाएको हो तिनै ईन्जिनियरलाई स्थलगत अध्ययनमा पठाईनुले पुर्वाधार कार्यालयको पनि मिलेमतोको आशंका गरिएको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमण समितिकी संयोजक सरीता सिंहले नलगाड नगरपालिकाको आयोजनामा पुर्वाधार कार्यालयले डुप्लिकेशन गरेको दावी गरिन । प्रदेश सरकारले पठाएको बजेट अनुसार हामीले जेठ अघि नै काम सुरु गरेका थियौ । आर्थिक बर्षको अन्त्यमा पछि कताबाट त्यही समिति र त्यही सडकमा पुर्वाधार कार्यालयले कसरी बजेट दियो र कसरी भुक्तानी दियो उनले भनिन ‘दुई ठाँउबाट भुक्तानी लिँदा पनि आयोजनाको गुणस्तरहिन छ । उपभोक्ता समितिले नै विचौलियालाई ठेक्कामा दिएको भन्ने हल्ला छ । हाम्रा नगरपालिकाकै प्राविधिक र कर्मचारीको मिलेमतो भएको भएपनि छानवीन गरि दोषीलाई कारवाही गर्नुपर्छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad