April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

१४ औ महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन्छु–नेता शाह

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनमा केन्द्रिय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले भुगोल तर्फको कर्णाली प्रदेशबाट केन्द्रिय सदस्यको उम्मेदवारी दिने तयारी थालेका हुन् ।

आगामी भाद्र १६ देखि १९ गते सम्म हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदको उम्मेदवारीका लागि नेता शाहले तयारी थालेका हुन् । १३ औं महाधिवेशनमै केन्द्रिय सदस्यमा उम्मेदवारीको तयारी गरेका उनलाई अन्तिममा नेताहरुले अर्को पटक लड्ने अवसर दिने भन्दै पछि हट्न आग्रह गरेपछि आफु ब्याक भएको नेता शाहले बताए । काँग्रेस विधान अनुसार कर्णाली प्रदेशबाट दुई जना निर्वाचित हुने ब्यवस्था गरिएको छ । १३ औ महाधिवेशनमा हृदयराम थानी र जीवन बहादुर शाही निर्वाचित भएका थिए ।

त्यागि, पाका र पुराना नेताहरुलाई सम्मान गदै युवा नेतृत्वले पार्टीमा अवसर पाउनु पर्ने शाहको भनाइ छ । ‘चुनावी तयारीका लागि प्रदेश नम्बर १ देखि सुदुरपश्चिम प्रदेश सम्मका सवै कार्यकर्ता सँग नजिकमा रहेर छलफल थालेको छु । धेरै ठाउबाट साथीहरुले तपाई जसरी पनि उम्मेदवार बन्नुहोस जिताउने जिम्मा हाम्रो भयो भनिरहनु भएको छ’ नेता शाहले भने –‘जनताको सेवाको लागि राजनितिमा आएको हुँ मलाई कुनै लोभलालच छैन । त्यही भएर म मेरा पुर्खा बसेको हुर्केको ठाँउ दुर्गम जाजरकोटबाटै केही सेवा गरौ भनेर यस क्षेत्रमा आएको हुँ । मलाई जाजरकोटवासी, कर्णालीवासी र देशैभरका आम काँग्रेस कार्यकर्ताले माया गरिरहनु भएको छ । यसैमा मलाई गर्व र खुसी लाग्छ ।’
विभिन्न गुट उपगुट र आफै आफै लडेर काँग्रेस कमजोर भएको बताउँदै सवैले आपसी मनमुटाव र ब्यक्तिगत स्वार्थ त्यागेर एकजुट भै लागेमा काँग्रेसको भविश्य एकदमै सुन्दर रहेको नेता शाहको भनाई छ । उनले काँग्रेस विधानमा महाधिवेशन प्रतिनिधी छनौटमा समेत कर्णाली प्रदेश ठगिएको बताएका छन् । धेरै निर्वाचन क्षेत्र हुने जिल्लाबाट धेरै प्रतिनिधि जान पाउने ब्यवस्था छ । सिंगो कर्णाली प्रदेशबाट जाने महाधिवेशन प्रतिनिधी जति पुर्वका एउटै जिल्लाबाट जान्छन् । अनि हामी कसरी प्रतिस्पर्धा गर्न सक्छौ उनले भने ‘यो कुरालाई म महाधिवेशनमा पनि उठाउँछु । दुर्गमबाट पनि केन्द्रिय समितिमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । आगामी महाधिवेशनमा संगठनलाई चुस्त बनाउन सक्ने नेतृत्व छनौट गर्नुपर्छ । गुटको अन्त्य हुनु पर्छ ।’

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका शाहले जाजरकोटलाई कर्मथलो बनाएर राजनितिमा सक्रिय भएका छन् । जाजरकोटका साथै शाह विस्तारै कर्णालीका अन्य जिल्लाको विकास र जनताको दुःखमा साथ दिन थालेका छन् । गत बर्ष मात्र नेता शाहले कोरोना महामारी नियन्त्रणमा सघाउन कर्णालीका १० जिल्ला र सुर्खेत स्थित क्षेत्रिय अस्पताललाई एक करोड मुल्यका स्वास्थ्य सामग्री सहयोग गरेका थिए । उनको समाजसेवा र निश्वार्थ राजनितिलाई धेरैले उच्च प्रसंसा सहित सम्मान गर्ने गरेका छन् । नेता शाह देउवा निकट मानिने गरेको भएपनि देउवा इतरका धेरै नेताहरु सँग पनि उनको उत्तिकै सम्बन्ध रहेको बताइन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad